back
NMB ad

इमेज सहकारीको समस्या, सम्पत्ती लिलामी र समाधानको उपाय

Kumari bank ad
प्रतिमान पौडेल
बागलुङ र कास्कीमा सञ्चालित इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको विगत एक दशकमा चर्चा नै छुट्टै र विशेष प्रकारको थियो । चर्चा हुनुको कारण थियो दुवै ठाउँका सहकारीका अध्यक्ष देव कुमार नेपाली । नेपालीको सान सौकत देखेर मान्छेहरु दंग थिए । उनले चढ्ने गाडी, उनले दिने आर्थिक सहयोग, उनले गर्ने भाषणले मान्छेहरुलाई लठ्ठै पारिदिएको थियो ।
देव कुमारका अगाडि यो क्षेत्रका अन्य सहकारीहरु, अन्य सहकारीकर्मीहरुको गणना हुदैन्थ्यो, लामो समय चलेका सहकारीहरु, सञ्चालन गरेका सहकारीकर्मीहरुलाई कतिपय मान्छेहरुले कुरी कुरी गर्थे, सहकारी होस् त इमेज जस्तो । धेरै सहकारीका सञ्चालक समितिका बैठकमा इमेजको चर्चा हुने गथ्र्यो, इमेजले यो सुविधा दिन्छ, इमेजले त्यो सुविधा दिन्छ, इमेजका कर्मचारी यस्ता, इमेजका अध्यक्ष उस्ता, इमेजले यति ब्याज दिन्छ, इमेज जस्तो पो सहकारी हुनुपर्छ ?
उनी कसरी उदाए, कसरी अस्ताए चर्चा परिचर्चा अहिले व्यापक रुपमा भैरहेको छ । उनको उदय यसरी भयो कि ? देव कुमारसंग अथाह सम्पत्ती छ, उनले आफ्नो सम्पत्तीबाट शिक्षा, स्वास्थ्य, बाटो घाटो, मेला महोत्सवमा गर्ने सहयोगबाट यस्तै भान हुन्थ्यो । उनको गुनगान गाउनेहरुको घुइचो नै थियो । मेला महोत्सव आयोजना गर्न लाग्यो कि ? देव कुमारलाई नसम्झने धेरै कम मान्छे थिए ।
सशस्त्र युद्धरत माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि एउटा धनाढ्य व्यक्तिका रुपमा बजारमा देखिएका देव कुमार नेपालीलाई बागलुङ पोखराका मान्छेहरुले माओवादीका रुपमा पाए । त्यस भन्दा पहिला उनको राजनीति फरक थियो । माओवादी युद्धका क्रममा अथाह सम्पत्ती देव कुमारले लुकाएका रहेछन् भन्ने चर्चा पनि यदाकदा सुनिन्थ्यो ।
उनले तिब्बती मुलकी महिलासंग विवाह गरेका थिए, तिब्बती ससुरालीको अथाह पैसा छ रे ? उनले त्यही पैसा परिचालन गरेर कमाए भन्ने पनि थिए । चर्चा त तिब्बतीहरुलाई नागरिकता बेच्छन् रे भन्ने पनि सुनिन्थ्यो । बजारमा हुने सबै कुरा सत्य हुदैनन्, अझै पछिल्लो समय सामाजिक सञ्जालमा आउने कुरा त झन कति सत्य हुन्छन्, तौलेर बुझ्नु पर्छ ।
चर्चा जे जसरी भए पनि उनले बिताएको सानको जिन्दगी गिटी बालुवा कुटेर साझ बिहान छाक टार्नेहरु, ज्याला मजदुरी गरेर परिवार पाल्नेहरुको श्रमको पैसासंगै सहकारीमा वचत गरेका वचतकर्ताको पैसा रहेछ भन्ने त यतिबेला घाम जत्तिकै छर्लङ्ग भएको छ ।
अरुले ५ हजार आर्थिक सहयोग गर्न निकै गारो हुने अवस्थामा उनले नगदै बिटो बिटो सहयोग गरेको देखेर मान्छेहरु उनको सम्पत्तीको स्रोत के होला ? भन्ने होइन, यिनीसंगबाट कसरी सहयोग लिने होला भन्ने सम्ममा पुग्थे । घर ठुलो बनाउने, गाडी महंगो चढ्ने, बिटो बिटो पैसा चन्दा दिने सबै कुरा उनको जनतासंग पैसा संकलन गर्ने फर्मुला रहेछ भन्ने त स्पष्ट भएन र ? अझै पनि कसै कसैलाई देव कुमार त देउतै हुन जस्तो पनि लाग्दो हो ? किनकी हिजो उनले गुन जो लगाएका छन् ।
राजनीतिक दलका नेता, उच्च पदस्थ अधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतलाई हेलिकप्टरबाट सयर गराए, पोखरादेखि बुर्तिबाङसम्मका कर्मा कम्प्लेसमा हुने रात्रीकालिन भोज भतेरमा संलग्नहरुको खोजविन पनि कुनै दिन अवस्य होला ? नभए पनि मन मनै थुक्क भोत भतेरमा परेर लुटिएछु भन्ने पनि त कतिलाई परे होला ?
