back
NMB ad

नारायणगढ–मुग्लिन सडक खण्ड: शाखा सडकबाट आएको पहिराले मुख्य सडक अवरुद्ध

Kumari bank ad

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा शाखा सडकबाट आएको पहिराका कारण ठाउँठाउँमा मुख्य सडक अवरुद्ध भइरहेको छ ।

मुख्य सडकसँग जोडिने गरी वा त्योभन्दा माथिल्लो भागमा स्थानीय तह तथा प्रदेश सरकारले शाखा सडक खन्ने गरेका छन् । स्थानीयस्तरमा प्रयोगका लागि बनाइएका ती सडक खन्दा आएको पहिराले मुख्य सडक अवरुद्ध हुने गरेको हो । राष्ट्रिय राजमार्ग जोडेर शाखा सडक बनाउँदा कुनै समन्वय नहुने सडक विभागले जनाएको छ ।

मुख्य सडकभन्दा झण्डै दुई सय ५० मिटर माथिबाट पहिरो खस्दा मौरी खोला पुलमा पुरिएर पटकपटक सडक अवरुद्ध भइरहेको छ । यो वर्षाका कारणले नारायणगढ–मुग्लिन सडकमा ठाउँठाउँमा सडक अवरुद्ध भइरहेको छ ।

अहिले मौरी खोला पुल र अरु दुई–तीन स्थानका सडकमा बाढी र पहिराका कारण पटकपटक सडक अवरुद्ध भइरहेको सडक विभागले जनाएको छ । नारायणगढ–मुग्लिन सडकमा मौरी खोला पुल र अरु दुई–तीन ठाउँमा मात्रै यस वर्ष सडक अवरुद्ध हुने समस्या भइरहेको छ ।

मौरी खोलामा झण्डै तीन–चार सय मिटर माथिबाट पहिरोले ढुङ्गा, गेग्रान ल्याउँदा पुल पुरिएको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताउनुभयो । पहिराले पुल पुरिँदा सडक पटकपटक अवरुद्ध भइरहेको र विभागले खुलाइरहेको उहाँले बताउनुभयो ।

मौरी खोला पुलभन्दा माथिल्लो भागमा एउटा कच्ची सडक निर्माण हुँदा त्यसका कारण यस वर्ष पुलमा बढी असर पुगेको उहाँले बताउनुभयो । सो शाखा सडक आठ/दश वर्ष पहिले निर्माण सुरु भएको थियो । त्यो सडकका कारण अझै बढी गेग्रान आइरहेको उहाँले बताउनुभयो ।

पहिले स्थानीय सडक भए पनि यस वर्ष सडकलाई निर्वाचन क्षेत्र सडकमा पारेपछि अब विभागको कार्यक्षेत्रमा परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडकका कारण यस वर्ष पहिरो बढ्न गएको हो ।”

विसं २०६० मा पनि सो स्थानमा पहिरो आएकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहयोगमा ड्याम निर्माण गरिएको थियो । त्यसमा गत वर्ष क्षति भएपछि विभागले मर्मत गरे पनि यस वर्ष पहिराले पूर्णरुपमा पुरेको छ ।

माटो हटाएर पुल सफा गरिरहेको महानिर्देशक थापाले बताउनुभयो । पहिरो खुलाउन सो स्थानमा पहिले तीन उपकरण राखिएकामा अहिले एक थप गरिएकोे उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिराको जानकारी प्रहरी, स्थानीयवासी कसैले देखेमा लोडर वा स्काभेटर अपरेटरलाई दिँदा तत्काल पहिरो हटाउन सुरु गरिँदै आएको छ ।”

गत वर्ष वर्षाको समयमा धेरै ठाउँमा सडक अवरुद्ध हुने गरेको थियो । अहिले बाढी र पहिराका कारण हुने क्षतिको न्यूनीकरणका लागि विभिन्न संरचना बनाइएको सडक विभागले जनाएको छ ।

