back
Mega Long Ad

ट्याक्स हेभन मुलुकमा डलरवाला नेपाली अर्बपति विनोद चौधरी, श्रीमती र तीन छोराको लगानी

नबिल बैंकमा सिनोभेसनको शंकास्पद लगानी

काठमाडौं । अमेरिकी व्यापारिक पत्रिका फोब्र्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ ।

कृष्ण आचार्य र रामु सापकोटा : खोज पत्रकारिता केन्द्र

नेपाली ‘कानूनका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने अर्बपति विनोद चौधरीसहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुकमा लगानी गरेको तथ्य फेला परेको छ ।

अमेरिकाको वासिङ्टन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरण अनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा ३, सिंगापुरमा १ र पनामामा १ कम्पनी दर्ता छ ।

११७ देशका ६०० भन्दा बढी पत्रकार सहभागी भई १७ असोज, आइतबार राति सार्वजनिक ‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा सिनोभेसन इन्कर्पोरेटेड, सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामक कम्पनी चौधरी परिवारका सदस्यहरूका नाममा दर्ता छन् ।

चौधरीले आफ्नो पुस्तक तथा विभिन्न अन्तर्वार्तामा विदेशमा कानूनसम्मत लगानी गरेको र त्यसको वैधतामा प्रश्न उठाउने ठाउँ नरहेको बताउने गरे पनि उनले कर छल्ने उद्देश्यले खोलिएका ती कम्पनीहरुमा नेपालको कानून विरुद्ध हुने गरी लगानी गरेको ‘प्यान्डोरा पेपर्स’ लिक्सले देखाउँछ ।

अर्कोतर्फ चौधरीका विदेशी साझेदार तथा नेपालमा विदेशी लगानी भित्र्याउने अब्दुल अवाल मिन्टु बाङ्लादेशमा मुद्रा निर्मलिकरण (मनी लाउण्डरिङ)को आशंकामा अनुसन्धानमा तानिएको समेत विवरणहरूले देखाउँछन् । ‘प्यान्डोरा पेपर्स’ लिक्सका अनुसार, चौधरीले प्रयोग गरेको नेपालको कानूनी छिद्र, त्यसको वैधतामाथिको प्रश्न र उनका साझेदार व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणको आशंकाको विषयमा स्पष्ट हुन उनकै आत्मकथामा उल्लेख सूचना केलाउनुपर्ने हुन्छ ।

“मेरा लागि सबैभन्दा ठूलो चुनौती थियो कानूनले छोडेका छिद्रहरू पहिल्याउने र यस्तरी पाइला सार्ने । ताकि मेरो विदेशी लगानीमाथि कसैले कानूनी प्रश्न उठाउन नसकोस्”, सन् २०१३ मा प्रकाशित ‘विनोद चौधरी ः आत्मकथा’ शीर्षकको पुस्तकमा चौधरीले भनेका छन् । त्यसका लागि आयकर ऐनको ‘वासिन्दा व्यक्ति’ सम्बन्धी प्रावधानलाई उनले ‘छिद्र’ को रूपमा व्याख्या गरेका छन् ।

“वर्षको १८३ दिनभन्दा बढी विदेश बस्ने नेपाली नागरिक गैरआवासीय नेपालीको रूपमा दरिन्थ्यो । उसले विदेशमा लगानी गर्न छूट पाउँथ्यो” चौधरीले आत्मकथामा भनेका छन्, “मैले यसैको फाइदा उठाउँदै वर्षको १८३ दिनभन्दा बढी विदेश बसेर आफ्नै देशको अस्थायी नागरिक बन्ने निर्णय गरें । आज मेरा दुई जना छोरा राहुल र बरुणले गैरआवासीय नेपालीको हैसियतमा विदेशको कारोबार गरिरहेका छन् ।”

तर, प्यान्डोरा लिक्स अनुसार, उनकी श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाण (दुवै नेपाली नागरिक हुन्) को नाममा समेत ब्रिटिश भर्जिन आइल्याण्डमा लगानी भेटिएको छ । अर्थात् ब्रिटिश भर्जिन आइल्याण्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनी सहित परिवारका पाँच जना सदस्यको लगानी छ । सिंगापुरको सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी भेटिएको छ । अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी छ । ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘वासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी आयकर ऐनले व्यवस्था गरेको छ ।

“यो व्यवस्थालाई उहाँले गलत रूपमा प्रयोग गर्नुभएको छ” पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन्, “यो व्यवस्थाले नेपालबाट विदेशमा पैसा लैजाने र त्यहाँ लगानी गर्नका लागि छूट दिएको हैन । कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले आम्दानी गर्छ भने उसले मात्रै विदेशमै लगानी गर्न पाउँछ ।” तर चौधरीले नेपालबाटै विदेशमा पैसा लगानी गरेको हुुँदा उनको दाबी ‘तर्कसंगतरयुक्तिसंगत’ नभएको खनालको प्रतिक्रिया छ ।

नबिल बैंकको विदेशी लगानीकर्ताले पाउने लाभांश रकम विदेश लगिएको छ” खनालले भने, “तर त्यो कम्पनीको मालिक त उहाँ नै हुनुहुँदोरहेछ । त्यही रकमबाट उहाँले विदेशमा लगानी गर्नुभएको हुनसक्छ । नेपालबाट लगिएको रकमलाई उहाँले विदेशमा बस्ने छोराहरूले कमाएको हो भनेर पुष्टि गर्न खोज्नुभएको छ । जुन गलत हो ।” यस आधारमा पनि चौधरी परिवारले विदेशमा गरेको लगानीको वैधतामाथि प्रश्न खडा गरेको छ ।

अर्कोतर्फ दुई छोरा (जो गैरआवासीय हैसियतमा छन्) बाहेक विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमतीको नाममा विदेशमा भएको लगानी गैरकानूनी हो । किनभने ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ ले नेपाल राष्ट्र बैंकको अनुमति बेगर विदेशमा लगानी गर्न पाइँदैन ।

‘प्यान्डोरा पेपर्स’ ले खुलासा गरेका केही कम्पनीमा लगानी गर्ने गरी राष्ट्र बैंकबाट विनोद, उनका जेठा छोरा निर्वाण र सारिकाले अनुमति नलिएको राष्ट्र बैंक स्रोत बताउँछ । “विदेशीले ब्रिटिश भर्जिन आइल्याण्डस्थित सिनोभेसन कम्पनीमा ५० हजार थान कित्ता शेयर गिफ्ट दिएको हुनाले त्यसमा आफ्नो नाम रहने गरी विनोदले अनुमति लिएका छन्” राष्ट्र बैंक स्रोत भन्छ, “यस बाहेक अन्य कुनै पनि कम्पनीमा लगानी गर्न विनोद, निर्वाण र सारिकाले अनुमति लिएको विवरण हामीले फेला पारेनौं ।”

