काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार चेक सटही तथा आवेदन रकमको तथ्यांकहरु प्रशोधनको अन्तिम काम सकेर लिलामी सेयरको प्रारम्भिक बाँडफाँड सम्पन्न भएको हो ।
प्रारम्भिक बाँडफाँड अनुसार कम्पनीको लिलामी सेयरको कट अफ प्राइस पनि १ रुपैयाँले बढेर १४७ रुपैयाँ आएको जानकारी दिइएको छ ।
यसअघि कट अफ प्राइस १४६ रुपैयाँ आएको जानकारी दिइएको थियो । त्यसैगरी, कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँडमा नपरेको रकम माघ २२ गते सोमबारबाट फिर्ता दिन सुरु गर्ने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
अपर तामाकोशीको लिलामी सेयर भर्दा ७ अर्ब रुपैयाँ बढी जम्मा भएको छ । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् । कम्पनीले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।
जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।
वि.सं.२०८० माघ १८ बिहीवार ११:५३ मा प्रकाशित