गत वर्षमा भित्ता काटेर पहिरो नियन्त्रणका लागि बनाइएको संरचना, नदीले कटान नगरोस् भनी निर्माण भएका पाइल र ठाउँठाउँमा वृक्षरोपण गर्दा पहिराको जोखिम केही कम भएको विभागका महानिर्देशक थापाले बताउनुभयो ।

सडकको भित्ता काटेपछि ठाउँठाउँमा विभिन्न प्रविधि प्रयोग गरेर बलियो बनाइएको उहाँले बताउनुभयो । भित्ताभरि प्वाल पारेर छ–आठ मिटर लम्बाइको रड छिराएर त्यसमाथि जाली लगाइ त्यसलाई स्थिर बनाइएको हो । ती संरचना निर्माण गरिएको स्थानमा अहिले पहिरो नगएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठाउँठाउँमा त्यो अहिले पनि देख्न सकिन्छ, कतै भने घाँस उम्रिसकेको छ ।” सो सडकमा गत वर्षमा नारायणी नदीले तलबाट तानेर सडक भत्कने गरेको महानिर्देशक थापाले बताउनुभयो । अहिले ठाउँठाउँमा कङ्क्रिट ब्लक राखिएको छ । नारायणी किनारमा १७ किमीमा पाइल राखिएको उहाँले बताउनुभयो ।

सडकमा खाल्डा हुँदा माटो, ग्राभेलले पुर्ने र पकाएर राखेको अलकत्राले टाल्ने गरिएको छ । तीन÷चार महिना पहिलेदेखि अलकत्रा पकाएर बोरामा राखिने गरिएको महानिर्देशक थापाले बताउनुभयो । विशेष केमिकलमा नयाँ प्रविधि प्रयोग गरेर पकाइएको अलकत्रा बोरामा राख्न मिल्ने र जहाँ खाल्डा भयो त्यहाँ टालिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै बिग्रिएमा गर्न गाह्रो भए पनि ससाना खाल्डामा सकिन्छ ।”

स्थानीयस्तरमा जतासुकै शाखा सडक खोल्दा पहिरो आउँदा राजमार्ग अवरुद्ध हुने अवस्था आइरहेको महानिर्देशक थापाले बताउनुभयो । पहिरो पन्छाउन पनि नजिकै विद्युत् र टेलिफोनको लाइन हुँदा समस्या रहेको उहाँले बताउनुभयो ।

तार र खम्बा सडकभन्दा केही टाढा नभएर मुख्य सडकमै हुँदा डोजर, लोडर र स्काभेटर चलाउन नसकिने अवस्था रहेको छ । उहाँले भन्नुभयो, “नाङ्गो तारमा मेसिनले छुँदा पनि जोखिम छ ।”

अहिले पहिरो पन्छाउनभन्दा पनि जाम खुल्न बढी समय लाग्ने गरेको छ । सडकको अवरोध पन्छाएर खुलेपछि गाडी आठ÷नौ घण्टा रोकिनुपर्ने अवस्था रहेको महानिर्देशक थापाले बताउनुभयो । तीन÷चार घण्टामा सडक खुले पनि अगाडि जाने गाडीको तछाडमछाडले गर्दा त्यो क्षेत्रमा जाम हट्न आठ÷नौ घण्टा लाग्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले भनेपछि गृह मन्त्रालयबाट लेन अनुशासन कायम गराउन निर्देशन भए पनि पूर्णरुपमा पालना भइसकेको छैन ।”

विगतका वर्षमा विस्तार गरिएको नारायणगढ–मुग्लिन सडकमा हाल पुल निर्माणको काम भइरहेको छ । विगतमा कम चौडाइका पुल रहेकामा तिनलाई सडक जतिकै चौडाइ कायम गर्न पुरानो पुल भएको ठाउँसँगै नयाँ पुल निर्माण भइरहेको छ ।

सरकारले मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक विस्तारसमेत अघि बढाइरहेको छ ।

वि.सं.२०७९ साउन २९ आइतवार १३:३३ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...