back
NMB ad

दाङका थारू बस्तीमा माघीको चहलपहल सुरु   

Kumari bank ad

देउखुरी (दाङ), १२ पुस : माघी नजिकिएसँगै दाङका थारू बस्तीमा चहलपहल सुरु भएको छ । थारू जातिको सबैभन्दा ठूलो पर्व माघी आउनुभन्दा एक महिनाअघिदेखि तयारी भइरहेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । पर्वमा थारू समुदायमा गाउँका महतवा (अगुवा)को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउछन् ।

अहिले थारू बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका सोमती चौधरीले बताउनुभयो । माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसकेको उहाँले सुनाउनुभयो । “खानाका परिकार बनाउन एक महिनाअघिदेखि तयारी गर्नुपर्ने हुन्छ, त्यसैको तयारीमा लागेका छौँ”, सोमतीले भन्नुभयो, “ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड) र भातलगायत विशेष मीठा–मीठा परिकारको तयारीमा जुटेका छौँ ।” पुसमा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने गरेको उहाँले बताउनुभयो ।

थारू समुदायले माघमै आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको घोराही–६ का भीमबहादुर चौधरी बताउनुहुन्छ । उहाँले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । थारू जातिले माघलाई नाचगान, खानपिनमा विशेष महत्व दिने गर्दछन् । वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने चौधरीको भनाइ छ ।

थारू समुदायका व्यक्तिले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्छन् । गाउँभरिका मानिस एकैठाउँ जम्मा भएर आगो ताप्ने र भाले बासेसँगै नदी तथा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन छ । खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइन्छ । यसरी छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रूपमा चेलीबेटीका घरमा पुर्याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

माघीको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारू भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ । गँगटा, माछासँगै घोङीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको घोराही उपमहानगरपालिका–३ का मतहुँ हिमलाल चौधरीले बताउनुभयो ।

“थारू समुदायमा माघलाई नयाँ वर्षका रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ । माघीमा घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायतका अन्य व्यवहारको नवीकरण गरिन्छ”, चौधरीले भन्नुभयो ।

माघ महोत्सवको तयारी    

थारू कल्याणकारिणी सभा दाङ देउखुरीको आयोजनामा घोराहीमा बृहत् माघी महोत्सव हुन थालेको छ । थारू समुदायको मौलिक कला, संस्कृति विकास गर्नमा थप सहयोग पुग्ने उद्देश्यले माघ महोत्सवको आयोजना हुन लागेको छ ।

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस २० र २१ गते माघ महोत्सव गर्न थालिएको हो । थारू कल्याणकारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले थारू समुदायको संस्कार र संस्कृति बोकेको महान् पर्वका अवसरमा माघ महोत्सव गर्न लागिएको बताउनुभयो । दुई दिनसम्म लाग्ने महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि अध्यक्ष अशोक चौधरीको संयोजकत्वमा ५१ सदस्यीय महोत्सव मूल आयोजक समिति बनाइएको छ ।

दीपकनारायण चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति बनाइएको छ । समितिका सदस्यमा शोभाराम चौधरी, अनिल चौधरी, अर्नब चौधरी, रामपति चौधरी र नगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सन्तोष दहितको संयोजकत्वमा पाँच सदस्यीय प्रचार–प्रसार समिति बनाइएको छ । जसको सदस्यमा सवि थारू, श्रीनारायण चौधरी, आरएम जगत् कुसुम्यालाई जिम्मेवारी दिइएको छ ।

जिल्ला समन्वय समितिको परिसरमा महोत्सव सञ्चालन गरिने छ । माघ महोत्सवमा दाङका सबै स्थानीय तहका मघौटा नाचलगायतका अन्य थारू नाच देखाउने कार्यक्रम आयोजकले जानकारी दिएका छन् । महोत्सवमा थारू परिकार, तथा थारू समुदायका हस्तकला, थारू वेशभूषालगायतका सामग्री प्रदर्शनीमा राखिने थारू कल्याणकारी सभाका सहसचिव श्रीप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उहाँले थारू समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमार्फत घोराहीमा थारू समुदायको सशक्त उपस्थिति रहने बताउनुभयो । दुईदिने महोत्सवमा मघौटा, छोक्रा, हुडुङ्यालगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले जानकारी दिनुभयो ।

वि.सं.२०८० पुस १२ बिहीवार १३:३८ मा प्रकाशित

You can share this post!

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:२७

काठमाडौँ, ३० वैशाख : आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ...

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:०३

काठमाडौँ, ३० वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ...

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...