देव कुमारका वरीपरी गुनगान गाएर नथाक्नेहरु कति थिए, को को थिए यसो सोचौ त ? हिजो गुनगान गरेर नथाक्ने मनुवाहरु आज के भन्दैछन् । देवकुमारले गरेको अपराधको साक्षी त बस्न परै जावस पानी माथिको ओभानो बन्दैछन् ।
देव कुमार नेपाली बजारमा रहेका सहकारीहरुका विरोधी थिए, उनले सबै सहकारीहरुबाट पैसा झिकेर आफ्नो सहकारीमा ल्याउने अवस्था सिर्जना गरिदिएका थिए । कसलाई के भनेर हुन्छ, कसलाई के दिएर हुन्छ उनले भन्थे र दिन्थे । अरु सहकारीमा बचत गर्दा बचतबाट आउने ब्याजको ५ प्रतिशत (यो वर्षदेखि ६ प्रतिशत भएको छ) कर राज्यलाई दिनु पर्दछ, उनले ठुला वचतकर्तालाई ५ प्रतिशत कर तिर्न पर्दैन पनि भन्थे र उनको वित्तीय कारोबारका बारेमा रजिष्ट्रार कार्यालयले खोजविन गर्दा १० लाख भन्दा बढीको रकम रेकर्डमा थिएन भन्ने कुराबाट यो स्पष्ट पनि हुन्छ ।
 सहकारीको साधारणसभामा उनले के भन्थे, पैसा राख्नेहरुलाई सोध्नुस, सहकारी भनेको पैसा हो, पैसा राख्नुस, तपाईलाई चाहियो भने भन्नुस, करोडै रकम भए पनि १५ मिनेट भित्र बोरामा बोकेर जानुस भन्थे । सहकारी सदस्यहरुको हो सदस्यहरुको सहभागितामा सञ्चालन हुनु पर्छ, नीतिले सहकारी चल्न पर्छ भन्नेहरुलाई उनले दिने जवाफ कस्तो थियो, सहकारीका अगुवाहरुलाई सोध्न सकिन्छ । नीति, नियम, विधि, पद्धती किन चाहियो ? देश नै यसै गरी चलेको छ, उनको भनाइ हुन्थ्यो । यही हो उनको भाषण, बोली अनि प्रतिवद्धता । कहाँ गयो उनको प्रतिवद्धता आज ? ६÷७ महिना हुदा पनि दुलो भित्र बसेर रमिता हेरेका छन् ।
यसो सम्झौ त ? सहकारीहरुले साधारणसभामा शेयर सदस्यलाई मात्र बोलाउछन्, सदस्य नभएको मान्छे सहकारीको साधारणसभामा बोलाइदैन र जादैनन् पनि । सहकारीहरुले साधारणसभा होस् वा अन्य कुनै कार्यक्रममा गर्ने खर्च सहकारीका सदस्यकै खर्च हो । साधारणसभामा दिने भत्ता होस् वा मुनाफाका रुपमा दिने लाभांश होस् सबै सदस्यको कारोबारबाट भएको कमाईको पैसा हो । अरु सहकारीले ११ बजे साधारणसभामा बोलाउछन्, दिनभर बस्ने सदस्यहरुलाई एक डेढ सयको खाजा खुवाउछन । सहकारीको साधाणसभामा सदस्यका परिवारजनलाई बोलाएर भोज भतेर गर्दैन, साधारणसभामा मात्र होइन, सहकारीको कुनै पनि कार्यक्रममा ककटेल पार्टी हुदैन । सामान्य खाजाको व्यवस्था हुन्छ । धेरै भयो भने मासु चिउरा होला, त्यसो गर्दा पनि सहकारीहरुले आम्दानी र खर्चको योजना बनाएर गर्छन् । सहकारीको साधारणसभामा परिवार बोलाउदा हामी मध्ये कतिजना मख्ख थियौ, र भन्थ्यौ, सहकारी त इमेज जस्तो पो हुनुपर्छ, त्यही भएर होइन सपरिवारका नाममा इमेजमा पैसा राखेको ?
