काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकले जारी गर्ने एलसी (प्रतीतपत्र) लाई सरकारले निगरानी गरिहेको बताएका छन् । सोमबार सम्पन्न नेपाल चेम्बर अफ कमर्सको ७०औं वर्ष प्रवेश विशेष कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय बैंकले कम दरमा एलसी खोल्न थालेपछि त्यसलाई छानबिनको दायरामा ल्याउने बताए । अहिले बैंकले एकसय रुपैयाँको सामान आयात गर्दा ४० रुपैयाँमा एलसी खोलिरहेको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले भने, ‘यो एक किसिमको ठगी हो यस्ता बैंकलाई तत्काल छानबिन गरी कारबाही गर्नेछौं ।’ यसैगरी, उनले बैंकलाई यस विषयमा तत्काल सजक रहन समेत निर्देशन दिए ।
उनले व्यवसायीलाई निर्यातमा आधारित अर्थतन्त्र निर्माण गर्नमा जोड दिन सुझाव दिए । उनले व्यवसायीसँग हरेक क्षेत्रमा कानुन निर्माणदेखि सदाचारीसँग सम्बन्धित विषयमासाथ दिइरहेको बताए ।
उनले त्यसैका लागि सरकारले व्यवसायीलाई सहज वातावरण बनाउन प्यान, भीसीटीएसलगायतका सुविधा ल्याइएको जानकारी गराए । उनले पछिल्लो समय अनुदानको विषयमा व्यवसायीबीच नै कुरा नमिलेको र केमा छुट दिनुपर्ने हो त्यो निर्णय गरेर आउनसमेत व्यवसायीलाई आग्रह गरे ।
यसैगरी, उनले व्यावसायिक वातावरण नबिग्रिएको र व्यवसायी नचाहिँदो कुरामा डराएको बताए । उनले नेपाली उत्पादनलाई विदेश निर्यातको सहजीकरणका लागि विभिन्न भाषामा लेवलिङ गर्न लागेको समेत बताए ।
उनले गल्ती नगरे सम्पति शुद्धीकरण र राजस्व अनुसन्धान विभागसँग डराउनै नपर्ने बताए । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रयत्नशील रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशमा आर्थिक समृद्धि ल्याउनका लागि उद्योगी व्यवसायीसँग हातेमालो गरेर अघि बढ्न सरकारलाई आग्रह गरे । उनले देशको निर्यात व्यापार वृद्धि गर्न निर्यातमा दिइने अनुदान बढाउनु पर्ने बताए ।
२०७६ पुस २९ गते प्रकाशित
वि.सं.२०७६ पुस २९ मंगलवार १०:१९ मा प्रकाशित