काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बेचेर उठेको गत वर्षको नाफाबाट १ सय १० करोड रुपैयाँभन्दा बढी बोनस रकम बाँड्ने भएको छ । ऋणबाट मुक्त भएकै वर्ष निगमले झण्डै १ अर्ब १४ करोड रुपैयाँभन्दा बढी रकम निगमका कर्मचारीलाई बोनसका रुपमा छुट्याइएको स्रोतले बतायो ।
निगमले गत वर्ष ९० करोड रुपैयाँ बोनसका रुपमा छुट्याइएको थियो । त्यो बाँड्न बाँकी नै छ । आपूर्ति र अर्थ मन्त्रालयले ऋण नतिरी बोनस नबाँड्न भनेपछि बोनस रकम त्यत्तिकै थन्किएको थियो । योसँगै अब आयल निगममा झण्डै २ अर्ब रकम बोनसका रुपमा जम्मा भएको छ ।
निगममा अहिले ४ सय २२ जना स्थायी कर्मचारी छन् । करार र ज्यालादारीमा पनि निगममा थुप्रै कर्मचारी भर्ती भएका छन् । छुट्टिएको रकमलाई आधार मान्दा प्रति कर्मचारी मासिक झण्डै डेढ लाख रुपैयाँ बोनसबापत छुट्टिने देखिन्छ ।
७ माघ २०७३, १२।००
वि.सं.२०७३ माघ ७ शुक्रवार १२:२५ मा प्रकाशित