देव कुमारले सहकारीको साधारणसभा लगायत कार्यक्रममा गर्ने खर्च कसको रहेछ ? यतिबेला छर्लङ्ग भए जस्तो लाग्छ । अचम्म त के लाग्छ भने हिजो देव कुमारको साधारणसभा लगायत कार्यक्रमको बढाइ चढाई गरेर खबर दिनेहरु पनि आज अरुलाई दोष दिएर उम्कन खोज्दैछन् । कम्तिमा मैले के गरे भन्ने त एक पटक सम्झौ ।
कार्यक्रममा अतिथि भएर गएको मान्छेले सहकारीको ऐन नियमको कुरा ग¥यो, सहकारीलाई सहकारीको मर्म अनुसार चलाउनु पर्छ भन्यो भने अतिथि भन्दा पछि बोल्ने क्रममा देव कुमार नेपालीले सहकारी पैसा हो, पैसा भनेको समयमा दिनु पर्छ, र देव कुमारले १५ मिनेट भित्र करोड करोड पैसा झोलामा हालेर पठाइदिन्छ भन्दा पररररर….? तालि बजाएर देव कुमारलाई वाह वाही गर्ने र अतिथिहरुलाई निलो कालो बनाउने पनि त हामी मध्येकै थियौ नि होइन र ?
२०७४ को स्थानीय चुनावमा माओवादीले ढोरपाटनको मेयरमा टिकट नदिएको झोकमा उनी एमाले प्रवेश गरे । पोखराबाट हेलिकप्टरमा टिकट बुर्तिबाङ पु¥याएको कुरा धेरैले चाल पाएकै विषय हो । मेरा बाबै देव कुमार पार्टीमा आयो भनेर फुर्किने, देवकुमारले चुनाव जितेपछि हेलिकप्टरबाटै बुर्तिबाङ पुगेर बधाई दिने, पार्टीका जुनसुकै कार्यक्रममा देवकुमारबाट नगदनारन लिने, आफु उमेदवार हुदा देवकुमारको पैसामा चुनावमा हिड्ने, चुनावमा देवकुमारको पैसाको आडमा नाना नौरंग गर्ने अनि दोष चाही अरुलाई लगाउने ? पार्टीकै चुनावमा पनि देव कुमारले भनेको मान्छेलाई बोक्ने प्रवृति देखिएकै त हो नि ? उनले जसलाई पदाधिकारी बनाउन भन्छन् उनैलाई बोक्ने पनि त देखिएकै हो नि ? उनी सम्बद्ध पार्टीका मात्रै होइन, इतर पार्टीका कतिपय नेताहरु, कार्यकर्ताहरु पनि चन्दाका लागि उनलाई रिझाउने गर्थे भन्ने उनकै मुखबाट बेला बखत बाहिर आएकै विषय हो ।
देव कुमारले समाजका विभिन्न क्षेत्रमा गरेको लगानी, बनाएका घर, खरिद गरेका जग्गा, चढेका गाडी कस्को पैसाले रहेछ, आज त छर्लङ्ग भएकै होला । देव कुमारले धेरैलाई लोटाए, उनको दिमाग अरु धेरैको भन्दा चल्दो रहेछ, राज्य सञ्चालकदेखि सर्वसाधारणसम्मको आँखामा धुलो हाल्न सफल देव कुमारको खोजी कार्य के भैरहेको छ ? राज्यले जनतालाई जवाफ दिनु पर्छ ।
यतिबेला देव कुमार नेपाली र उनको टिमलाई ऋण तिर्नका लागि राष्ट्रिय सहकारी बैंकले ३५ दिने सूचना जारी गरेको रहेछ । कात्तिक ३ गतेको मितिमा पोखरा र बागलुङ कार्यालयको नाममा जारी सूचनामा ३५ दिनभित्र ऋण मिलान गर्न भनिएको छ । ऋण मिलान नगरेमा धितो लिलामी, धितो लिलामीबाट ऋण असुल उपर नभएमा सञ्चालकहरुको चल अचल सम्पत्तीबाट समेत ऋण असुल उपर गर्ने, सञ्चालकहरुलाई कालो सूचिमा राख्ने सूचनामा उल्लेख छ ।
