
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७२ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत वर्षको भन्दा २६.२६ प्रतिशतले धेरै हो ।
गत वर्ष कम्पनीले ७९ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा र कर्मचारी सञ्चालन खर्च घट्दा नाफा बढ्न टेवा पुगेको छ । कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी ३ अर्ब ५६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ७१ करोड रुपैयाँ भएको छ ।
एक वर्षको अवधिमा कम्पनीको कर्मचारी सञ्चालन खर्च पनि ११ करोड १८ लाख रुपैयाँबाट घटेर ८ करोड २७ लाख रुपैयाँमा झरेको छ । हाल यसको चुक्ता पुँजी १५ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक छ ।
असोजसम्म हेर्दा कम्पनीको ७३ अर्ब १ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ४ लाख ६ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा प्रतिसेयर नेटवर्थ ६० रुपैयाँ ९७ पैसा छ ।
वि.सं.२०८० मंसिर ३ आइतवार ११:०३ मा प्रकाशित