back
NMB ad

भारतबाट आयात नरोकिदा चितवनका केराले बजार पाएन

Kumari bank ad

भरतपुर । भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गर्नुभएको छ । सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उहाँले केरा बोटमै पाकेपछि चरा र बाँदर धपाउन दुई जना मान्छे नै परिचालन गर्नुभएको छ । “यो सिजनमा केरा बिक्री र मूल्य राम्रो हुने अपेक्षा थियो तर सोचेजस्तो भएन”, उहाँले भन्नुभयो ।

केरा उत्पादक सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका सुवेदीले उत्पादन प्रशस्त रहेको र बजारको मात्र समस्या रहेको बताउनुभयो । “यो समयमा मेरोमात्रै होइन, नेपालमै उत्पादन भएको केरा पर्याप्त छ, भारतबाट ल्याउन आवश्यक छैन । तर भन्सार छलेर दैनिक १०–१५ गाडी केरा काठमाडौं भित्र्याइने गरेको छ”, उहाँले भन्नुभयो ।

सबैभन्दा धेरै केरा उत्पादन हुने जिल्लामा चितवन दोस्रो स्थानमा पर्छ । केरा बिक्री नभएपछि चितवनका किसानले पटक–पटक भारतीय केरा आयात रोक्न माग गरिरहेका छन् । उनीहरूले एक–दुई महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले छठपर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गर्नुभयो ।

“छठपर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छौं”, उहाँले भन्नुभयो, “नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार लाग्नुपर्छ ।” उहाँले केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभयो । यतिखेर नेपालमा दैनिकरूपमा केरा आयात हुँदै आएको छ । भारतबाट आएको केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन”, अध्यक्ष पन्तले भन्नुभयो ।

केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरे भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी विस्थापित हुने अवस्था आउने बताउनुभयो । “सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको छ । यहाँ विभिन्न नाकाबाट बिना एलसी भारतीय केरा अवैधरूपमा भित्रिएका छन्”, उहाँले भन्नुभयो, “यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन् ।” उहाँले यस वर्ष धेरै पानी परेका कारण पनि समस्या भएको बताउनुभयो । “चाडपर्वमा पनि धेरै पानी प¥यो, यसकारण यस वर्ष केराको खपत पनि कम भयो”, उहाँले भन्नुभयो ।

चितवनमा छ सय बिघामा मात्रै हरियो (जिनाइन) केरा लगाएको घिमिरेले बताउनुभयो । यो केरा एकैपटक पाक्ने भएकाले बजार नपाए सबै बारीमा नै कुहिने उहाँको भनाइ छ । केरा व्यवसायमा किसानको दिनप्रतिदिन आकर्षण भने बढ्दै गइरहेको उहाँले बताउनुभयो । चितवनमा मात्रै सात सय किसानले व्यावसायिकरूपमा केराखेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उत्पादन भएको केराको बजारको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको छ । स्वदेशमै धेरै उत्पादन भएको समयमा आयात रोकिनुपर्ने माग उनीहरूको छ । साथै उत्पादित वस्तु बिक्री नभए सरकारले किनिदिनुपर्ने उनीहरू बताउँछन् । उनीहरूले केराको मूल्य तोकेर कार्यान्वयन गराउनुपर्ने माग पनि सरकारसमक्ष राख्दै आएका छन् ।

चितवनमा मात्रै वार्षिक २ अर्बको केराको कारोबार हुने गरेको छ । “राज्यले किसानलाई मल र बीउ समयमै उपलब्ध त गराएको छैन । किसानले जेनतेन उत्पादन गरेको वस्तुको पनि बजारको व्यवस्था गर्न सकेको छैन”, घिमिरेले भन्नुभयो । जिल्लाका अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् । भारतीय केराको उत्पादन लागत कम पर्ने भएका कारण नेपाली व्यापारीले सस्तो मूल्यमा खरिद गर्ने गरेका छन् । महँगो बीउ, मल, सिँचाइ, जग्गा भाडालगायतका कारण नेपाली केराको उत्पादन लागत भारतीयको भन्दा बढी छ ।

भरतपुर महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धिताल चितवनमा भारतीय केरा नआएको बताउनुहुन्छ । अहिले मन्दीका कारण केराको बिक्रीसमेत नभएको उहाँको भनाइ छ । केराको मूल्य प्रतिकोसा रु तीनदेखि चारमा किसानको बारीबाट बिक्री हुने गरेको छ ।

नेपालको उत्पादन तीन लाख आठ हजार तीन सय ८८ मेट्रिक टन छ । यो कुल मागको ६० प्रतिशत रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार ४० प्रतिशत केरा भारतबाट आयात हुँदै आएको छ । “चितवनमा उत्पादन भएको केराकोे मुख्य बजार काठमाडौँ हो”, उहाँले भन्नुभयो, भारतबाट दैनिक आयात हुँदा किसान मर्कामा पर्ने नै भए ।” काठमाडौसँगै चितवनमा उत्पादन भएको केरा पोखरा, बुटवल र दाङमा समेत जाने गरेको छ ।

देशभर केराको कुल माग पाच लाख १४ हजार ५० मेट्रिक टन रहेको छ । यहाँ २१ हजार छ सय ३३ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । त्यसमध्ये चितवनमा मात्रै दुई हजार ७६ हेक्टर क्षेत्रमा केराखेती हुन्छ । त्यसमा ४३ हजार एक सय ९३ मेट्रिक टन चितवनमा उत्पादन हुन्छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको छ । यस्तै भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ ।–

वि.सं.२०७९ असोज २७ बिहीवार १३:५२ मा प्रकाशित

You can share this post!

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:३६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:२५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:१९

काठमाडौँ, ३१ वैशाख : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...