काठमाडौं । अरुण काबेली पावर कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सभा अल्फा बीटा कम्प्लेक्सको चौथो तल्ला, नयाँ वानेश्वर काठमाडौंमा कार्तिक ३० गते बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि रहेको छ । नयाँ परियोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।
यस्तै, कम्पनीले १ः१ अनुपातमा शतप्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । बोर्डले अनुमति प्रदान गर्ने बेलासम्म कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि स्वीकृति प्रदान गर्ने सम्बन्धी प्रस्ताव पनि सभामा लगिने कम्पनीले जानकारी गराएको छ । अरुणको हाल १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी २ अर्ब ४ करोड ७ लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।
कम्पनीले साधारण सभा र बोनस सेयर प्रयोजनका लागि कात्तिक १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७९ कात्तिक १४ सोमवार ११:१८ मा प्रकाशित