काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषधाज्ञा एक साता थप गरिएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायको आज बसेको बैठकपछि भदौ १७ गते राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा थपिएको हो।
यसअघि भदौ ३ गते राति १२ बजेदेखि आज राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अबको निषधाज्ञाको क्रममा थप कडाई हुने बताए। “यसअघि भन्दा कडा गर्छौं। निषेधाज्ञाको अवधिमा पनि मानिसहरू बाहिर हिँडडुल गरेको देखियो। अब थप कडाई हुन्छ। केही समयमा सूचना जारी गरेर के गर्न नपाउने भन्ने थाहा हुन्छ”, प्रजिअ दाहालले भने।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका प्रमुख र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफल गरेका थिए। छलफलका क्रममा निषेधाज्ञा थप गर्न सुझाइएको थियो।
वि.सं.२०७७ भदौ १० बुधवार ११:२३ मा प्रकाशित