काठमाडौं । कोरोना भाइरसको महामारीले टाट जस्तै पल्टिसकेका निम्न वर्गीय परिवार महङ्गीको मारले पिरोलिएका छन् ।
काठमाडौं उपत्यकालगायत शहरी भेगमा ज्यालादारी गरेर गुजारा चलाउनेहरु सबैभन्दा मारमा परेका छन् । बजारमा खाद्यान्न देखि तरकारीको भाउ चुलिएको छ ।
कालिमाटी तरकारी बजारमा रातो आलको मूल्य प्रतिकेजी ९० रुपैयाँ छ । उपभोक्ताले एक धानी आलुको तीन सय तिर्नुपर्ने अवस्था छ । प्याज प्रतिकेजी एक सय पाँच कालिमाटीको भाउ छ । खुद्रा मूल्य एक सय २० रुपैयाँ छ ।
गेडागुडीको मूल्य आकाशिएको छ । चीयापत्ती प्रतिकेजी एक सय रुपैयाँ भन्दा बढी मूल्य बढेको छ । उपभोक्ताले दैनिक प्रयोग गर्ने समानको मूल्य आकाशिएपछि नयाँ संकटको खतरा बढेको छ ।
यद्यपि सरकारले सामानको मूल्य वृद्धि नभएको दाबी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले मूल्य वृद्धि नभएको दाबी गरेका हुन् । सरकारको नियमनकारी निकाय कमजोर हुँदा कालोबजारी सक्रिय भएका छन् ।
वि.सं.२०७७ असोज २५ आइतवार १०:०५ मा प्रकाशित