काठमाडौं । नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरण गर्ने बाटो खुलेको छ ।
लाइसेन्स वितरण गर्ने प्रक्रिया रोक्न माग गर्दै परेको रिट खारेज भएपछि बोर्डलाई लाईसेन्स वितरण गर्ने प्रक्रिया सुरु गर्ने बाटो खुलेको हो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले आज रिट खारेज गरेको हो।
गत बुधबार पनि नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्रसम्बन्धी ऐन, २०६४ को परिधिभित्र नै रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले ठहर गरेको थियो।
आइतबार पनि अधिवक्ता दिपकविक्रम मिश्रसहितले दायर गरेको रिटमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चको यो फैसलासँगै अब नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरण गर्ने बाटो खुल्ने भएको छ। नयाँ स्टक ब्रोकरविरुद्ध परेका सबै प्रकारका रिटको सुनुवाइसमेत सकिएको छ।
बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो ।
बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । ब्रोकर लाईसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन् ।
वि.सं.२०७९ चैत २६ आइतवार १७:२१ मा प्रकाशित