back
NMB ad

अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी   

Kumari bank ad

फिक्कल (इलाम), १४ चैत : पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो ।
किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ ।

इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष अदुवा बेचेर रू १२ लाख आम्दानी गर्नुभयो । अदुवा (बच्चा) प्रतिमन (४० किलो) रू आठ हजारका दरले एक सय ५० मन बेच्नुभएको थियो ।

“गत वर्ष अदुवाको मूल्य राम्रो पाइयो, त्यसैले आम्दानी पनि मनग्य भयो”, उहाँले रासससँग भन्नुभयो, “अदुवाको बजार र माग प्रशस्त भएकाले बिक्री गर्न समस्या छैन ।” उहाँले गत वर्ष १० रोपनी जमिनमा अदुवाखेती गर्दा दुई सय १० मन उत्पादन भएको जानकारी दिनुभयो ।

करिब ६० मन बीउका लागि राखेर एक सय ५० मन बिक्री गरेको लिम्बूले बताउनुभयो । यस वर्ष पनि खेती विस्तार गरेकाले उत्पादन पनि वृद्धि भएको उहाँको भनाइ छ । पन्ध्र रोपनीमा ६० मन बीउ राप्दा करिब तीन सय ५० मन उत्पादन भएको उहाँले बताउनुभयो ।

“यस वर्ष तीन सय ५० मन उत्पादन भएको छ । अहिलेसम्म बिक्री भने गरेको छैन”, लिम्बूले भन्नुभयो, “अझ भाउ बढ्ने आशामा नबेची राखेको छु, गत वर्षकै भाउ चल्यो भने रू २८ लाख हाराहारी आम्दानी हुनेछ ।”

उहाँले अदुवा बिक्रीबाट आएको आम्दानीले आफ्नो दैनिक घरव्यवहार खर्चका साथै छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्दै आएको बताउनुभयो । “पाँचजना परिवारको घरखर्च र छोराछोरीको पढाइ यहीँ अदुवाखेतीले धानेको छ”, उहाँले भन्नुभयो ।

फुएतप्पाकै किसान रामु गिरीले अदुवाखेतीबाट वार्षिक रू १२ लाख आम्दानी गर्दै आएको बताउनुभयो । एक सय ५० देखि दुई सय मनसम्म अदुवा उत्पादन गर्दै आउनुभएका गिरीले पछिल्लो समय भाउ राम्रो आएकाले आम्दानी बढेको बताउनुभयो । “विगत तीन वर्षयता अदुवाले भाउ राम्रै पाइरहेको छ,” उहाँले भन्नुभयो, “यही भाउ स्थिर रहिरहने हो भने किसानको आम्दानीको मुख्य स्रोत अदुवा बन्न सक्छ ।”

माङसेबुङ गाउँपालिका–२ का उदय सङबाङफेले यस वर्ष अदुवा बेचेर रू तीन लाख ३३ हजार हात परेको बताउनुभयो । पछिल्लो वर्ष व्यावसायिक अदुवाखेती गर्दै आउनुभएका उहाँले अदुवाको बजार र माग राम्रो भएकाले विदेश जान छोडेर व्यावसायिक अदुवाखेतीमा जुटेको बताउनुभयो ।

यस वर्ष मुख्य उत्पादनको सुरुदेखि नै अदुवाले राम्रो भाउ पाएपछि किसान उत्साहित भएका छन् । जिल्लामा उत्पादित अदुवा झापाको धुलाबारीमा अहिले प्रतिमन रू सात हजारदेखि रू आठ हजार सम्ममा बिक्री भइरहेको छ ।

इलाममा प्रतिमन रू छ हजारको दरमा किनबेच भइरहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले बताउनुभयो । “अहिले यहाँ अदुवाको सरदर मूल्य रू छ हजार छ । यो मूल्य विगत तीन वर्षकै उच्च हो,” उहाँले भन्नुभयो, “सिजनको अन्त्यमा सधैँ नै भाउ राम्रो आउँछ, यो वर्ष पनि बढ्न सक्छ । भाउ बढेपछि किसान अदुवाखेतीप्रति आकर्षित हुन थालेका छन् ।”

जिल्लाका किसानले १० मनदेखि दुई सय मनसम्म अदुवा रोप्ने गरेका छन् । अदुवा बढी उत्पादन हुने क्षेत्रका किसानले धान र अन्य खेती छाडेर यसलाई बढाएका पौडेलको भनाइ छन् । अरू खेतीको दाँजोमा अदुवाखेतीबाट नाफा बढी हुने भएकाले किसान यसप्रति आकर्षित भएका उहाँले बताउनुभयो ।

माउ अदुवाको मुख्य उत्पादन कात्तिकको पहिलो सातादेखि सुरु हुन्छ । मुख्य उत्पादनको बिक्री जेठसम्म हुने गर्दछ । जिल्लाको व्यापारिक केन्द्रहरु इलामसँगै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, फिक्कल, पशुपतिनगर, तीनघरे, बोल्बुङ, हर्कटे, दानाबारीलगायत बजारमा बढी मात्रामा अदुवा किनबेच हुने गर्दछ ।

जिल्लाको मुख्य नगदेबालीका रुपमा गरिने अदुवाखेती इलामका प्रायः सबै पालिकाका किसानले गर्दै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । समुद्र समतबाट नौ सयबाट एक हजार पाँच सय मिटरसम्म अदुवाखेती गर्न उपयुक्त मानिने केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले बताउनुभयो । उहाँका अनुसार यहाँका किसानले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्ने गरेका छन् ।

इलाममा तीन हजार दुई सय २५ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवाखेती हुँदै आएको केन्द्रका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष जिल्लामा ५० हजार नौ सय ५५ मेट्रिक टन अदुवा उत्पादन भएको केन्द्रसँग तथ्याङ्क छ ।

मसलाका रुपमा प्रयोगमा आउने यसको खपत पूर्णरुपमा भारतीय बजारमा हुने गरेको छ । पूर्वी नाका काँकडभिट्टा हुँदै भारत पश्चिम बङ्गालको नकसल पु¥याएर व्यापारीहरुले अदुवा बेच्ने गरेका छन् । अदुवाको मूल्य बढेसँगै गाउँगाउँमा पुगेर किन्ने व्यापारी बढेका छन् । ती साना व्यापारीहरुले गाउँमा नै गएर किनेको अदुवा जिल्लाको ठूला व्यापारीमार्फत झापाको धुलाबारी पु¥याएर बेच्ने गरेका किसान बताउँछन् ।

वि.सं.२०८० चैत १४ बुधवार १२:४६ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...