हाम्रो खोजमा पनि सिनोभेसनका लागि अनुमति लिएको बाहेक अरू कुनै पनि विदेशी कम्पनीमा लगानी गर्न विनोदले राष्ट्र बैंकबाट अनुमति लिएको तथ्य सार्वजनिक अभिलेखमा फेला परेन ।

विनोदले सिनोभेसनमा गिफ्टेड शेयर भने पनि त्यसमै परिवारका अन्य सदस्यको पनि लगानी रहेको र त्यही कम्पनी मार्फत विभिन्न तहगत कम्पनी खडा गरी उनले आफ्नो अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार गरेको प्यान्डोरा पेपर्सको विवरणले देखाउँछ ।

यही सिनोभेसनको अन्तिम लगानीकर्ताको प्रमाण खोज्दै राष्ट्र बैंकले नेपालस्थित नबिल बैंकको २०७६-७७ देखि उनले पाउनुपर्ने लाभांश समेत रोकिदिएको छ । “विदेशी लगानी भनिए पनि सिनोभेसनको अन्तिम लगानीकर्ता चौधरी परिवार नै हुनसक्ने आशंकामा करीब डेढ वर्षअघि राष्ट्र बैंक सञ्चालक समितिले नै निर्णय गरेर लाभांश वितरण रोकिएको हो” राष्ट्र बैंक स्रोत भन्छ, “सिनोभेसनको अन्तिम लगानीकर्ताको विवरण उनीहरूले ल्याउन सकेका छैनन् । नल्याएसम्म लाभांश वितरण रोकिइरहनेछ ।”

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले विनोद चौधरीलाई राष्ट्र बैंकले विदेशमा लगानी गर्न अनुमति नदिएको बताउँछन् । “राष्ट्र बैंकले आजका दिनसम्म नेपाली नागरिकलाई देशको पुँजी विदेश लैजाने अनुमति दिएको छैन । त्यसरी कुनै पनि नागरिकले नेपालको पुँजी विदेश लैजान सक्दैन,” उनले भने ।

नबिल बैंकमा विदेशी कम्पनी सिनोभेसनको लगानी र उक्त लगानीको लाभांश विदेश लैजान राष्ट्र ब्यांकले रोकेको भन्ने विषयमा अहिले ठ्याक्कै केही भन्न नसक्ने भन्दै उनले थपे, “विदेशमा लाभांश लैजान खोजेको कम्पनीको सम्पत्ति शुद्धीकरणको विषयलाई लिएर निगरानीमा परेको भएर लाभांश रोकेको हुनसक्छ । तर वास्तविकता के हो भन्ने सम्बन्धित विभागमा बुझेर मात्र भन्न सक्छु ।”

नेपालको कानूनी दृष्टिकोणले मात्रै हैन विश्वव्यापी परिपे्रक्ष्यमै चौधरीको यो काम शंकास्पद हो । सम्पत्तिको स्रोत देखाउनु नपर्ने, कम्पनी खडा गर्न सजिलो मानिने, कर छल्न अनुकूल मानिने ‘ट्याक्स हेभन’ मुलुकमा चौधरीले गरेको जस्तै अफसोर लगानीमाथि विश्वव्यापी रूपमै प्रश्न उठ्दै आएको छ । किनभने, ‘यसले छायाँ अर्थव्यवस्थालाई देखाउँछ ।

त्यो (अफशोर) एक छायाँ संसार (स्याडो वल्र्ड) हो । यो एउटा त्यस्तो संसार हो जसले पहिलेदेखि नै धनीहरूलाई समृद्ध बनाइरहेको छ,’ अष्ट्रेलियाको एबीसी टेलिभिजनका पत्रकार एलिस वर्थिङटनसँगको अन्तर्वार्तामा आईसीआईजेका निर्देशक जेरार्ड रायलले भनेका छन्, ‘सेल कम्पनीहरू अफशोर संसारमा अन्तर्राष्ट्रिय रूपमा मनी लाउण्ड्रिङ (मुद्रा निर्मलीकरण) गर्ने जस्ता अपराधका अनिवार्य साधनहरू हुन् । अफशोर संसार अपराधीहरूका लागि शक्ति हो । किनभने उनीहरूलाई दुई वा दुईभन्दा बढी फरक तहहरूमा अफशोर सेल कम्पनी मार्फत एउटा अपराध लुकाउन सकिन्छ भन्ने कुरा थाहा छ ।’

पछिल्लो एक दशक यता ट्याक्स हेभन मुलुकको लगानीलाई विश्वव्यापी रूपमा शंकास्पद मान्न थालिएको छ । चौधरीको विश्वव्यापी व्यापारको बीजारोपण पनि त्यस्तै मुलुकहरूबाट शुरू भएको प्राप्त विवरणहरूले देखाउँछन् । तर चौधरीले अफशोर कारोबारलाई समेत आफ्नो मात्रै नभएर मुलुककै लागि गौरवको रूपमा अथ्र्याउँदै आएका छन् ।

‘नेपालमा कोडाकदेखि डाबरसम्मले उत्पादन गर्न सक्छन् भने हामीले पनि बाहिर गर्न सक्नुपर्दछ । नेपालको पनि एउटा बहुराष्ट्रिय कम्पनी बन्नुपर्दछ । त्यो नेपाल र नेपालीको स्वाभिमानको प्रतीक बन्न सक्नुपर्दछ । यसमा लघुताभास राख्न आवश्यक छैन भन्ने मानसिकताको जन्म हो।’ ३ फेबु्रअरी, २०२० नेपाली टेलिभिजन च्यानल एपिवानसँगको अन्तर्वार्तामा चौधरीले भनेका छन् ।

यही अन्तर्वार्तामा खुलाइए अनुसार चौधरी परिवारको ३ फेब्रुअरी २०२० सम्ममा ५० देशमा १२२ कम्पनीहरूमा लगानी छ । नेपालमा चौधरी ग्रुप र सीजी कर्प ग्लोबल नामबाट स्थापना गरिएका उनका विश्वभर विभिन्न ७६ वटा ब्राण्ड छन् । उनको विदेशस्थित पूँजी परिचालनको विषयमा सञ्चारमाध्यम तथा आम नागरिक तहमा प्रश्न उठे पनि राज्यका निकायहरू भने मौन देखिन्छन् ।

विगतमा पञ्चायत तथा राजदरबार निकटस्थ मानिने चौधरी गणतन्त्रकालमा पनि दुई प्रभावशाली पार्टीबाट सांसद भइसके । २०६४ सालको संविधानसभा निर्वाचनमा चौधरीलाई नेकपा एमालेले समानुपातिक तर्फबाट सांसद बनाएको थियो ।

पछि, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनको सँघारमै नेपाली कांग्रेसमा प्रवेश गरेका चौधरी अहिले सोही पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य छन् । उनी कांग्रेसको ‘लगानी पूर्वाधार रोजगारी विशेष उपसमिति’को संयोजक समेत हुन् । कांग्रेसले चौधरीको नेतृत्वमा ‘गरिखाने अभियान’ समेत शुरू गरेको छ ।

