back
NMB ad

प्राणहीन अर्थतन्त्र उकास्न सरकारको भूमिका महत्वपूर्ण

Kumari bank ad

प्रा.डा. पुष्पराज कँडेल
पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

राजनीतिले सकारात्मक मोड लिने, पार्टीहरूका बीचमा सहकार्य हुने र पार्टीहरू आम मनोविज्ञानको अपेक्षाअनुसार चल्न थाल्ने हो भने मानिस र समाज सकारात्मक बन्दै जानेछ । त्यसपछि अर्थतन्त्रले पनि क्रमशः सकारात्मक मोड लिँदै जानेछ ।

यतिबेला अर्थतन्त्रको प्राण नै छैन । अहिले बजारका पसल, मलहरू आधाभन्दा बढी भाडामा भन्दै लेखिएको भेटिन्छन् । कतिपय त बन्द भइसकेका छन् । काठमाडौंसहित देशभरका शहरहरूको अवस्था डरलाग्दो देखिन्छ । निर्यात, उत्पादन, रोजगारी, राजश्व, विकास खर्च सबै घटेको छ । बढेको एकमात्र क्षेत्र रेमिट्यान्स हो । रेमिट्यान्सले विदेशी मुद्रा सञ्चितिमा परेको चापबाट उन्मुक्ति दिएको छ । त्यसैमा सरकार दंग परेर बसिरहेको छ । मुख्य गरेर विकास निर्माणका कामहरू शून्य प्रायः छ । आम मनोविज्ञानमा यो देशमा केही गर्न सकिन्छ भन्ने छँदैछैन । रोजगारीका लागि ऊर्जाशील जनशक्ति विदेश पलायन भइरहेका छन् । बेरोजगारमात्र होइन, रोजगार भएका आफ्नै व्यवसाय चलाउने पनि विदेश जान लालयित देखिन्छन् । देशभित्र कुनै भविष्य नदेखेका र केही गर्न सकिन्छ भन्ने विश्वास नहुँदा अहिलेको विकराल अवस्था आएको हो । त्यसैले यसलाई प्राणहीन अर्थतन्त्र भन्नु परेको हो ।

कोभिडपछि अर्थतन्त्र पुनःजागृत हुन सकेन
यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले अर्थतन्त्र गम्भीर संकटमा रहेको स्वीकार गर्दै काम हुन सकेन भनेर मन्त्री फेर्ने कुरा गरिरहनुभएको छ । पटक–पटक समिति गठन गरेर अध्ययन गराउँछु भन्नुहुन्छ । आफू प्रधानमन्त्री हुनुभन्दा अगाडि अर्थतन्त्र समस्यामा थियो तर अहिले ठीक भएको छ पनि भन्नु हुन्छ । भित्री हृदयमा प्रधानमन्त्री स्वयंलाई अर्थतन्त्र समस्यामा छ भन्ने महसुस भइरहेको छ । त्यसैले अरु व्यक्तिले यही कुरा भन्नु आश्चर्य रहेन ।

वास्तवमा भन्नुपर्दा कोभिडपछि नेपालको अर्थतन्त्र पुनःजागृत भएकै छैन । समस्याबाट केही निकास पाउला कि भन्ने चरणमा नयाँ सरकार परिवर्तन भयो । नयाँ गठबन्धन सरकारले पदबहाली गरेको एक वर्ष बितेको छ । बहुरुपी अर्थमन्त्री छन् । मन्त्रीले दिनैपिच्छे फरक–फरक कुरा बोल्दै हिँडेका छन् । अर्थमन्त्री र प्रधानमन्त्रीमा हुनुपर्ने गाम्भीर्यता देखिएको छैन । देशको प्रधानमन्त्री नै आफ्नो जिम्मेवारी बिर्सेर आग्रहमा चलिरहेका छन् । सरकारको मूल मुद्दा अर्थतन्त्रमा नदेखिनु नै समस्या हो ।

