काठमाडौं । न्यून तलब सुविधामा काम गर्दै आएका सामुदायिक विद्यालयका बाल विकास शिक्षक र कर्मचारीलाई झापाका दुइटा पालिकाले श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक दिने निर्णय गरेका छन ।
मासिक ६ हजार रुपैयाँ मात्रै पाउँदै आएका बाल विकास शिक्षक तथा कर्मचारीलाई बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकाले न्यूनतम पारिश्रमिक मासिक साढे १३ हजार रुपैयाँ दिने निर्णय गरेका हुन । दुवै पालिकाले गत साउन १ देखि लागू हुने गरी उक्त निर्णय गरेका हुन ।
‘सरकारले श्रम ऐन लागू गरिसकेको छ । ऐनअनुसार न्यूनतम पारिश्रमिक दिन सरकारले सबै उद्योग, प्रतिष्ठानमा दबाब पनि दिइरहेको छ,’ हल्दिबारीका उपाध्यक्ष डम्बर गिरीले भन्नुभयोे, ‘हामी पनि एउटा सरकार हौं । श्रम ऐन हामीले पनि त कार्यान्वयन गर्नुपर्छ ।’
हल्दिबारीमा बाल विकास शिक्षक ३४, विद्यालय सहयोगी १९ र कर्मचारी ६ गरी ५९ जनाको तलब वृद्धि गरिएको छ । उनीहरू सबैको न्यूनतम तलब १३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।
२०७६ असोज ०५ गते प्रकाशित
वि.सं.२०७६ असोज ५ आइतवार १०:०४ मा प्रकाशित