back
NMB ad

लेस्पार पदयात्राः प्रकृति र संस्कृतिले भरिपूर्ण, पर्यटनमा उत्तिकै आकर्षक

Kumari bank ad

गण्डकी । पर्वतको मोदी गाउँपालिका–४ लेस्पारमा मनबहादुर पुनको जिजुवाजेका पालामा बनेको ऐतिहासिक घर छ । घर ठ्याक्कै कुन मितिमा बन्यो त्यसको यकिन तथ्य फेला नपरेपनि जिजुवाजेले घर बनाउने कर्मीलाई दैनिक एक मोहोर ९५ (पैसा) ज्याला तिरेर बनाएको आँफूले बाल्यकालमा नै सुनेको पुनले बताउनुभयो ।

समुद्री सतहबाट एक हजार ९१० मिटरदेखि दुई हजार १९५ मिटर उचाइसम्म फैलिएको यस गाउँमा मनबहादुरकै जस्ता प्राचीनकालमा बनेका सुन्दर ढुङ्गाले छाएका घर देख्न सकिन्छ । ढुङ्गैढुङ्गाले छाएका घर, ढुङ्गा छापिएका चौडा सिँढी–बाटा, सडक बत्तीसँगै सरसफाइमा ध्यान दिइएको हुँदा यहाँ पुग्ने जो कोही फुरुङ्ग हुने गर्छन् ।

गाउँ प्रकृतिमा मात्र नभइ संस्कृतिमा पनि उत्तिकै सम्पन्न रहेको बताउँदै पुनले पछिल्ला वर्षमा गाउँमा लेस्पार सामुदायिक होमस्टेसमेत सञ्चालनमा ल्याइएको बताउनुभयो । मगर समुदायको बाहुल्यता रहेको गाउँमा ९९ प्रतिशत मगर र एक प्रतिशत दलित जातको बसोबास छ ।

लेस्पार पर्वतको सुदूर उत्तर कालाञ्जर(हमपाल) पर्वतको काखमा रहेको सुन्दर बस्ती हो । यस बस्तीको उत्तरमा अन्य कुनै बस्ती छैनन् । पदयात्रा पर्यटनको पनि गन्तव्यस्थल भएका कारण विसं २०७१ देखि निजी घरवास सञ्चालनमा ल्याइएकोमा २०७५ सालपछि गाउँपालिकामा विधिवत् घरवास दर्ता गरी व्यवस्थित रुपमा चलाउन थालिएको छ । यहाँका १२ घरमा घरवास सञ्चालन भएको र ४० शय्या बराबरको पाहुना अट्ने व्यवस्था मिलाइएको लेस्पार सामुदायिक होमस्टेका सचिव नरसिंह पुनले जानकारी दिनुभयो ।

पदयात्राको आकर्षक गन्तव्य यो गाउँ पुग्न विभिन्न पाँच मार्ग रहेका छन् । पहिलो मार्गमा पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा नयाँपुलदेखि देउराली(पूर्ण गाउँ) हुँदै करिब नौ घण्टाको पैदलमार्गबाट लेस्पार पुग्न सकिन्छ । दोस्रो पर्वत पातिचौरदेखि टिमुरे क्याङहुँदै करिब चार घण्टाको पैदल मार्गबाट लेस्पार पुग्न सकिन्छ । सवारी साधनहुँदै जानको लागि पातिचौरदेखि बाजुङ, खुँईजरी, क्याङ हुँदै करिब तीन घण्टामा लेस्पार पुग्न सकिन्छ ।

तेस्रो कुश्मादेखि दुर्लुङबोट, हलहले, मेकसारहुँदै सवारी साधनबाट साढे तीन घण्टाको समयमा लेस्पार पुग्न सकिन्छ । त्यस्तै चौथो मार्ग घोरेपानीबाट पुनहिल, मुहुरे डाँडा, नागी हुँदै १२ घण्टाको पैदलयात्राबाट लेस्पार पुग्न सकिन्छ भने पाँचौँ मार्गका रुपमा घोरपानीबाट पुनहिल, मुहुरेडाँडा, जलजलाहुँदै नौ घण्टाको पैदलयात्राबाट लेस्पार पुग्न सकिन्छ ।

यस क्षेत्रको पदयात्रासँगै यहाँस्थिल पवित्र तीर्थस्थल सहस्रधारा बराह मन्दिरको अवलोकन एवं दर्शन, भीर मौरीको अवलोकन, सबैथरीका गुराँसको अवलोकन, माटेको ढुङ्गा खानी, कालाञ्जर पर्वतको अवलोकन आदि गर्न सकिन्छ ।

घोरेपानी, पुनहिललगायतका पदमार्गसँग जोडिने गाउँ भएकोले लेस्पार पदयात्रा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्य रहेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले बताउनुभयो । “लेस्पार पदयात्रा पर्यटनसँग जोडिएको ऐतिहासिक गाउँ हो, यसको प्रवद्र्धनमा टान पश्चिमाञ्चलले चासो दिएको छ” उहाँले भन्नुभयो, “लेस्पारको प्रवद्र्धनकै लागि हामीले यस वर्षको ७२औँ अन्नपूर्ण आरोहण दिवस लेस्पारमा मनाएका छौँ ।”

पदयात्रा पर्यटन व्यवसायीसँगै सञ्चारकर्मी, जनप्रतिनिधि तथा स्थानीय र सरोकारवाला निकायका प्रतिनिधिसहितको उपस्थितिमा यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि छलफलसमेत बढाइएको उहाँले बताउनुभयो । यहाँ आउने पर्यटकले गाउँबाट नजिकै पर्ने धार्मिक महत्वका सहस्रधारा मन्दिरको अवलोकन एवं दर्शनसँगै पर्वत जिल्लाको एक मात्र सिमसार क्षेत्र जलजलाको अवलोकन गर्न पाउँछन् ।

धार्मिक एवं जैविक विविधताले सम्पन्न कालाञ्जर हमपाल पर्वतको अवलोकन पनि यस क्षेत्रको भ्रमणको अर्को महत्वपूर्ण पक्ष हो । यहाँ आएका पर्यटकले विभिन्न सुगन्धित जडीबुटी, नागवेली पाउडर, लौठ सल्ला, बुँगे सल्ला, चाल्ने सिस्नो, लोक्ता, आदि जडीबुटी प्रत्यक्ष अवलोकन गर्न पाउने बताउँदै पुनले यहाँको जङ्गलमा फागुनदेखि जेठसम्म विभिन्न थरीका फूल तथा सबै थरीका लालिगुराँस अवलोकन गर्न पाइने बताउनुभयो ।

लेस्पार सामुदायिक घरवासमा परम्परागत मगर संस्कृतिमा आधारित गीत तथा नृत्य आदि अवलोकन गर्ने व्यवस्था पनि मिलाइएको छ । लेस्पारको प्रचुर पर्यटकीय सम्भावना रहेको बताउने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा यहाँको प्रकृति, संस्कृतिसँगै पदयात्रा पर्यटनको सम्भावनालाई उजागर गर्नु जरुरी रहेको बताउनुहुन्छ । लेस्पारको पर्यटकीय विकासमा गाउँपालिकाले पूर्णरुपमा साथ र सहयोग गर्ने अध्यक्ष शर्माले बताउनुभयो । रासस

वि.सं.२०७९ जेठ २९ आइतवार १५:३५ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...