back
NMB ad

‘निजामती सेवा विधेयक’ पारित : यी हुन् थपिएका नयाँ व्यवस्थाहरु !

Kumari bank ad

काठमाडौं । करिब डेढ वर्षपछि सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ । विभागीय मन्त्रीको असन्तुष्टिबीच विधेयक बहुमतबाट पारित भएको हो ।

विधेयकका केही प्रावधानमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले असहमति जनाउनुभएको छ । यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही सांसदहरूको पनि केही प्रावधानमा असहमति छ । सत्तारुढ दलकै सांसदको असहमतिबीच विधेयक समितिबाट पारित भएको हो ।

सङ्घीय निजामती सेवा गठनसम्बन्धी विधेयक पारित नहुँदा प्रदेश निजामती सेवा गठन हुनबाट रोकिएको छ । सङ्घीय संरचनामा मुलुक गइसकेपछि सङ्घले समयमा कानुन निर्माण नगर्दा प्रदेशले आफ्ना कानुन तय गर्न पाएका छैनन् । कतिपय प्रदेशले विधेयक पारित गरेपछि सङ्घीय कानुन नबनेका कारण कार्यान्वयनमा लैजान सकेका छैनन् ।

सोमबार विधेयक पारितका क्रममा सत्तारुढ दलभित्र दुई पूर्वपार्टीको खेमा स्पष्ट विभाजन भएको छ । सभापति शशी श्रेष्ठले विधेयक निर्णयार्थ पेस गर्दा पूर्वमाओवादी निकट सदस्यहरूले साथ दिएका छन् । पूर्वएमाले निकट सदस्यहरूले भने केही विषयमा असन्तुष्टि जनाउँदै पारित प्रक्रियामा समेत प्रश्न उठाएका छन् । तर असन्तुष्टिका बीच बहुमतीय प्रक्रियाबाट विधेयक पारित भएको हो ।

के-के थपिए नयाँ व्यवस्था ?

समितिबाट पारित प्रतिवेदनअनुसार अब स्वास्थ्य सेवा औपचारिक रूपमा निजामती सेवासम्बन्धी कानुनभित्र प्रवेश पाएको छ । निजामती सेवाभित्र ११ सेवा समूह रहनेछन् । यसअघि स्वास्थ्य सेवा फरक ऐनबाट निर्देशित थियो । यस्तै समितिले राजपत्राङ्कित विशिष्ट श्रेणीमा परराष्ट्र, न्याय र नेपाल लेखापरीक्षणबाहेक अन्यमा सेवा समूह नरहने व्यवस्था गरेको छ ।

तर कुनै कारणले विशेष जिम्मेवारी दिनुपरेमा परराष्ट्र समूहका विशिष्ट श्रेणीका कर्मचारीलाई अन्य र अन्य समूहकालाई परराष्ट्र सेवामा खटाउन सकिने व्यवस्था प्रतिवेदनमा गरिएको छ ।

यस्तै, प्रतिवेदनमा प्रस्तावित कानुन कार्यान्वयनको पाँच वर्षभित्र श्रेणीगत वा तहगतमध्ये एक प्रणाली अवलम्बन हुने व्यवस्था छ । पहिलोपटक कार्यसम्पादन सम्झौताको व्यवस्थालाई कानुनमा नै समेट्ने गरी विधेयक परिमार्जन भएको छ ।

प्रस्ताव अनुसार मन्त्री र सचिव, सचिव र विशिष्ट श्रेणीका अधिकृत तथा विभागीय प्रमुखसँग सम्झौता हुनेछ । सबै तहका कर्मचारीको कार्यसम्पादन सम्झौता हुनेछ ।

विधेयकको प्रतिवेदनअनुसार निजामती सेवाका सबै श्रेणीको आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हटाइएको छ । खुला, अन्तर तह र बढुवाको व्यवस्था मात्र यथावत छ । समावेशी रूपमा हुने पदपूर्तिको प्रतिशत परिवर्तन भएको छ ।