सहकारी बैंकले सदस्य सहकारी संघ संस्थाहरुलाई ऋण दिने गर्दछ । इमेज सहकारी बैंकको सदस्य रहेकोले उसले ऋण पाउने नै भयो । ऋण लगानी गर्दा बैंकले राखेको धितो हेर्दा बैंक पूर्ण रुपमा सुरक्षित रहेर लगानी गरेको देखिन्छ । देव कुमार नेपालीको नाममा रहेका मालपोत कार्यालय डिल्ली बजार काठमाडौंमा दर्ता श्रेष्ता कायम रहेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ को कित्ता नं. ४२१ (४७.६९ वर्गमिटर), ४४२ (९६९.७० वर्गमिटर), ४८९ (१११.४४ वर्गमिटर) र ४८६ (३१.७९ वर्गमिटर) को जग्गा सहकारीको बैंकको पोखरा शाखाले रोक्का राखेको देखिन्छ । यो जग्गाको बजार मूल्य ७० करोड पर्छ भन्ने चर्चा सुनिन्छ ।
यस्तै मालपोत कार्यालय बुर्तिबाङमा दर्ता श्रेष्ता कायम रहेको बागलुङ जिल्ला बुर्तिबाङ गाविस वडा नं. १ को कित्ता नं. ३६५७ (०–१–३–२), २७४४ (०–०–०–३), २४८२ (०–०–१–२), २७३४ (०–२–२–२), २४८१ (०–२–०–०), २४४४ (०–२–०–०), २४४१ (०–३–०–२), २७४५ (०–१–१–२), २७४६ (१–४–१–१) २७३३ (०–१–०–३), मालपोत कार्यालय बागलुङ दर्ता श्रेष्ता कायम रहेको बागलुङ जिल्ला कालिका गाविस वडा नंं २ को कित्ता नं. ४५७ (०–४–३–३) र ४५८ (०–४–२–१) तथा मालपोत कार्यालय कास्कीमा दर्ता श्रेष्ता कायम रहेको कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. ९ को कित्ता नं. ७८ (११९.०० वर्गमिटर) को जग्गा बैंकमा रोक्का रहेको सूचनामा उल्लेख छ ।
यसरी हेर्दा काठमाडौं, पोखराको जग्गाका अवाला बागलुङ र बुर्तिबाङमा रहेका कर्मा कम्प्लेक्स सहितको सम्पत्ती सहकारी बैंकका नाममा देखिन्छ । जग्गाको कारोबारसंग सम्बन्धित व्यक्तिहरुले बजारमा गरेको चर्चा अनुसार करिव २ अर्बको जग्गा सहकारी बैंकले धितो राखेर ऋण लगानी गरेको देखिन्छ । बैंकले ऋण लगानी गर्दा सुरक्षाको हिसावले आफुलाई सुरक्षित राखेको रहेछ ।
 सहकारी बैंक स्रोतका अनुसार करिव २५ करोड साँवा ब्याज इमेजबाट उठाउन छ । यदी बैंकले लिलामी गर्ने अवस्था आयो भने काठमाडौंको जग्गाबाट मात्रै बैंकको सबै ऋण असुल भएर पनि ठुलै रकम इमेज सहकारीको खातामा जाने जानकारहरु बताउछन् ।
