
मुस्ताङ । स्थानीय एक क्याम्पस सञ्चालनार्थ पोखरा–१६ दिपकी निराला तुलाचनले आफ्नो स्वर्गीय पतिको सम्झनामा रु एक करोड सहयोग गरेकी छिन् ।
सदरमुकाम जोमसोममा अवस्थित जनहित बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि तुलाचनले उक्त राशिको सहयोग गरेकी हुन्।
पूख्र्यौली घर कुञ्जो गाविसमा भए पनि तुलाचन परिवार लामो समयदेखि पोखराको दीपमा बस्दै आएका छन्। आफ्नो पतिको स्मृतिमा क्याम्पसलाई गरिएको सहयोगबाट दुर्गम जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउन सहयोग पुग्ने तुलाचनको विश्वास छ ।
“यो रकमको क्याम्पसको भौतिक पूर्वाधार निर्माणदेखि विद्यार्थीको हितमा प्रयोग होस् र मेरो श्रीमान् पनि सामाजिक क्षेत्रमा सक्रिय हुनुभएकाले मैले यो निर्णय गरेकी हुँ” ८२ वर्षीया तुलाचनले भनिन्।
पोखरास्थित तुलाचनकै घरमा क्याम्पसका प्राचार्य रामचन्द्र आचार्य, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद थकाली र मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनको रोहबरमा उनाँले रु एक करोड एक लाख १११ को चेक क्याम्पसलाई हस्तान्तरण गर्नुभएको प्राचार्य आचार्यले जानकारी दिए।
क्याम्पसका प्राचार्य अधिकारीले उक्त रकमलाई अक्षयकोष खडा गरी शिक्षकको तलबभत्तादेखि स्नातक तहको शिक्षा कार्यक्रमलाई अघि बढाउन खर्च गरिने बताए ।
“अहिले हामी क्याम्पस स्तरवृद्धिमा लागिपरेका छौँ, यो रकम त्यही क्षेत्रमा खर्च गर्नेछौँ”, प्राचार्य आचार्यले भन्नुभयो । जिल्ला सदरमुकाम पर्ने भएकाले जनहित क्याम्पसमा प्राविदेखि उच्च मावि तहसम्मको पनि अध्ययन हुने भएकाले विद्यार्थीको चाप उच्च रहेको छ ।
स्नातक तहमा व्यवस्थापन सङ्कायको अध्ययन भइरहेको छ भने शिक्षा सङ्कायको पठनपाठनको तयारी पनि गरिएको छ । उच्च मावि तहसम्म २०० र क्याम्पस तहमा २६ विद्यार्थी अध्ययन गरिरहेको क्याम्पसले जनाएको छ । रासस
माघ २०, २०७२/१२.००
वि.सं.२०७२ माघ २० बुधवार १२:१४ मा प्रकाशित