ट्याक्स हेभनमा यसरी जन्मियो सिनोभेसन

आईसीआईजेबाट प्राप्त कागजात अनुसार ब्रिटिश भर्जिन आइल्याण्डको सिनोभेसन इन्कर्पोरेटेडमा शुरूमा विनोद चौधरीकी श्रीमती सारिकाको नाममा लगानी भएको हो । ब्रिटिश भर्जिन आइल्याण्डको ट्राइडेन्ट ट्रष्ट नामक ल फर्मले दर्ता गरिदिएको यो कम्पनीमा २२ फेब्रुअरी २००१ मा एक अमेरिकी डलर दरको एक कित्ता शेयर लगानी गरेर सारिका शेयर सदस्यका रूपमा भित्रिएकी हुन् ।

त्यसपछि ३ सेप्टेम्बर २००१ मा यो कम्पनीमा निर्देशकका रूपमा चौधरीका जेठा छोरा निर्वाणकुमार चौधरी (नेपाली नागरिक) देखिए । आफ्नो नामको शेयर जापान बस्ने पाकिस्तानी नागरिक युसुफ मोहम्मदका नाममा हस्तान्तरण गर्दै सारिका भने २७ मे २००२ मा निर्देशकको पदबाट राजीनामा दिएर बाहिरिइन् ।

आमा बाहिरिएकै दिन अर्थात् २७ मे २००२ मै चौधरीका माहिला छोरा राहुल निर्देशकको रूपमा भित्रिए । रोचक त के छ भने दाजु–भाइले समेत एक–अर्कामा शेयर हस्तान्तरण गरेका छन् । राहुलका नाममा सिनोभेसनको ३ जून २००२ मा २४ हजार ९९८ कित्ता र त्यति नै अमेरिकी डलर मूल्य बराबरको शेयर जारी भएको थियो । राहुलले शेयर खरीद गरेको दिन अर्थात् ३ जून २००२ मै विनोदका जेठा छोरा निर्वाणले सिनोभेसनको २४ हजार ९९९ अमेरिकी डलर मूल्य बराबरको त्यति नै संख्याको शेयर खरिद गरेको आईसीआईजेका कागजातहरूले देखाएको छ ।

विवरण अनुसार, यसको करीब डेढ वर्षपछि ५ जनवरी २००४ मा निर्वाणले २४ हजार ९९९ मूल्य बराबरको सोही परिमाणको शेयर राहुललाई नामसारी गरिदिए । यसपछि २७ जुलाई २००६ मा राहुलका नाममा सिनोभेसनबाट थप एक अमेरिकी डलर बराबरको एक कित्ता शेयर जारी भएको थियो ।

कागजात अनुसार विनोद भने सन् २००६ मा मात्रै सिनोभेसनमा प्रवेश गरेको देखिन्छ । अर्थात् २८ जुलाई २००६ मा आएर उनले सिनोभेसन इन्कर्पोरेटेड कम्पनीमा एक अमेरिकी डलरका दरले ५० हजार कित्ता शेयर किनेको देखिन्छ । जुन दिन अर्थात् २८ जुलाई २००६ मा विनोदको प्रवेशसँगै जेठा छोरा निर्वाण चाहिं कम्पनीको निर्देशक पदबाट बाहिरिए । पछि, ३ जनवरी २०१२ मा विनोदले पनि निर्देशक पदबाट राजीनामा दिए । र, त्यही दिन ३ जनवरी २०१२ मै उनका कान्छा छोरा बरुण कम्पनी निर्देशकमा नियुक्त भए ।

अर्को रोचक त के छ भने सो कम्पनीमा निर्देशकको रूपमा प्रवेश गर्दा चौधरी परिवारका पाँचै जनाको वैधानिक पहिचान नेपाली नागरिककै रहेको हुन्छ । त्यसका लागि सबैले आफ्नो परिचयपत्रका रूपमा नेपालबाट जारी पासपोर्ट प्रयोग गरेका छन् । राहुल यो कम्पनीमा निरन्तर लगानीकर्ता र निर्देशकको रूपमा देखिएका छन् ।

यस्तै, बरुण पनि यो कम्पनीमा सन् २०१२ यता निरन्तर निर्देशकको रूपमा रहेको कागजातहरूले देखाएको छ । कम्पनीमा राहुललाई २४ अगष्ट २००९ देखि अमेरिकाका नागरिक अब्दुल अवाल मिन्टु र सिंगापुरका नागरिक कमलकिशोर ९शर्मा०को वैकल्पिक निर्देशकका रूपमा काम गर्न तोकिएको देखिन्छ । सिनोभेसनले निजी धन सम्पत्तिको व्यवस्थापन गर्ने, विदेशी मुद्राको कारोबार गर्ने र आफ्ना ग्राहकको सम्पत्ति व्यवस्थापनका लागि बैंकसँग सम्पर्क गराइदिने काम गर्छ । कम्पनीले सञ्चारको कामका लागि नवीन जैनलाई जिम्मा दिएको देखिन्छ ।

सिनोभेसनको अन्य निर्देशकहरूमा भारतीय नागरिक चन्द्रशेखर जलान, सिंगापुरका नागरिक कमलकिशोर, बाङ्लादेशी मूलका अमेरिकी नागरिक अब्दुल अवाल मिन्टु (को हुन मिन्टु ? हे.बक्स) र देश नखुलेका तर श्रीलंकामा बस्दै आएका तिलक डे जोयजा छन् । यस्तै, सिनोभेसनको निर्देशक कम्पनीमा हङकङस्थित क्याप्सेट लिमिटेड छ ।

यीमध्ये कमलकिशोरको सिनोभेसनमा शेयर लगानी छ । विनोदले आत्मकथामा लेखे अनुसार कमलकिशोरले नै उनलाई सिंगापुरमा लगानी गर्न सहयोग गरेका हुन् । जो सारिकाका आफन्त हुन् । ‘प्यान्डोरा लिक्स’का अनुसार, चौधरी परिवारका सदस्यहरूको नाममा सिनोभेसन ब्रिटिश भर्जिन आइल्याण्डको कम्पनी देखिए पनि विनोदले आफ्नो आत्मकथामा भने उक्त नामको कम्पनी सिंगापुरमा स्थापना गरेको बताएका छन् ।

मध्य अमेरिकी मुलुक पनामाको सिभिजन होल्डिङ्स एस।ए।नामक कम्पनी पनि सिनोभेसनको साधारण सदस्य रहेको पाइएको छ । यो कम्पनीले १४ मार्च २००३ मा सिनोभेसनको प्रति कित्ता एक डलरका दरले एक करोड ८० लाख ८५ कित्ता शेयर खरीद गरेर लगानीकर्ताको रूपमा भित्रिएको हो ।