 मैले यहाँ चर्चा गर्न खोजेको विषय सहकारी बैंकले इमेज पीडितको सम्पत्ती डुबायो कि जोगायो भन्नेमा हो । २०८० बैशाख ६ गते देव कुमार नेपाली अध्यक्ष रहेको संस्थाले सूचना जारी गरेर कार्यालय बन्द गरायो । ७ गते बिहान प्रेस विज्ञप्ती मार्फत देवकुमार नेपालीले आफ्नो जायजेथा बेचेर भए पनि वचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाए । बैशाख ७ गते पछि जेठ ५ गतेभित्रमा देवकुमार नेपालीले पोखरा र बुर्तिबाङका केही जग्गा वचतकर्ताहरुलाई विक्री गरे । यद्यपी वचतकर्ताहरुले आफुले लिनु पर्ने भन्दा बढी रकम तिरेर जग्गा खरिद गरेका हुन् । सहकारी बैंकमा जग्गा रोक्का नभएको भए देव कुमार नेपालीले त्यो बीचको समयमा सबै जग्गा ठुला वचतकर्तालाई विक्री गर्ने रहेछन् भन्ने पनि त देखियो ।
ठुला वचतकर्ताहरुले जग्गा किनेरै भए पनि आफ्नो पैसा असुल उपर गर्ने र साना बचतकर्ताहरु अलपत्र पर्ने थिए कि ? भन्ने पाटोबाट पनि सोच्न सकिन्छ । यसको अर्थ बैंकमा जग्गा रोक्का भएका कारण पीडितहरुको सम्पत्ती रोकियो कि ? भन्ने पनि अड्कल गर्न सकिन्छ । सहकारीमा समस्या आएपछि बेचिएका जग्गा केही फिर्ता भएका पनि छन् । त्यो स्वागत योग्य कुरा हो । केही जग्गा फिर्ता भएका छैनन्, पैसा हुनेहरुले जग्गा खरिद गरेर वचत फिर्ता लैजाने र नहुनेहरु मर्कामा पर्ने काम सच्चाउन जरुरी छ ।
 सहकारी बैंकमा जग्गा रोक्का भएकै कारण उनले जग्गा बेच्न पाएनन्, यदी उनको जग्गा बैंकमा रोक्का नभएको भए उनले ठुला बचतकर्तालाई जग्गा बेच्दा रहेछन् र साना वचतकर्ता मारमा पर्ने रहेछन् भन्ने कुरा उनको व्यवहार र नियतबाट स्पष्ट देखिन्छ । उनको नियत, उनको इमान्दारिता हेर्दा शंका गर्ने प्रशस्त ठाउ देखिन्छ ।
अब के हुन्छ त ?
  बैंकले ३५ दिने सूचना निकालेको हिसावले २०८० मंसिर ८ गते ३५ दिन सकिन्छ, त्यतिबेलासम्म देव कुमार नेपाली सार्वजनिक भएर हिसाव मिलाए भने त ठिकै छ, होइन भने बैंकले लिलाम प्रक्रिया अगाडि बढाउला ।
 लिलाम गर्दा पञ्चकृत मूल्य तोकिएला, तोकिएको मूल्यबाट लिलाम बढाबढ शुरु होला, प्रक्रियामा कोही पनि सामेल भएनन् भने बैंकले नै जग्गा सकार्ला वा के होला अबको मुख्य चासोको विषय हो ।
 इमेजको मुुद्दा अदालतमा पनि छ, अदालतले के गर्ला,ह कस्तो आदेश गर्ला ? अदालतको आदेशका बारेमा धेरै चर्चा नगरौ ।
इमेज सहकारीका पीडितहरुलाई न्याय गर्ने हो भने बैंकले गर्ने लिलामी प्रक्रियामार्फत सहयोग गर्ने अवस्था सिर्जना गर्न आवश्यक छ ।
राज्यको समेत सहभागितामा लिलाम प्रक्रिया अगाडि बढाउने, लिलामीबाट आएको रकमबाट बैंकको ऋण मिलान गरेर बाँकी रहेको रकम पीडितहरुलाई दामाशाहीले बाड्ने नै त उपयुक्त विकल्प हुन सक्छ कि ? छलफल आवश्यक छ ।
इमेजको समस्या केवल इमेजमा पैसा राख्नेहरुको मात्र होइन, यो सिंगो सहकारी अभियानको हो, यो समस्या स्थानीय प्रदेश र संघीय सरकारको हो, यो प्रहरी प्रशासन, नागरिक समाज, उद्योगी व्यवसायी लगायत आम नागरिकको सरोकारको विषय हो ।