बजारमा मन्दीको अवस्था ल्याउने सरकार
अहिले जति पनि समस्या देखिएका छन्, त्यसलाई सम्बोधन गर्ने जिम्मा सरकारको हो । निजी क्षेत्र त सरकारको सहयोगीमात्रै हो । यहाँ तिनखम्बे अर्थनीति भनिए पनि सहकारीको भूमिका एकदमै न्यून छ । कतिपय सहकारी संस्थाहरू आफैं समस्यामा छन् । निजी क्षेत्रमा उत्साह छैन । निजी क्षेत्र र लगानीकर्ताको मनोबल उकासिदिने हो भने मात्रै पनि लगानी बढ्दछ । लगानी बढ्यो भने रोजगारी सिर्जना हुनेछ । यो सँगै उत्पादन, व्यापार, निर्यात, राजश्व, खर्च बढ्दछ । विकास निर्माणका कामहरू हुनेछ । सामाजिक र आर्थिक मनोविज्ञान सकारात्मक भएर जानेछ । तर मानिसको मनोबल नकारात्मक हुँदै गएको छ । यही कारण अर्थतन्त्र पनि थप कमजोर हुँदै गएको छ ।

यतिबेला बजारमा मन्दीको अवस्था छ । यो स्थिति आउनुको मूल कारण सरकार नै हो । यो सामान्य अवस्थामा बनेको सरकार होइन । सरकार सेटिङबाट चलेको छ । सामान्य हिसाबले हुन्थ्यो भने सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्दथ्यो । जनमतको हिसाबले भन्ने हो भने नेकपा एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने थियो । त्यो नभएर १०÷११ प्रतिशतमात्र मत पाएको दलले सरकार नेतृत्व सम्हाल्न पुग्दा बाँकी रहेका ९० प्रतिशत मानिसलाई उत्प्रेरित गर्न सकिरहेको छैन । सरकारले भनेको कुरा विश्वास गर्ने अवस्था मानिसमा रहेन । सेटिङका आधारमा बहुमत त पुगेको छ तर सरकारले आम मनोविज्ञान सिर्जना गर्नै सकेको छैन । त्यसैगरी सरकारले भनेको कुरा कसैले पत्याइरहेको छैन । प्रधानमन्त्री र मन्त्रीहरूप्रति अधिकांशको विश्वास हुन सकेन । सरकारले गर्न खोजेको विषय पनि कसैलाई थाहा भएन । प्रधानमन्त्री स्वयंले जिम्मेवारी पूरा गर्नभन्दा पुराना तुषहरूलाई समाधान गर्न खोजेको जस्तो देखिँदा समस्या बढ्दै गएको हो ।

सरकारमा विश्वासिलो पात्रको नेतृत्व आवश्यक
वास्तवमा एउटा व्यक्तिले केही गर्ने वा नगर्ने भन्ने हुँदैन । मूल कुरा राजनीति हो । नीतिमा पनि उच्च नीति भएर यसलाई राजनीति भनिएको हो । यहाँ राजनीतिले सकारात्मक मोड लिने, पार्टीहरूका बीचमा सहकार्य हुने र पार्टीहरू आम मनोविज्ञानको अपेक्षाअनुसार चल्न थाल्ने हो भने मानिस र समाज सकारात्मक बन्दै जानेछ । त्यसपछि अर्थतन्त्रले पनि क्रमशः सकारात्मक मोड लिँदै जानेछ । होइन भने सोचेजस्तो हुन सक्दैन ।

यतिबेला नेपाल मन्दीमा पुग्नुपर्ने स्थिति के छ भनेर प्रश्न गर्नुपर्ने समय भएको छ । कोभिडबाट मुक्त भइसकेको अवस्था छ । छिमेकी देश भारतमा ५÷६ प्रतिशतको आर्थिक वृद्धिदर छ । चीनमा ६/७ प्रतिशत वृद्धिको अनुमान गरिएको छ । भुटानको पनि ६÷७ प्रतिशत वृद्धिदरको अपेक्षा छ । माल्दिभ्स र बंगलादेशको वृद्धि राम्रो हुने र श्रीलंका पनि विस्तारै माथितिर जाने अवस्था छ तर नेपालमा मात्रै मन्दी हुनुपर्ने कारण के हो भनेर सबैभन्दा पहिला खोज्नुपर्दछ । युरोपमा रुस–युक्रेन युद्धका कारण समस्या छ । इजरायल युद्धका कारण अन्त पनि केही समस्याहरू छन् । तर यस्तो नैराश्यताको स्थिति नेपालमा हुनुपर्ने कारण थिएन ।