पछि, २७ जुलाई २००६ मा यो कम्पनीले पुनः सिनोभेसनको एक लाख ४९ हजार ९९७ कित्ता र २५ अगष्ट २०११ मा ९८ लाख कित्ता शेयर खरीद गरेको भेटिएको छ । यसरी सिभिजन ‘होल्डिङ्स एस।ए’ ले १४ मार्च २००३ देखि २५ अगष्ट २०११ सम्मको अवधिमा कुल २ करोड ८० लाख ३४ हजार ९९७ अमेरिकी डलर बराबरको सिनोभेसनको शेयर खरीद गर्‍यो । तर, यसैबीच सिभिजनले २७ जुलाई २००७ मा सिनोभेसनमा भएको आफ्नो एक करोड ८० लाख ८५ संख्याको शेयर त्यति नै मूल्य (अमेरिकी डलर) मा बिक्री गर्‍यो । यसपछि सिभिजनको सिनोभेसनमा जम्मा एक अमेरिकी डलरका दरले ९९ लाख ४९ हजार ९९७ संख्यामा साधारण शेयर लगानी रहेको कागजातहरूले देखाएको छ ।

सिनोभेसनमा विनोद चौधरीको साझेदार बनेर निर्देशकको पदमा रहेका श्रीलंकाका नागरिक तिलक डे ९देशबंधु० जोयसा सीजी कर्प ग्लोबल श्रीलंकाका अध्यक्ष रहेको भेटिएको छ । ‘एलएमडी द भ्वाइस अफ बिजनेस’ नामक अनलाइनमा प्रकाशित तिलकको व्यक्तिगत विवरण अनुसार विनोदसँगको साझेदारीमा उनले टापू क्षेत्रमा विलासी हस्पिटालिटी सम्बन्धी व्यवसायका लागि सीजी कर्प ग्लोबल श्रीलंका स्थापना गरेका हुन् ।

सिंगापुरको कम्पनीको नाम परिवर्तन गरी सिनोभेसन

‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिश भर्जिन आइल्याण्डको सिनोभेसन नामक कम्पनी पहिले चौधरी ओभरसिज पिटिई लिमिटेडका रूपमा थियो । २६ अप्रिल २००२ को एउटा निर्णय अनुसार चौधरी ओभरसिजको नाम परिवर्तन गरेर सिनोभेसन इन्कर्पोरेटेड बनाइयो ९हे।पत्र० । एजेन्ट कम्पनी अफशोर इन्कर्पोरेसन लिमिटेडको १० अक्टोबर २००२ को रेकर्ड अनुसार सिनोभेसन इन्कर्पोरेटेडको अधिकृत पूँजी दुई करोड अमेरिकी डलर थियो ।

यस्तै चौधरी ओभरसिज भन्दा अघि यो कम्पनी इनह्यान्स्ड परफर्मेन्स लिमिटेड नाममा दर्ता भएको पाइएको छ । १२ अप्रिल २००० मा मात्र इनह्यान्स्ड परफर्मेन्सको नाम परिवर्तन गरी चौधरी ओभरसिज पिटिई लिमिटेड बनाइएको थियो ।

नबिल बैंकमा छ, सिनोभेसनको शंकास्पद लगानी

नेपाल राष्ट्र बैंक स्रोतबाट प्राप्त सूचना अनुसार नेपालस्थित नबिल बैंक लिमिटेडको विदेशी लगानीकर्ताको रूपमा प्यान्डोरा पेपर्सले खुलासा गरेको ब्रिटिश भर्जिन आइल्याण्डको सिनोभेसन कम्पनी समेत छ । त्यसका लागि चौधरीले विभिन्न तहगत कम्पनी खडा गरी सिनोभेसनको लगानी नबिलमा भित्र्याएका हुन् ।

नबिलमा ५० प्रतिशत शेयर आयरल्याण्डमा दर्ता भएको एनबी (इन्टरनेशनल) लिमिटेडको नाममा छ । चौधरी ग्रुपको वेबसाइट अनुसार एनबी (इन्टरनेशनल) लिमिटेड, पनामामा दर्ता रहेको साउथ एशिया फाइनान्सियल सर्भिस कर्पोरेशनको सहायक कम्पनी हो । जुन कम्पनीमा ५१ प्रतिशत शेयर बंगलादेशी मूलका अमेरिकी नागरिक अब्दुल अवाल मिन्टु र बाँकी ४९ प्रतिशत शेयरमा ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता भएको सिनोभेसन इन्कर्पोरेटेडको लगानी छ ।

राष्ट्र बैंकको विवरण अनुसार ब्रिटिश भर्जिन आइल्याण्डको सिनोभेसन कम्पनी चौधरी परिवारका विनोद, राहुल र बरुणको लगानीमा स्थापित कम्पनी हो । जसमा विनोदको ०.५ प्रतिशत, बरुणको ४९.७५ प्रतिशत र राहुलको ४९.७५ प्रतिशत शेयर रहेको राष्ट्र बैंक स्रोतले उपलब्ध गराएको विवरणमा उल्लेख छ । “अरू कसैले गिफ्ट शेयर दिएको र त्यहाँ लगानी गर्न विनोदले राष्ट्र बैंकसँग अनुमति लिएका हुन्” राष्ट्र बैंक स्रोत भन्छ ।

चौधरीले पनि उक्त शेयरलाई ‘गिफ्टेड’ भन्दै आइरहेका छन् । तर उक्त कम्पनी विनोद र उनका परिवारले नै ब्रिटिश भर्जिन आइल्याण्डमा खडा गरेको प्रमाणहरूले देखाउँछ । जसको चर्चा माथि गरिसकियो । अर्कोतर्फ सिनोभेसनमा लगानी गरेको भेटिएका विनोदकी श्रीमती सारिका र जेठा छोरा निर्वाणको हैसियत कहिल्यै पनि गैरआवासीय नेपाली नागरिक रहेन । यसबाट पनि उनीहरूले नेपालको कानून उल्लंघन गरेको देखाउँछ ।

लाभांश उतै लगेपछि राष्ट्र बैंकको कडाइ

अर्बपति विनोद चौधरीको सिनोभेसन नामक कम्पनीमा ०.५ प्रतिशत शेयर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । विनोदको योे शेयरबाट प्राप्त आम्दानी अनिवार्य रूपमा नेपाल भित्र्याउनुपर्ने दायित्व हुन्छ । तर विनोदले त्यो शेयर बराबरको लाभांश रकम विदेश नै लगेका थिए । “उनी नेपाली नागरिक भएपछि उनले त्यो लाभांश नेपाल नै राख्नुपर्ने थियो” पूर्व अर्थ सचिव खनाल भन्छन्, “त्यो रकममा यहीं कर लाग्छ । उनले उता लगेर पूँजी पलायन गर्न खोजेको देखिन्छ । जसमा राष्ट्र बैंकले रोकिदियो ।”

पटक–पटक लाभांश रकम विदेश लगेपछि त्यो पैसा किन लगेको भनेर राष्ट्र बैंकले चौधरीलाई प्रश्न गरेको थियो । त्यसपछि उनले (२ हजार अमेरिकी डलर ९हालको विनिमय दर अनुसार १ करोड ७ लाख ६४ हजार नेपाली रुपैयाँ) रकम नेपाल फिर्ता ल्याए । उक्त रकम नेपाल फिर्ता ल्याएपनि सिनोभेसनका अन्तिम लगानीकर्ता को को हुन् भनी विवरण माग गर्दै राष्ट्र बैंकले नबिल बैंकको लाभांश वितरण रोकिदिएको छ । त्यसका पछाडि नबिलमा सिनोभेसन र सिनोभेसनमा चौधरी परिवारको शेयर लगानी सम्बन्धी मुख्य विवादको विषय हो ।