इमेजको समस्या समाधान गर्दाको दिन बागलुङको वित्तीय क्षेत्र परिचालन हुन सक्छ । यस्तो संवेदनशिल विषयमा सबैका बीचमा समन्वय गरी इमेजको समस्या समाधान गर्न सकिने हो कि ? छलफल आवश्यक छ ।
कानुनी अवस्था फरक होला, कानुनी अवस्थाका कारण पीडितहरुलाई थप पीडा हुने अवस्था आउन दिनु हुदैन । कानुनी प्रक्रियालाई सहज बनाउदै पीडितहरुलाई न्याय दिने गरी इमेजको समस्या समाधान गर्न सकियो भने यसमा रकम राखेर तनाव झेलि रहेका धेरैले राहत पाउनेछन् । पैसा राखेकाहरु मात्रै होइन, माथि भनिए झै यो क्षेत्रको समग्र वित्तीय परिचालनमा समेत यसले महत्वपूर्ण सहयोग पु¥याउन सक्छ ।
 समस्या आएपछि विकल्पको खोजी हुन्छ र सबै समस्याको समाधानका लागि केही न केही विकल्पहरु हुन सक्छन् । सहकारीकर्मीहरु मध्ये केहीले शुरुदेखि नै इमेज सहकारीलाई ब्यूताउन सुझाव दिएको पीडितहरुले बताएका छन् । इमेज सहकारी कसरी ब्यूताउन सकिन्छ र के हुन्छ भन्ने विषयमा व्यापक बहस जरुरी छ ।
सहकारी ऐन २०७४ को दफा ४० को १, २ र ३ मा विशेष साधारणसभाको व्यवस्था गरेको छ । दफा ३९ को उपदफा २ (घ) मा विशेष साधारणसभा बोलाउनु पर्ने कारण खुलाई १५ प्रतिशत सदस्यले निवेदन दिएमा साधारणसभा बोलाउन सकिने भन्ने उल्लेख छ । यही कुरा गण्डकी प्रदेश सहकारी ऐनको दफा ३६ र ३७ मा उल्लेख छ । यसका लागि गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले अनुमति दिनु पर्ने अवस्था देखिन्छ । यदी कार्यालयबाट अनुमति प्राप्त भएको अवस्थामा इमेज सहकारीको विशेष साधारणसभा बोलाउने, उक्त साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन गर्ने, सञ्चालक समितिले संस्थाको सम्पत्ती दायित्वको जिम्मेवारी लिनु नै उपयुक्त विधि हुन सक्छ भनेर सहकारी अभियानकर्मीहरुले सुझाव दिएको र पीडितहरु यस विषयमा पनि छलफलमा रहेको पाइएको छ ।
यसका लागि विशेष गरेर अदालतमा भएको मुद्दाले समस्या पार्न सक्ने कुरा पनि सम्बन्धितहरुले बताउने गरेका छन् । यदी इमेज सहकारीबाट पीडित भएकाहरुलाई न्याय दिने हो, पीडितहरुको फसेको पैसा फिर्ता दिने हो, उनीहरुलाई परेको मानसिक समस्या हटाउने हो, बागलुङ र कास्की लगायत यो क्षेत्रको वित्तीय बजारलाई परिचालन गर्ने हो भने विकल्प खोज्नु पर्छ । सबै सरोकारवालाहरुको सहभागितामा समस्याको समाधान गर्नु पर्छ ।

वि.सं.२०८० कात्तिक २६ आइतवार १५:१३ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...