मूलरुपमा राजनीति बिग्रियो । राजनीति ठीक ट्रयाकमा चल्ने थियो भने यस्तो हुने थिएन । सत्ता हाँकिरहेको छु भन्ने प्रधानमन्त्रीले सबैभन्दा पहिला यस विषयलाई बुझ्नुपर्दछ । सबैलाई विश्वास जगाएर नेपाललाई अगाडि बढाउने हो भने प्रधानमन्त्री पुष्पकमल दाहालले छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्नुपर्ने देखिन्छ । उहाँ सत्तामा रहुञ्जेल अर्थतन्त्रको स्थिति यस्तै नै रहिरहनेछ । माथि जान सक्दैन । अर्थतन्त्र माथि जान समग्र सामाजिक मनोविज्ञान नै बढेर जानुपर्दछ । इमान्दार मानिसको नेतृत्वमा देश गयो भने त्यसले सकारात्मक मनोविज्ञान निर्माण गर्नेछ । विश्वासिलो र पत्याएको व्यक्ति सत्तामा भए भनेमात्रै काम हुनेछ होइन भने नपत्याएको व्यक्तिले जतिसुकै गफ लगाए पनि केही हुने छाँटकाँट देखिन्न ।

अर्थतन्त्र उकास्न हुनुपर्ने प्राथमिकता
अहिले पार्टीहरू बीचमा पनि मनोवैज्ञानिक एकता हुनु आवश्यक छ । दलहरूबीच बिग्रिएको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाऊँ भन्ने विषयमा सहकार्य हुनुपर्ने देखिन्छ । पार्टीहरूबीचमा यस किसिमको सहकार्य भएमा आम माहोल सकारात्मक बन्नेछ । यसले जनता, पार्टीका कार्यकर्ता, उद्योगी, व्यवसायी, अन्तर्राष्ट्रिय दाताहरूको मनोविज्ञान बढेर जानेछ । सबैतिर सकारात्मक वातावरण निर्माण हुनेछ । मनोविज्ञान सकारात्मक भएर सरकारले थोरै मात्रै सहयोग गरेर अगाडि बढाउन उत्प्रेरित गर्ने र प्रोत्साहन प्याकेजहरू दिने हो भने अर्थतन्त्र आफैं सकारात्मक बाटोमा हिँड्न सक्दछ । यसले गुणात्मक रुपमा सकारात्मक प्रभाव पर्नेछ । एक अर्काेलाई निषेधभन्दा पनि मूलतः सकारात्मक, सहयोगात्मक हिसाबले दलहरू अगाडि बढेमा अर्थतन्त्रलाई फाइदा पुग्नेछ । यी सबैका लागि पनि जनताले पत्याएको पार्टी र जनताले पत्याएको नेताको नेतृत्वमा सत्ता सञ्चालन हुनुपर्ने आवश्यकता देखिन्छ ।

के आर्थिक विषयमा दलहरू एक हुन सक्दछन् ?
यथार्थमा आर्थिक विषयमा दलहरू एक हुन सक्दैनन् । आर्थिक विषय नै मूलतः पार्टीहरूले आ–आफ्ना अस्तित्व सिर्जना गर्ने आधार हुन् । विभिन्न विचार लिएका पार्टीहरूको विचारलाई बलियो बनाउने आधार नै आर्थिक विषय हो । त्यसकारण आर्थिक विषयका सबै कुरामा सहकार्य हुन्छ वा एउटै हुन्छ भन्न सकिँदैन । जस्तै दक्षिणपन्थी र वामपन्थी पार्टीको फरक फरक विचार हुने गर्दछन् । वामपन्थीले बढी क्रान्तिकारी भएर समानताका कुरा गर्दछ । दक्षिणपन्थीले समाजमा भएका विभेदलाई यथास्थितिमा कायम राख्ने कुरा गर्दछ । त्यसैले सबै आर्थिक विषयमा मिलेर जान सक्ने कुरा हुँदैन तर पनि देश र जनताको हितका खातिर मूल आर्थिक मुद्दाहरू उत्पादन वृद्धि, रोजगारी सिर्जना, मन्दीलाई तोड्ने, अन्तर्राष्ट्रिय विषयलगायतमा न्यूनतम सहकार्य गरेर जान सकिन्छ । विकास निर्माणका काममा न्यूनतम साझा सहमति गरेर जान सकिन्छ । कतिपय अवस्थामा सरकारले गर्ने काममा पनि दलहरूबीच न्यूनतम सहकार्य आवश्यक छ ।