सिनोभेसनमा चौधरी परिवारकै मुख्य लगानी रहेको प्यान्डोरा पेपर्सले छर्लङ्ग पारेको छ । विनोदले आफ्ना परिवारका सदस्य र आफू निकट केही विदेशी व्यक्तिलाई प्रयोग गरेर सिनोभेसन कम्पनी खोलेको स्पष्ट हुन्छ । जस्तै, सिनोभेसनमा दुई विदेशी नागरिक मिन्टु र कमल किशोर (लगानीकर्ता पनि) कम्पनीको निर्देशक भएको अवस्थामा उनीहरू दुवै जनाको वैकल्पिक निर्देशकको जिम्मा विनोदका छोरा राहुललाई दिइनुले चौधरी परिवारले विदेशी व्यक्ति देखाएर कम्पनी चाहिं आफूहरूकै पकडमा राखेको देखिन्छ । सिनोभेसन पहिले चौधरी ओभरसिजका नाममा सञ्चालन हुनुले उक्त कुरालाई थप पुष्टि गरेको छ ।

मिन्टुको पनि सिनोभेसनमा लगानी

आईसीआईजेको प्यान्डोरा पेपर्स अनुसार पनामामा दर्ता रहेको साउथ एशिया फाइनान्सियल सर्भिस कर्पोरेसनमा ५१ प्रतिशत शेयर लगानी गर्ने अब्दुल अवाल मिन्टोको सिनोभेसनमा पनि संलग्नता छ । आईसीआईजेबाट प्राप्त कागजातहरूले उनी बंगलादेशी मूलको अमेरिकी नागरिक भएको र सोही हैसियतमा उनी सन् २००३ देखि सिनोभेसनको निर्देशकका रूपमा रहेको देखिन्छ । तत्कालीन समयमा उनको ‘आवासीय ठेगाना’ भने बंगलादेशको ढाका रहेको आईसीआईजेको विवरणबाट खुलेको छ ।

नबिल बैंकदेखि चौधरी परिवारको विदेशी लगानीमा जोडिने अब्दुल अवाल मिन्टु एक शंकास्पद व्यक्तिको रूपमा देखा परेका छन् । बाङ्लादेशको ‘द फाइनान्सियल एक्सप्रेस’ नामक अनलाइन पोर्टलमा ५ नोभेम्बर २०१८ मा प्रकाशित समाचार अनुसार, बंगलादेशको भ्रष्टाचार सम्बन्धी अनुसन्धान आयोग (एसीसी)ले नबिलका मुख्य लगानीकर्ता तथा एनबी इन्टरनेशनलका अब्दुल अवाल मिन्टुमाथि अनुसन्धान गरेको थियो । उनिमाथी ‘मनी लाउण्ड्रिङ’ गरेर देशबाहिर रकम लगेको आरोप लगाइएको थियो । आयोगले मिन्टुमाथि नक्कली कागजातका आधारमा बैंकहरूसँग मिलेर शंकास्पद रूपमा रकम कारोबार गर्ने, अज्ञात स्रोतबाट धन आर्जन गर्ने र देशबाहिर रकम तस्करी गर्ने जस्ता आरोप लगाएको थियो ।

मिन्टु, फेडरेसन अफ बाङ्लादेश च्याम्बर्स अफ कमर्स एण्ड इण्डष्ट्रिजका पूर्व अध्यक्ष हुन् । उक्त समाचार अनुसार उनी सन् १९९० को दशकतिर बाङ्लादेशका हालका प्रधानमन्त्री शेख हसिनासँग निकट भनेर चिनिन्थे । तर पछि उनले खालिदा जिया नेतृत्वको बाङ्लादेश नेशनल पार्र्टी (वीएनपी)सँग निकटता बढाउँदै गए । त्यसै क्रममा मिन्टु वीएनपीका उपाध्यक्ष समेत बने ।

२८ फेब्रुअरी २०२१ मा ढाका ट्रिब्यूनमा प्रकाशित समाचार अनुसार बाङ्लादेशको उच्च अदालतले विदेशमा पैसा तस्करी गर्ने मनी लाउन्डरहरूको सूची माग गरेको थियो । अदालतले सम्बन्धित अधिकारीहरूलाई देशबाट मनी लाउन्डरिङ गरेर लगिएको पैसा फिर्ता ल्याउन चालेका कदमहरूको बारेमा सूचित गर्न पनि भनेको थियो ।

उक्त समाचार अनुसार उच्च अदालतका दुई न्यायाधीशले प्याराडाइज र पनामा पेपर्समा नाम भएका बाङ्लादेशीहरू विरुद्ध अनुसन्धान किन नगर्ने भन्दै स्पष्टीकरण माग गरेका थिए । त्यसपछि आयोगका तर्फबाट वकिल खुर्सिद आलमले पनामा र प्याराडाइज पेपर्समा नाम सार्वजनिक भएका मिन्टुसहितका व्यक्तिहरुका बारेमा अनुसन्धान गरिरहेको जानकारी गराएका थिए ।

मिन्टुको नाम आईसीआईजेले सन् २०१७ मा प्याराडाइज पेपरमा सार्वजनिक गरेको थियो । उनीसँगै उनकी श्रीमती र तीन जना छोराको नाम समेत प्याराडाइज पेपरमा आएको थियो । मिन्टु र उनका परिवारका सदस्यहरू ट्याक्स हेभन मुलुक बर्मुडाको एक ग्यास कम्पनी एनएफएम इनर्जी लिमिटेडसँग जोडिएको विवरण त्यतिबेला सार्वजनिक भएको थियो । उक्त लिक अनुसार मिन्टु एनएफएमका लगानीकर्ता र कम्पनीको अध्यक्ष तथा निर्देशक समेत हुन् ।

सिनोभेसनको वेबसाइटमा भएको विवरण अनुसार विनोद चौधरी र मिन्टु चीन, सिंगापुर, थाइल्याण्ड लगायत मुलुकमा सञ्चालित ‘सिनोभेसन ग्रुप’ नामक कम्पनीका संस्थापक तथा बोर्ड सदस्य भएको उल्लेख छ । नेपालको बैंकिङ क्षेत्र सम्बन्धी एक प्रतिवेदनले मिन्टु नबिल ब्यांकका प्रवद्र्धक तथा ग्रुप ए वर्गका शेयर होल्डर भएको समेत देखाएको छ ।

सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबलको लगानी शंकास्पद

चौधरी परिवारकै स्वामित्वमा अर्को एक अफशोर कम्पनी समेत रहेको भेटिएको छ । विनोदका माइला छोरा राहुल चौधरीको सिंगापुरस्थित सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पिटिई एलटीडीमा लगानी रहेको भेटिएको छ । यो कम्पनी सन् २०११ मा दर्ता भएर सञ्चालनमा आएको हो । त्यसअघि जिंक हस्पिटालिटी ग्लोबल पिटिईको नाममा सञ्चालित यो कम्पनीको शेयर पूँजी २६ लाख अमेरिकी डलर छ ।

सिंगापुरको ‘अकाउन्टिङ एण्ड कर्पोरेट रेगुलेटरी अथोरिटी’को अभिलेख अनुसार यो कम्पनीको निर्देशकमा राहुल चौधरी छन् । दुबईको जुमेरा आइल्याण्ड ठेगाना प्रयोग गरेका उनी सन् २०११ देखि कम्पनीमा संलग्न छन् ।

राहुलसँगै यो कम्पनीका अन्य निर्देशकहरूमा विनोदकी श्रीमती सारिकादेवी, जेठा छोरा निर्वाणकुमार चौधरी (दुवै नेपाली नागरिक हुन्) र कान्छा छोरा बरुण चौधरी छन् । सारिका र निर्वाणले उक्त कम्पनीमा लगानी गर्न काठमाडौं तथा बरुणले दुबईको जुमेरा आइल्याण्डको ठेगाना प्रयोग गरेका छन् ।

सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल कम्पनीमा पनामामा दर्ता भएको सीजी कर्प नामको कम्पनीको २६ लाख अमेरिकी डलर लगानी छ । यो कम्पनीमा सारिका सन् २०१३ देखि र बाँकी सबै जना सन् २०११ देखि निर्देशकका रूपमा संलग्न छन् । कम्पनीको सचिवका रूपमा सन् २०१८ देखि सिंगापुरका नागरिक चेङ किमयान संलग्न छन् ।

ओपन कर्पोरेट्सको डाटा अनुसार पनामाको सीजी कर्पमा बरुण, राहुल निर्देशकका रूपमा रहेका छन् भने तिलक डि जोयजा ९जो सीजी कर्प ग्लोबल, श्रीलंकामा साझेदार छन्० लगायत अन्य विदेशी नागरिकको लगानी रहेको छ । यसरी हेर्दा चौधरी समूहको सीजी कर्प नामको कम्पनी पनामामा रहेको देखिनुले उनीहरूको लगानी कर छलीको लागि अति सहज मानिने ब्रिटिश भर्जिन आइल्याण्ड जस्तै अर्को मुलुकमा पनि छ, भन्ने देखिन्छ ।

सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेड

आईसीआईजेलाई प्राप्त ओएमसी ग्रुप ९कम्पनी दर्ता लगायतको काम गरिदिने सेवा प्रदायक कम्पनी० को कागजात अनुसार बरुण र राहुल चौधरीले नेपाली ठेगाना प्रयोग गरेर ब्रिटिश भर्जिन आइल्याण्डमा अर्को कम्पनी खडा गरेको भेटिएको छ । उनीहरूले सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेड कम्पनी खोलेर कारोबार गरेको पाइएको हो । दुवै जना यो कम्पनीको निर्देशक हुन् ।

यो कम्पनीले भारतको हरियाणाबाट पनि सेवा सञ्चालन गरेको खुलेको छ । आईसीआईजेबाट खोपकेलाई प्राप्त ‘बीभीआई फाइनान्सियल सर्भिसेज कमिसन’को कागजात अनुसार, कम्पनीले हरियाणाबाट सेवा दिनका लागि सन् २०१६ मा निर्देशकका रूपमा बरुणलाई नियुक्त गरेको थियो भने राहुलले सन् २००७ मै यस्तो नियुक्ति पाएका थिए । सीजी होटल एण्ड रिसोर्ट सन् २००७ मा ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता भएको कम्पनी हो ।

ओएमसी ग्रुपको रेकर्ड अनुसार २१ जनवरी २०१९ मा सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेडका निर्देशकहरूको बैठक बसेको थियो । उक्त बैठकको अध्यक्षता राहुलले गरेका थिए भने सचिवका रूपमा बरुण थिए । उक्त बैठकको उद्देश्य सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेडको दर्ता कार्यालय र दर्ता एजेन्ट ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रष्ट ९बीभीआई० लिमिटेडमा परिवर्तन गर्ने थियो । बरुण र राहुल दुवै जना यो कम्पनीका लाभार्थी मालिक ९बेनिफिसियल ओनर० हुन् ।

कम्पनीको उद्देश्य अनुसारको उक्त प्रस्ताव बैठकले पारित गर्‍यो । र, कम्पनीको दर्तावाला कार्यालय र एजेन्ट ब्रिटिश भर्जिन आइल्याण्डको ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रष्ट ९बीभीआई० लिमिटेडमा रहने गरी परिमार्जन भयो । बरुण र राहुलले कर तिर्ने आफ्नो ठेगाना संयुक्त अरब इमिरेट्स ९युएई० राखेका छन् ।

सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेडमा पनि सिनोभेसन इन्कर्पोरेटेडको लगानी रहेको भेटिएको छ । २ फेब्रुअरी २००७ मा सिनोभेसनले सीजीको ६७ कित्ता शेयर खरीद गरेर लगानी गर्न भित्रिएको देखिन्छ । यसपछि कम्पनीले सीजीको सन् २००९ मा ३३ कित्ता शेयर खरीद गर्‍यो ।

त्यसपछि यो कम्पनीले सन् २०१५ मा सिंगापुरको सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पिटिई एलटीडीका नाममा शेयर स्थानान्तरण गरेर लगानीकर्ताबाट हटेको देखिन्छ ।

सिंगापुरको यो कम्पनीले २० अगष्ट २०१५ मा सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेडमा एक अमेरिकी डलरका दरले १०० कित्ता शेयर खरीद गरेर लगानीकर्ताको रूपमा प्रवेश गरेको हो । यो कम्पनीले पहिलो चरणमा ६७ र दोस्रो चरणमा ३३ कित्ता शेयर लगानी गरेको देखिन्छ ।

सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेडमा सिंगापुरमा रहेको फ्रेडरिक हेनरी लुइस फ्लेगेट–साइमन नामक कम्पनीले २ फेबु्रअरी २००७ मा १५ कित्ता साधारण शेयर खरीद गरेर लगानीकर्ताको रूपमा प्रवेश गरेको विवरणबाट देखिन्छ । त्यसपछि फ्रेडरिक हेनरी लुइस नामक व्यक्तिले १० जून २००९ मा रिसोर्टको १५ कित्ता शेयर विनोद चौधरीको सिनोभेसन इन्कर्पोरेटेडका नाममा स्थानान्तरण गरेर शेयर सदस्यबाट बाहिरिएको देखिन्छ ।

