सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । बैशाख २१ गते गोलान्जोर गाउँपालिकाको ग्वाल्टार हेल्थपोस्ट परिसरमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ। उक्त अस्पताल भवनको शिलान्यास गोलन्जोर गाउँपालिका प्रमुख शंकरराज बराल, ब्याक टु लाइफका निर्देशक द्वय डिकेन्द्र ढकाल र अच्युत प्रसाद पौडेलले संयुक्त रूपमा गर्नुभएको हो।
ब्याक टु लाइफ इ भि जर्मनी नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको ६ करोड ७६ लाख रुपैंया बराबरको लागतमा अस्पताल निर्माण सुरु गरिएको छ। ब्याक टु लाइफको यस परियोजनाका स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा नामक गैर सरकारी संस्थाका परियोजना ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको ५ सैया अस्पताल भवनको मापदण्ड अनुसार डिजाइन गरिएको छ। निर्माण थालनी गरिएको अस्पताल भवनको निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिएको ब्याक टु लाइफका मेनेजर अनुप पौडेलले जानकारी दिनुभयो।
पालिका प्रमुख बरालले भवन निर्माणपछि उक्त अस्पताललाई आवश्यक पर्ने उपकरण जडान गरी गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण हुने र गाउँपालिकाले अस्पताललाई सन्चालन गर्ने जानकारी गराउनु भयो। पालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले यस अस्पताल भवन सम्पन्न भएपश्चात् यस बिकट क्षेत्रको स्वास्थ्य सेवामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताउनुभयो ।
ब्याक टु लाइफ इ भि जर्मनीको आर्थिक सहयोग तथा समुदाय पद्धति बिकास सेवा सिन्धुली सँगको सहकार्यमा सामुदायिक संरचना निर्माण तथा सवलिकरण परियोजना , अन्तर्गत निर्माण हुन लागेको गोलन्जोर गाउँपालिका अस्पताल गोलन्जोर गाउँपालिका अस्पताल भवन निर्माण व्यवसायीको नाम ए.आर.टि कन्स्ट्रक्सन, भक्तपुरले गर्न लागेको हो । यस परियोजनाको मूल उद्देश्य भनेको विधालय शिक्षामा सुधार ल्याउनु,स्वास्थ्य सेवा प्रवद्र्धन गर्नु ,खानेपानी तथा सरसफाईमा ग्रामीण समुदायको पहुँच पुर्याउनु रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहालले बताउनु भयो ।
यस सामुदायिक संरचना निर्माण तथा सवलिकरण परियोजनाको मुख्य क्रियाकलाप भनेको १ अस्पताल भवन र ३ हेल्थपोष्ट भवन निर्माण तथा उपकरण जडान गर्नु, ५ वटा विधालय भवन निर्माण र फर्निचर प्रधान गर्नु, ६ वटा खानेपानी परियोजना निर्माण गर्नु रहेको छ ।
वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९ मा प्रकाशित