योजना आयोगको प्रभावकारिता र औचित्य
यतिबेला सरकारले प्रभावकारी काम गर्न नसक्दा योजना आयोगको पनि प्रभावकारिता नभएको जस्तो देखिएको छ । सरकारले सही दिशा समात्न नसक्दा आयोगले पनि काम गर्न सक्ने अवस्था रहेन । दोस्रो पाटो करिब १० वर्षयता योजना आयोगलाई कमजोर पार्ने काम भइरहेको छ । हिजोका दिनमा बजेट विनियोजनका कुराहरू योजना आयोगले गर्दथ्यो । अहिले संघीयता छ । तीन तहको सरकार छ । आ–आफ्नो तहमा काम हुने गर्दछ । संघीय तहमा पनि केही राष्ट्रिय आयोजनाबाहेक अन्यमा स्रोतहरूको बाँडफाँड गर्ने काम अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयले गर्ने गर्दछन् । यसैकारण हरेक वर्ष हजारौं हजार कार्यक्रम, परियोजना थपिँदै जाने र परियोजनामा विनियोजित रकम थोरै थोरै हुँदै जाँदा अधुरा आयोजनाको संख्या बढेर लाखौंमा पुगेको छ । त्यतिमात्रै होइन, योजना आयोगले पनि आफ्नो भूमिका सही रुपमा निर्वाह गरेको छैन । गलत प्रयोग गरिरहेको छ ।

कतिपय योजनाहरू टाइपिष्टले समेत राख्ने कार्य गर्दा पनि समस्या देखियो । आयोगले आफ्नो गरिमालाई जोगाइराख्न सकेन । त्यसैलाई निहुँ बनाएर पछिल्लो चरण योजना आयोग चाहिँदै चाहिँदैन भन्ने खालको विचारहरू पनि सार्वजनिक भइरहेका देखिन्छन् । विशेष गरेर दक्षिणपन्थीहरूले भारतमा नीति आयोग बन्यो र त्यसले नीति बनाउनेमात्रै काम गर्दछ भन्ने अर्थ लगाउनेहरू पनि देखिए । त्यहाँ योजना आयोगको नाममात्रै फेरिएको हो । छोटकरी नाम बनाएको यहाँका महाबुझक्कडहरूले बुझ्न सकेनन् । त्यस्ता व्यक्तिहरूले योजना आयोगलाई कमजोर बनाउन भूमिका खेलिरहेका छन् । अब आयोग आफैंले पनि पहलकदमी लिएर आयोगका अध्यक्ष प्रधानमन्त्रीलाई बुझाउने र नीतिगत कुरामा केही सुधार गरेर अगाडि जान सक्नुपर्दछ ।

अर्थ मन्त्रालय एवं अरु सम्बन्धित मन्त्रालयले मात्रै आयोजना र कार्यक्रम निर्धारण गर्ने प्रक्रियामा सुधार नभएसम्म र योजना आयोगलाई पनि त्यसमा समावेश गर्ने व्यवस्था नहुँदासम्म दिनदिनै कमजोर बन्ने देखिन्छ । दश वर्षअगाडि सबै योजना आयोगले नै बनाउने गर्दथ्यो । २०७० देखि यता रातो किताब दोस्रो भाग मन्त्रालयहरूलाई हस्तान्तरण गरेदेखि योजना आयोग श्री हराएको संस्थाजस्तो भएको छ ।