यो रिसोर्टमा ब्रिटिश भर्जिन आइल्याण्डको प्यासिफिक सेन्चुरी क्यापिटल लिमिटेडले २ फेब्रुअरी २००७ मा १८ कित्ता शेयर खरीद गरेर लगानीकर्ताको रूपमा प्रवेश गरेको देखिन्छ । तर, प्यासिफिक सेन्चुरीले १० जून २००९ मा उक्त १८ कित्ता शेयर सिनोभेसन इन्कर्पोरेटेडमा स्थानान्तरण गरेको आईसीआईजेबाट प्राप्त कागजातहरूले देखाएको छ ।

ब्रिटिश भर्जिनमै– सेन्सेइ क्यापिटल पार्टनर्स इंक

विनोदका छोरा राहुल र बरुणले ब्रिटिश भर्जिन आइल्याण्डमै सेन्सेइ क्यापिटल पार्टनर्स इंक नामक अर्को कम्पनी खोलेको पाइएको छ । उक्त कम्पनीमा राहुल र बरुण सन् २००५ देखि निर्देशकको रूपमा रहेको देखिन्छ ।

प्यान्डोरा पेपर्समा भएका कागजातहरू अनुसार राहुल र बरुण निर्देशक रहेको सेन्सेई क्यापिटल पार्टनर्स इंक नामक कम्पनीमा सिनोभेसन इन्कर्पोरेटेडको एक अमेरिकी डलरका दरले ५० हजार कित्ता साधारण शेयर लगानी रहेको देखिन्छ । बरुण र राहुलले सेन्सेईको निर्देशक बन्नका लागि नेपाली नागरिकको रूपमा नेपाली पासपोर्ट प्रयोग गरेको पाइएको छ ।

सिनोभेसन सेन्सेईको शेयर होल्डर हो । सन् २००५ मा सिनोभेसनले सेन्सेईको शेयर खरीद गरेको देखिन्छ । १० नोभेम्बर २००५ युएईको दुबईस्थित माइक्रोसफ्ट बिल्डिङमा राहुल र बरुणले बैठक गरेर ५० हजार कित्ता सिनोभेसन इन्कर्पोरेटेडका नाममा जारी गर्ने निर्णय गरेको पत्र फेला परेको छ । ब्रिटिश भर्जिन आइल्याडमा दर्ता भएको यो सेन्सेई नामक अफसोर कम्पनी दर्ता लगायतको काम ट्राइडेन्ट ट्रष्ट नामक ल फर्मले गरिदिएको थियो ।

सेन्सेई क्यापिटल पार्टनर्स इंक कम्पनी खोल्दा केही विवरणहरू पेश गरिएको छ । जस अनुसार ९ सेप्टेम्बर २००५ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक काठमाडौंले राहुल चौधरीका नाममा प्रमाणपत्र जारी गरेको भेटिएको छ । उक्त प्रमाणपत्र अनुसार बैंकले राहुल आफ्नो ग्राहक भएको र उनले सेप्टेम्बर १९९० देखि व्यक्तिगत बचत खाता खोलेको र यसबाट बैंकको सन्तोषजनक अनुभव भएको उल्लेख छ । बैंकले राहुल चौधरीको अनुरोधमा उक्त प्रमाणपत्र जारी गरेको तर यसलाई बैंक ग्यारेन्टीका रूपमा बुझ्न नहुने जनाएको छ ।

२० सेप्टेम्बर २००५ मा बैंक अफ काठमाडौंले बरुण चौधरीका नाममा प्रमाणपत्र जारी गर्दै उनको बैंकमा जुलाई सन् २००५ देखि व्यक्तिगत बचत खाता रहेको र उनको गतिविधि सन्तोषजनक रहेको उल्लेख गरेको छ । बैंकले कुनै दायित्व विना उक्त प्रमाणपत्र जारी गरेको उल्लेख गरेको छ ।

चौधरी ग्रुपका सीएफओको प्रयोग

ब्रिटिश भर्जिन आइल्याण्डमा राहुल र बरुणको नाममा सेन्सेइ क्यापिटल पार्टनर्स इंक नामक कम्पनी खोल्न ललितपुरस्थित चौधरी ग्रुपको कार्यालयका चिफ फाइनान्स अफिसर ९सीएफओ० एस चन्द्रशेखरन समेत प्रयोग भएको तथ्य फेला परेको छ । ब्रिटिश भर्जिन आइल्याण्डको ट्राइडेन्ट ट्रष्ट नामक ल फर्म तथा एजेन्ट कम्पनीका कर्मचारीहरूसँग ९ डिसेम्बर २०१४ मा उनले इमेल आदानप्रदान गरेको भेटिएको छ ।

उनले दुबईस्थित अडिटको काम गर्ने पिकेएफ युएई नामक कम्पनीका कर्मचारीलाई ललितपुरको चौधरी ग्रुपको कार्यालयमा कम्पनी दर्ता सम्बन्धी कागजात पठाइदिन आग्रह गर्दै इमेल पठाएका थिए । सेन्सेईले दुबईबाट पनि आफ्नो व्यापार गर्ने गरेको देखिन्छ ।

ट्याक्स हेभन हुँदै फोब्र्सको सूचीमा

आजभन्दा २१ वर्ष अगाडि ट्याक्स हेभन मुलुकहरूमा कम्पनी खडा गर्ने र त्यस मार्फत विभिन्न तहगत कम्पनी खडा गरी विनोद चौधरीले विश्वका धेरै मुलुकमा आफ्नो व्यवसाय विस्तार गरेको कुरा प्राप्त कागजातहरूबाट पुष्टि हुन्छ । विनोदले ट्याक्स हेभन मुलुकमा दर्ता रहेको सिनोभेसन कम्पनी मार्फत धेरै देशमा आफ्नो व्यवसाय विस्तार गरेको पाइएको छ ।

उनले आफ्नो आत्मकथामा उल्लेख गरे अनुसार शुरूमा भारतमा “सिनोभेसन अन्तर्गत सीजी फुड एण्ड इन्डिया प्राइभेट लिमिटेड’ स्थापना गरिएको थियो । ‘फास्ट मुभिङ कन्जुमर गुड्स को बिजनेस हेर्ने यो कम्पनी २०५८ सालमा आसामको गुवाहटीमा दर्ता भयो” उनले आफ्नो आत्मकथामा लेखेका छन्, “वाइवाइ प्लान्टको पहिलो साइट आसाममै छानेका थियांै । हाम्रो खास रोजाइ त सिक्किम नै थियो ।”

तर पछि चौधरीले सिक्किममा पनि प्लान्ट स्थापना गरे । “त्यो बेला सिक्किममा वाइवाइ प्लान्ट शुरू भएको खबरले नेपालमा एक किसिमको तरंग थियो” उनले पुस्तकमा भनेका छन्, “यो संभवतः नेपाली उद्यमीले विदेशी भूमिमा सञ्चालन गरेको यति ठूलो स्तरको पहिलो उद्योग थियो । भारतमा लगानी गरेको भनेपछि नेपालमा अलि बढी नै हल्लीखल्ली हुने भइहाल्यो ।”

