back
NMB ad

जाजरकोटमा बढ्यो सुन्तला उत्पादन   

Kumari bank ad

जाजरकोट, ८ माघ : सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाइ कार्यालय जाजरकोटले जनाएको छ ।

छ सय २५ हेक्टरमा सुन्तलाखेती हुँदै आएको कार्यालयका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष प्रतिहेक्टरमा १०.७ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष १३.१ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाभरी यस आवमा आठ हजार एक सय २० मेट्रिक टन सुन्तला उत्पादन भएको जनाउँदै उक्त सुन्तलाको मूल्य रू ३२ करोड ४८ लाख बराबरको रहेको पोखरेलले बताउनुभयो । करिब रू २७ करोडको सुन्तला बजारमा बिक्री भएको तथ्याङ्क परियोजना कार्यान्वयन इकाइ कार्यालयमा आएको उहाँले जानकारी दिनुभयो ।

अघिल्लो आवभन्दा यस आवमा १५ हेक्टर बढी क्षेत्रफलमा सुन्तलाखेती गरिएको जनाइएको छ । तीन हजार दुई सय मेट्रिक टन बाहिर जिल्ला निर्यात भएको इकाइले कार्यालयले जनाएको छ । प्रतिकेजी रू ८० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामा चार पालिकामा सुन्तला जोन लागू भएको थियो ।

कुशे गाउँपालिकाको वडा नं १ देखि ९ सम्म, भेरी नगरपालिकाको वडा नं १ देखि १० सम्म, नलगाड नगरपालिकाको वडा नं १ देखि ६ सम्म र छेडागाड नगरपालिकाको वडा नं १०, ११ र १२ लाई सुन्तला जोनका रुपमा छुट्याइएको परियोजनाका प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

आव २०७४/७५ मा लागू भएको यो कार्यक्रमबाट यहाँका किसानले लाभ लिँदै आएका छन् । उहाँका अनुसार २१ समूह, ११ सहकारी, एक सय ३१ निजी क्षेत्र इकाइ कार्यालयमा सूचीकृत भएर काम गरिरहेका छन् । बर्सेनि सुन्तलाखेती हुने जमिनको मात्रा बढ्दै जाँदा उत्पादनमा पनि वृद्धि हुँदै गएको पोखरेलको भनाइ थियो ।

किसानको खेतबारीमा गएर प्राविधिकद्वारा विभिन्न तालिम, खेतीबारे जानकारी, आवश्यक उपकरणका साथै समयसमयमा गरिने छलफलले किसानलाई सुन्तला खेतीमा थप प्रोत्साहन मिलेको किसान शक्तिबहादुर ओलीले बताउनुभयो । यसरी गरिएको छलफल प्रभावकारी बन्दै गएको उहाँको भनाइ थियो ।

अधिकांश सुन्तला बगैँचा रहेका स्थानसम्म सडक विस्तार भएकाले पनि किसानलाई बिक्रीवितरणमा सहजता भएको ओलीले बताउनुभयो । परियोजनाले ढुवानीका सवारीसाधन खरिदमा अनुदान दिएकाले किसानलाई थप फाइदा भएको उहाँले जनाउनुभयो ।

नलगाड–३ का अगुवा किसान कमल पुनले भन्नुभयो, “गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य स्रोत बन्दै गएको छ । खाली जमिनभरि लगाइएको सुन्तलाका बोटले यतिबेला गाउँलाई नै सुन्तलामय बनाएको छ । यहाँका किसान अब व्यापारी भएका छन् ।” उहाँका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले किसानलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ ।

परियोजना कार्यान्वयन इकाइले नौ सदस्यीय सुन्तला तथा फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ । परियोजना कार्यान्वयन कार्यविधि, २०७७ मा व्यवस्था भएबमोजिम जोन विकास कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न समिति गठन गरिएको इकाइ प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार लाभग्राहीकोसमेत प्रतिनिधित्व हुने गरी नौ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

समितले विद्यमान प्रविधि र पूर्वाधारको अभिलेख तयार गर्ने, किसान समूह, सहकारी, उद्यमीदगायतको विवरण अध्यावधिक गर्ने, किसानको माग सङ्कलन गर्ने, कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, परियोजनाअन्तर्गत सरोकारवालासँग समन्वय र सहकार्य गर्ने, पूर्वाधारको विकास, प्रयोग र सम्वद्र्धन गर्न सहयोग गर्नेछ । त्यस्तै योजना तर्जुमामा सहकार्य गर्ने, कार्यक्रम अनुगमन एवं पृष्ठपोषणमा सहजीकरण गर्नेलगायत काम गर्ने प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

विभिन्न ठाउँमा सुन्तलालाई सुरक्षित राख्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाको आर्थिक सहयोगमा ‘सेलार स्टोर’ स्थापना गरिएको पोखरेलले जानकारी दिनुभयो । यसले सुन्तला जोगाएर पछिसम्म बिक्री गर्न सकिने उहाँको भनाइ थियो ।

किसानलाई सुन्तलाबाट प्रशस्त आम्दानी गरी आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले जिल्लाका विभिन्न छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ । सुन्तला सेलार स्टोरमा राखेर फागुनदेखि चैतसम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड–१० का नरेश विक्रम शाहले बताउनुभयो । सेलार स्टोरमा सुन्तला जम्मा गरी सुरक्षित राख्न सकेमा चैतको गर्मीयाममा राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ थियो ।

गर्मी मौसममा सुन्तलाको माग उच्च हुने भएकाले किसानले सेलार स्टोरबाट फाइदा लिन सक्नेछन् । सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उद्देश्यका साथ स्टोर स्थापना गरिएको परियोजना प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

कुशे–५, ७ र ८, छेडागाड–१० र १२ र नलगाड– ३ मा सेलार स्थापना भएका हुन् । यी क्षेत्रमा सबै भन्दाबढी सुन्तला उत्पादन हुने गर्दछ । बेमौसममा पनि सुन्तला तथा अन्य तरकारी बजारमा ल्याई बिक्री वितरण गरी आर्थिक रुपमा सक्षम हुन यो प्रभावकारी हुने परियोजनाको भनाइ छ । सिजनमा सस्तोमा बिक्री हुने तथा कुहिएर खेर जाने समस्याको समाधानका सेलार स्थापना गर्न थालिएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार प्रतिसेलार रू १५ लाख ८५ हजारमा निर्माण गरिएका छन् । यसका लागि परियोजनाले रू १० लाख ३३ हजार तीन सय ३३ र किसानले रू पाँच लाख ६१ हजार छ सय ६७ खर्च गरेका छन् ।

पाँच मेट्रिक टन क्षमता रहेका सेलारमा छ महिनासम्म सुन्तला सुरक्षित राख्न सकिन्छ । विद्युत् पुगेका ठाउँमा विद्युत्बाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाएको परियोजनाका धरम चन्दले जानकारी दिनुभयो ।

परियोजनाका अनुसार किसानको मागअनुसार आगामी वर्ष नयाँ ठाउँमा सेलार स्थापना गर्दै जाने योजना रहेको छ । किसानका खेतबारीमा पुगेर मल प्रयोग गर्ने विधि, काँटछाट तथा औषधि दिनेलगायत प्राविधिक काममा किसानलाई सहयोग गरिरहेको चन्दले बताउनुभयो । सेलार स्थापनाका साथै परियोजनाको सहयोगले व्यवसायिक सुन्तलाखेती गर्न सहज भएको यहाँका किसान बताउँछन् ।

वि.सं.२०८० माघ ८ सोमवार १४:२४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...