
पुस १०,उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीन सरकारसँग आज बेइजिङमा ८ बुँदे सहमति गरेका छन् । यो सहमतिसँगै नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्नका लागि गर्ने भनिएको सम्झौताको तयारी कार्य तीब्र रुपले अगाडि बढेको छ ।
बेइजिङमा भएको परराष्ट्रमन्त्री स्तरीय सहमतिमा यस विषयलाई थप अगाडि बढाउने टुङ्गो लागेको हो । नेपाली वार्ताटोलीका एक सहभागीले बताए अनुसार पेट्रोलियम सम्झौता गर्नका लागि नै नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराई र वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव नवराज ढकाललाई बेइजिङ बोलाइएको छ । भट्टराई र ढकाल शुक्रबार अपरान्ह बेइजिङ पुगेका छन् ।
८ बुँदे सहमतिमा पनि दुई देशका व्यवसायीहरुबीच पेट्रोल तथा ग्यासको दीर्घकालीन व्यापारलाई प्रोत्साहन गरिने उल्लेख छ । यो बुँदाले इन्धन सम्झौता दुई पक्षीय व्यावसायीक रुपमा हुने संकेत गरेको छ र अब यसका लागि नेपाल आयल निगम तथा वाणिज्य मन्त्रालयलाई सम्झौता गर्न बाटो खुलाएको छ ।
भूकम्पपछि नेपाल भ्रमण गर्न बन्देज लगाइएका चिनियाँ पर्यटकलाई चीन सरकारले फुक्का गरेको छ । शुक्रबार बेइजिङमा भएको दुई पक्षीय सहमतिमा चीन सरकारले आफ्नो कन्सुलर अफिसमार्फत आफ्ना नागरिकलाई नेपाल घुम्न सुरक्षित रहेको सूचना सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । वर्ष २०१६ भरी नेपाल भ्रमण गर्ने चिनियाँ नागरिकलाई भीसा शुल्क नलाग्ने घोषणा परराष्ट्र मन्त्रीले गरेका छन् । गत बैशाखमा गएको विनासकारी भूकम्पपछि चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न अनुमति दिएको थिएन । पर्यटक मात्र नभएर नेपालमा कार्यरत कतिपय चिनियाँ परियोजनाका चिनियाँ कर्मचारीलाई समेत नेपाल जान दिइएको थिएन ।
त्यसैगरी बोआवो फोरममा चिनियाँ राष्ट्राध्यक्ष सी जिन पिङले अरनिको राजमार्गको पुनर्निर्माण तथा विस्तार गर्नका लागि घोषणा गरेको सहयोगमा पनि दुई पक्षीय सहमति भएको छ । चीनले नेपाली उत्पादनलाई प्राथमिकता दिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । चीनको युन्नान प्रान्तमा हरेक दुई वर्षमा हुने चीन दक्षिण एसिया एक्स्पोमा नेपाली उत्पादनलाई उच्च प्राथमिकता दिने कुरा चीनले बारम्बार दोहोर्याउँदै आएको छ ।
शुन्य भन्सार दरमा नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवेश गराउने सैद्धान्तिक सहमति पहिले नै भएको भए पनि नेपाली व्यवसायीले विभिन्न झन्झट बेहोर्नु परेको गुनासो गर्दै आएका थिए । अहिलेको सहमतिले नेपाली उत्पादनलाई सहज रुपमा चिनियाँ बजारमा प्रवेश गराउने कुरामा चीनले निकै खुकुलो नीति लिने बताएको छ । यससँगै नेपालको आवश्यकता अनुरुप औद्योगिक प्रणाली स्थापना गर्न पनि चीनले सघाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
नेपाललाई अन्तर्देशीय व्यापारमा अरु सुविधा दिन पनि चीन तयार भएको छ । शुक्रबार भएको सहमतिमा वर्तमान नाकालाई पुन प्रयोग गर्ने कुरामा नेपालले राख्दै आएको तातोपानी नाकालाई सुचारु गर्ने कुरामा चीनले सहमति जनाएको छ । चीनले केरुङ नाकालाई प्राथमिकतामा राखे पनि नेपालको बारम्बारको आग्रहपछि तातोपानी नाकालाई पनि सुचारु राख्ने सहमति जनाएको हो । साथै थप नाका खोल्न पनि चीनले सहमति जनाएको छ । नाका खोल्ने कुरालाई चीनले नेपालको अन्तर्देशीय व्यापार वृद्धिमा सहयोग गर्ने उल्लेख गरेको छ ।
चीनले प्रधानमन्त्री केपी ओलीलाई भ्रमणको निमन्त्रणा पनि गरेको छ । उच्चस्तरीय आदानप्रदान भ्रमण अन्तर्गत आगामी वर्ष सन् २०१६ मा नेपालका प्रधानमन्त्रीको भ्रमणको निमन्त्रणा गरेको छ भने उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रपति विद्या भण्डारीले चीनका राष्ट्राध्यक्ष सी जिन पिङलाई नेपाल भ्रमणका लागि गरेको निम्तो चीनका परराष्ट्रमन्त्री वाङ यीमार्फत हस्तान्तरण गरेका छन् ।
वि.सं.२०७२ पुस १० शुक्रवार १९:४४ मा प्रकाशित