विदेशमा लगानी नियन्त्रण गर्न बनेको ऐन जीवित छँदाछँदै चौधरी ग्रुपले कसरी भारतमा कारखाना खोल्न सक्छ भन्ने कुरा उठ्यो । “मैले कानूनी रूपमा कुनै तलबितल हुन दिएको थिइनँ” उनले पुस्तकमा भनेका छन्, “सिक्किम कारखाना चौधरी ग्रुप अन्तर्गत होइन, सीजी फुड्स इण्डिया अन्तर्गत सञ्चालित थियो । र सीजी फुड्स भनेको सिंगापुरमा दर्ता भएको सिनोभेसनकै अर्को कम्पनी हो ।”

विनोदले पटक–पटक सिंगापुरको सिनोभेसनको कुरा उठान गरेका छन्, तर ब्रिटिश भर्जिन आइल्याण्डमा उनको परिवारकै नाममा दर्ता रहेको कम्पनीको विषयमा भने कहीं कतै चर्चा गरेका छैनन् ।

विनोदले आफ्नो आत्मकथामा विदेशी नागरिक महबुब रहमान, अब्दुल अवाल मिन्टु, जल श्राफ, युसुफ मोहम्मद, कमलकिशोर शर्मा लगायत थुप्रै स्थापित उद्यमी र व्यवसायीहरूसँग साझेदार गरेर सिंगापुरमा अन्तर्राष्ट्रिय कारोबारको जग हालेको उल्लेख गरेका छन् ।

“मैले अन्तर्राष्ट्रिय विस्तारका लागि सिंगापुर छान्नुको मुख्य कारण कमलकिशोरसँगको निकट सम्बन्धले नै हो” चौधरीले आत्मकथामा भनेका छन् । उनले अहिले सीजी ग्लोबल कम्पनी मार्फत विभिन्न देशमा लगानी गरिरहेका छन् ।

सीजी ग्रुपको वेबसाइटमा उल्लेख भए अनुसार सीजी ग्लोबल मातहतको सीजी हस्पिटालिटी परियोजना अन्तर्गत विभिन्न ठाउँमा होटल तथा रिसोर्टहरू सञ्चालन गरेको देखिन्छ । सीजी हस्पिटालिटीका लागि चौधरीले सीजी होटल्स एण्ड रिसोर्ट नामक व्यवस्थापनको काम गर्ने कम्पनी खोलेको वेबसाइटमा उल्लेख छ ।

उनले सीजी होटल्स एण्ड रिसोर्ट कम्पनी अन्तर्गत नेपाल सहितका कम्तीमा ६ देशमा १०५ वटा होटल तथा रिसोर्टहरू सञ्चालन गरेको वेबसाइटमा जनाइएको छ । यस अनुसार नेपालमा ५, भारतमा ९२, श्रीलंकामा ४, सेसेल्समा १, भुटानमा १ र चीनमा २ वटा होटल सञ्चालनमा छन् ।

वेबसाइटमा उल्लेख भए अनुसार जिंक नाममा चीनमा २, श्रीलंकामा ३ र भुटानमा १ होटल सञ्चालनमा छन् । यस्तै, भारतमा पनि सोही नाममा चौधरीले होटल विस्तार गरेको देखिन्छ ।

विनोदले सीएनबीसी अफ्रिकालाई सन् २०१६ मा दिएको अन्तर्वार्तामा पूर्वी अफ्रिकामा उनले ६ वटा होटलमा लगानी गरिरहेको बताएका थिए । त्यस्तै अमेरिकाको जेएफके एअरपोर्टमा होटल ९पहिले हिल्टन पछि ¥याडिशनको नाममा स्तरोन्नति०मा लगानी गरेको उल्लेख गरेका थिए । उनले होटल क्षेत्रको अन्तर्राष्ट्रिय ब्राण्ड ताज होटलमा समेत विभिन्न ठाउँमा साझेदारी गरी होटल तथा रिसोर्ट स्थापना गरिसकेका छन् ।

नेपालबाट ट्याक्स हेभन र ट्याक्स हेभनबाट विश्वका विभिन्न देशमा व्यावसायिक लगानी गर्ने विनोद सन् २०१३ मा अमेरिकी व्यापारिक पत्रिका फोब्र्सको ‘अर्बपती’ सूचीमा पर्न सफल भएका थिए । शुरूमा फोब्र्सको सूचीमा पर्दा चौधरीको सम्पत्ति एक बिलियन अमेरिकी डलर ९रु।१ खर्बभन्दा बढी० थियो ।

त्यसयता वर्षेनि उनको सम्पत्ति बढ्दो क्रममा छ । सन् २०१९ मा विनोदको सम्पत्ति १।७ बिलियन अमेरिकी डलर ९झन्डै रु।२ खर्ब० पुगेको थियो । फोब्र्सका अनुसार पछिल्ला दुई वर्षमा उनको सम्पत्ति बढेन, घट्यो । अर्थात् सन् २०२० र २०२१ मा १।४ बिलियन अमेरिकी डलर ९करीब डेढ खर्ब रुपैयाँ० छ । चौधरी हाल विश्वका अर्बपतिहरूमध्ये २ हजार १४१औं स्थानमा छन् ।

कानूनको उल्लंघन भएको छैन : चौधरी ग्रुप

उल्लिखित आरोपहरूमाथि चौधरी ग्रुपले छोटो प्रतिक्रिया दिंदै नेपाल र विदेशी कानूनको उल्लंघन नगरेको जनाएको छ । “मेरा बुवा एवम् सीजीका अध्यक्षका अनुसार सिनोभेसन र हाम्रा सबै कम्पनी समूहले विदेशी लगानी सम्बन्धी नेपाली कानून सहित लागू भएका सबै कानून पालन गरेका छन् ।

त्यसैले तपाईंको इमेलमा उल्लिखित अनुसन्धान सम्बन्धमा हाम्रा थप टिप्पणी र विचार छैनन्” खोज पत्रकारिता केन्द्र कालागि वाशिङ्टन पोष्टका पत्रकार पीटर होरिस्कीले सोधेको प्रश्नमा जवाफ दिँदै राहुल चौधरीले भनेका छन् । सीजीले सम्मानित, प्रतिष्ठित र अग्रणी बहुराष्ट्रिय कम्पनीहरूसँग साझेदारी गरेको उनको भनाइ छ ।

“जहाँसम्म हाम्रो लगानीमा साझेदारहरूको कुरा छ, सीजी र यसका कम्पनी समूहमा विश्वस्तरमा सम्मानित, प्रतिष्ठित र अग्रणी बहुराष्ट्रिय कम्पनीसँग हाम्रो साझेदारी छ । उनीहरूका बारे सार्वजनिक डोमेनमा जानकारी सहजै उपलब्ध छ”, राहुलले इमेल मार्फत प्रतिक्रिया दिंदै भने, “हामी आफ्ना साझेदार विरुद्धका आरोपबारे टिप्पणी गर्न चाहँदैनौं । यसबारे तपाईंलाई कुनै प्रश्न गर्नु छ भने सीधै उनीहरूसँग सम्पर्क गर्नुहोस् ।”

वि.सं.२०७८ असोज १८ सोमवार १०:१९ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...