अब ५१ प्रतिशत खुला र ४९ प्रतिशत समावेशी रूपमा पदपूर्ति हुनेछ । खसआर्य, थारु र मुस्लिमको क्लस्टर पहिलोपटक फरक गरिएको छ । अब हरेक समावेशी समूहमा ५० प्रतिशत सोही समूहबीच मात्र प्रतिस्पर्धा हुनेछ । बाँकी ५० प्रतिशतमा सबै क्लस्टरबाट प्रतिस्पर्धा हुन सक्नेछ । यस्तै, विशेषज्ञबाहेक अन्य पदमा करार सेवा लिन पाइने छैन ।

क्षतिपूर्तिको व्यवस्था

निजामती कर्मचारीले सम्पादन गर्नुपर्ने कुनै काम समयमा नभएका कारण सेवाग्राहीमा हानी पुगेमा वा ढिलासुस्तीका कारण नोक्सानी भएमा पारिश्रमिक कट्टाको व्यवस्था प्रतिवेदनमा गरिएको छ ।

सरकारी सम्पत्तिको दुरुपयोग गरेमा, सेवाग्राहीलाई अपमानजनक व्यवहार गरेमा पनि पारिश्रमिक कट्टा हुने प्रस्ताव छ । तोकिएको समयभित्र आफूभन्दा माथिल्लो निकायमा सम्पादन गर्नुपर्ने काम पूरा नगरेमा पनि पारिश्रमिक कट्टाको प्रस्ताव प्रतिवेदनमा छ ।

यस्ता कामकारबाही समयमा नगर्दा दस दिनसम्म पारिश्रमिक कट्टा गर्ने प्रस्ताव प्रतिवेदनमा छ । निवृत्तिभरण र उपदानका व्यवस्था भने साविककै यथावत छन् । ।

उमेर हद ६० वर्ष

निजामती सेवामा अब उमेर हद ६० वर्ष कायम हुनेछ । तर यो चरणबद्ध रूपमा लागू हुनेछ । प्रस्तावित व्यवस्था कार्यान्वयनको ६ महिनासम्म अवकाश पाउने कर्मचारीको हकमा ५८ वर्षको उमेर हद नै कायम हुनेछ ।

त्यसपछि प्रत्येक वर्षको हिसाब हुनेछ । निलम्बनमा रहेको, नसिहत पाएको मितिले तीन महिनासम्म, तलब कट्टा भएकोमा सोको एक वर्षसम्म कुनै पनि कर्मचारी बढुवाको उम्मेदवार हुन पाउने छैन ।

बढुवा रोक्का भएमा सो अवधिभर, तलब वृद्धि रोक्का भएकोमा सो अवधिभर पनि बढुवाको उम्मेदवार बन्न रोक लगाउने व्यवस्था प्रस्तावित छ । कर्मचारीलाई नकारात्मक सूचीमा राख्ने व्यवस्था पनि प्रतिवेदनमा गरिएको छ ।

बाँधिँदै कर्मचारी युनियन

समितिको प्रतिवेदनले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनलाई यथावत राखेको छ । तर युनियन पदाधिकारीलाई जिम्मेवारीप्रति उत्तरदायी बनाउने गरी कानुनमा नै स्पष्ट पारिएको छ । पदाधिकारी तथा कार्यसमिति सदस्य रहेको अवधिमा पनि तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

काँग्रेसको फरक मत

विधेयकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको फरक मत छ । काँग्रेसले आन्तरिक प्रतिस्पर्धा यथावत हुनुपर्ने पक्षमा फरक मत राखेको छ । यस्तै, आधिकारिक टे«ड युनियनको व्यवस्था सरकारले ल्याएको विधेयकअनुसार नै हुनुपर्ने पक्षमा काँग्रेसको मत छ ।

स्थायी कर्मचारीलाई खुला र आन्तरिक प्रतिस्पर्धामा उमेर हद लागू गर्न नहुने पनि काँग्रेसको माग छ । साविकका घरेलु तथा साना उद्योग विकास समिति र दुर्गम क्षेत्र विकास समितिका कर्मचारीलाई पनि निजामती सेवामा कायम गर्नुपर्ने काँग्रेसको माग छ ।

निजामती सेवा ऐन २०४९ अनुसार कर्मचारीले खाइपाई आएको सेवा सुविधा यथावत हुनुपर्ने पक्षमा काँग्रेसको फरक मत छ । गोरखापत्र दैनिकमा नारायण काफ्लेले समाचार लेखेका छन् ।

वि.सं.२०७७ असार १६ मंगलवार ०८:२६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...