
काठमाडौं । चालू आर्थिक वर्षको असोजमसान्त अर्थात् पहिलो त्रैमासिकसम्ममा ५ लघुवित्तले मात्रै लाभांशको घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ५ लघुवित्तले मात्रै लाभांश घोषणा गरेका हुन् ।
यूनिक नेपाल लघुवित्त, स्वावलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडीसी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेका हुन् ।
युनिक नेपाल लघुवित्तले सबैभन्दा बढी १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
स्वावलम्बन लघुवित्तले १२.३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.०१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
आरएसडिसी लघुवित्तले गएको आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीमध्ये ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले बुक क्लोज मिति तय गरी साधारण सभा समेत बोलाइसकेको छ । कम्पनीले मंसिर ७ गते बुक क्लोज गर्ने बताइसकेकाले मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउने बताइएको छ ।
त्यसैगरी, एनआईसी एशिया लघुवित्तले गतआर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, सपोर्ट लघुवित्तले गएको आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनलिाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । सपोर्टले हाल कायम चुक्ता पूँजीमध्येबाट १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० .६८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यी लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले पाउने छन् ।
वि.सं.२०८० कात्तिक ३० बिहीवार १३:३२ मा प्रकाशित