राष्ट्रिय गौरवका आयोजना
सबैभन्दा पहिला सरकारले काम गर्नका लागि सबैलाई आदेश दिन सक्नुपर्दछ । राष्ट्रिय गौरवका आयोजना हेर्ने सम्बन्धित मन्त्रीहरू छन् । सचिव, सहसचिवदेखि आयोजना निर्देशकहरूले काम गर्नेलाई पर्याप्त मात्रामा साधनस्रोत उपलब्ध गराइदिनुपर्दछ । ठेकेदारलाई पैसा नदिने अनि छिटो काम गर्नुपर्दछ भन्दैमा सम्पन्न हुन सक्दैन । नेकपा एमालेले हालै मध्यपहाडी लोकमार्गको स्थलगत अध्ययन अवलोकन ग¥यो । कहीँ पनि निर्माणको काम भएको देखिएन । ठेकेदारलाई पैसा नदिएको कारण काम हुन नसकेको भेटियो । त्यसैले काम गर्ने ठेकेदारलाई समयमै पैसा दिनुपर्दछ र स्रोत साधन दिएर अनुगमनको कामलाई बलियो बनाउनुपर्दछ । यहाँ अनुगमनको कामलाई योजना आयोगले प्रभावकारी बनाउन सक्दछ । सरकारले यस कार्यमा आयोगलाई प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । कर्मचारीतन्त्रलाई विश्वास गर्नुपर्दछ र काम गर्न प्रोत्साहित गर्दै जानुपर्दछ । सबै विषय उपलब्ध गराएर समयमै गुणस्तरीय काम सक्न दबाब पनि दिनुपर्दछ । समग्रमा कर्मचारीतन्त्र, ठेकेदार र सरोकारवाला निकायलाई उत्प्रेरित गर्दै विश्वासमा लिएर काम गर्न सक्नुपर्दछ । निजी क्षेत्रलाई पालनपोषण गर्दै ठीक ट्रयाकमा हिँडाएर लैजानुपर्ने देखिन्छ । भनेअनुसार काम नगर्नेलाई भने कारबाही गर्ने परिपाटी बसाल्नुपर्दछ ।

निजी क्षेत्रको खस्केको मनोबल बढाउनुपर्ने
वास्तवमा केही न केही असन्तुष्टि सबैतिर हुने गर्दछ । निजी क्षेत्रलाई पनि समग्ररुपमा एउटै हिसाबले लिन सकिन्न । उत्पादनमा लाग्ने उद्योगी र व्यापारमा लाग्ने व्यापारीका लागि लिइने नीति ठ्याक्कै उल्टो हुन पुग्दछ । यहाँ दुवै निजी क्षेत्र भए पनि सीएनआई र चेम्बर अफ कमर्सको धारणा ठीक विपरित पाइन्छ । चेम्बरले आयातमा प्रोत्साहन गनुपर्दछ भन्छ भने सीएनआईले आयातलाई निरुत्साहित गरिदिनुपर्दछ भन्छ । एउटाले भन्सार दर घटाउने भन्छ भने अर्काेले बढाउनुपर्दछ ।

खासगरी व्यापारभन्दा पनि उद्योगधन्दाको विकास गर्ने कुरामा जोड दिनुपर्दछ । यसले उत्पादन बढाउँछ, रोजगारी सिर्जना गर्दछ । आत्मनिर्भरतातर्फ डो¥याउँछ र आयात प्रतिस्थापनमा सहयोग गर्दछ । त्यसका लागि पनि निजी क्षेत्रसँग सहकार्य गरेर जानुपर्दछ । अहिले सुशासनका कुरा पनि त्यत्तिकै आइरहेको छ । घूस नदिईकन कहीँ केही पनि हुँदैन भनेर जनगुनासो सुनिन्छ । त्यो पाटोलाई अलि ध्यान दिनुपर्ने देखिन्छ । निजी क्षेत्रमा पनि गलत गर्नेले प्रोत्साहन पाउने र सही काम गर्ने दण्डित हुनुपर्ने अवस्था छ भनेर आमगुनासो छ । त्यसमा सुधार हुनुपर्दछ । निजी क्षेत्रको मनोबल बढाएर विश्वासको वातावरण सिर्जना गर्नै पर्दछ । उनीहरूका जायज समस्याहरूलाई सम्बोधन गरिदिनुपर्दछ । यदि निजी क्षेत्रले पनि अनावश्यक काम गरेका छन् भने कारबाही गर्नुपर्दछ । नियमन गर्ने कुरामा पछाडि पर्नु हुँदैन । समग्रमा अब केही हुन्छ भन्ने मनोभावना वा आत्मबल सरकारले सिर्जना गरिदिनुपर्दछ ।

अहिले अर्थतन्त्र छिटो सकारात्मक लयमा आओस् भन्ने सबैको चाहना छ । सबैभन्दा ठूलो कुरा देश र राष्ट्र हो । जिम्मेवारी अर्काे ठूलो कुरा हो । सत्तामा पुग्नेहरू फेरिरहन्छन् । त्यो ठूलो कुरा होइन । जो कोही पनि केही गर्न सक्ने भएमात्रै सत्तामा बस्नुपर्दछ । केही गर्न सकिन्न भने सत्ताबाट बाहिरिनु उचित हुनेछ । सबैतिर अहिलेको सरकारले केही गर्ला भन्ने लाग्न छोडेको छ । यही सरकारले हिजोका दिनमा दुई÷तीन पटकसम्म न्यूनतम साझा कार्यक्रम ल्याएको थियो तर त्यो कहाँ गयो सरकारलाई नै पत्तो छैन । १५ औं योजना बनाइयो तर सरकारले त्यसको कार्यान्वयनमा ध्यानै दिएन । सोह्रौं योजना बनाउने तयारी छ । १५ औं योजनाले एउटा कुरा भनेको थियो । सोह्रो योजनाले अर्कै कुरा बनाउने भन्दछ । १६ औं योजना बनाएपछि विस्तारै यो सरकार पनि सत्ताबाट बाहिर जानेछ ।

अर्काे सरकारको आगमन हुनेछ । अर्काे सरकार आएपछि सोह्रौं योजना पनि बेबारिस बन्दछ । अब योजनाहरू बेबारिसे बनाउने कुराको अन्त्य गर्नुपर्दछ । यसमा सुधार ल्याउन कानुनको जस्तै गरी हाम्रा योजनाहरूलाई संसद्ले पास गर्ने व्यवस्था गरिनुपर्दछ । राजनीतिक अस्थिरता भएका ठाउँमा सरकारले आवधिक योजना बनाउने अनि सरकार परिवर्तन हुने र त्यो बेबारिस वा टुहुरो हुने अवस्था छ । सरकार परिवर्तन भए पनि त्यसलाई आत्मसाथ गरेर जानुपर्ने बनाउनुपर्दछ ।

संसद्ले पास गरेमा जुन सरकार आए पनि भएका योजनालाई आत्मसाथ गरेर लैजाने अवस्था बन्नेछ । अपनत्व लिने स्थिति बन्न सक्दछ । अनावश्यक परियोजनाहरूको चाङ लागिरहेको अहिलेको अवस्थालाई पनि यसले नियन्त्रण गर्न सक्दछ । दल, सत्ता जसको भए पनि र जो आए पनि आर्थिक योजना पाँच वर्षभरि नै कार्यान्वयनमा जान सक्नेछ । त्यसैगरी अर्काे आवधिक योजना ल्याउँदा त्यसलाई कार्यान्वयन गर्नका लागि बनाउने बेलामा नै सतर्क हुने स्थिति आउनेछ । जसले जे मन लाग्यो त्यही योजना राख्ने अवस्था पनि अन्त्य हुनेछ । प्रतिपक्षी दलको पनि साथ लिएर योजना राख्नुपर्ने स्थिति आउनेछ र आर्थिक सुधारमा सहयोग पुग्नेछ । (इमान जर्नलबाट साभार )

वि.सं.२०८० फागुन ७ सोमवार ०७:१४ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:२५

काठमाडौँ, २८ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...