
काठमाण्डौं । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको लागि यो वर्ष भारतबाट ४० लाख बराबरको एक लाख वटा रातो गुलाफ ल्याइने भएको छ । सो गुलाफका फूलहरु आज नेपाल भित्रने छन् ।
गर्मी समयमा नेपालमा उत्पादन हुने फूलले नै माग पूरा गर्ने भए पनि जाडोको समय भएको र भ्यालेन्टाइन डेमा बढी मात्रामा रातो गुलाफ प्रयोग हुने भएकाले भारतबाट फूल आयात गर्न लागिएको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए ।
फेब्रुरअरी १४को दिन प्रेमी प्रेमिकाले उपहारको रुपमा एक आपसमा रातो गुलाफ आदान प्रदान गर्ने गर्दछन्।
हाल नेपालमा रातो गुलाफ दैनिक पाँच हजारदेखि सात हजार आवश्यक पर्ने उनले बताए। गर्मीको समयमा स्वदेशी उत्पादनले र जाडोको समयमा भारतबाट आयात गरी माग पूरा गर्ने गरिएको छ ।
गतवर्ष पनि प्रणय दिवसका लागि भारतबाट एक लाख वटा नै रातो गुलाफ ल्याइएको थियो । बर्सेनी आयात कम गर्ने भनिए पनि भूकम्पका कारण यसवर्ष फूलखेती त्यति फस्टाउन नसकेकाले गत वर्षको जतिनै फूल आयात गर्नु परेको अध्यक्ष गैरेले बताए।
नेपालमा वार्षिक चार करोड रुपैयाँ बराबरको फूलको आयात हुँदै आएको छ। विदेशबाट आयत गरिएको र स्वदेशमा नै उत्पादन भएको गरी एक अर्ब ३० करोडको फूलको वार्षिक कारोबार हुँदै आएको छ।
रातो गुलाफको विशेषगरी काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला, काभ्रेपलाञ्चोक र चितवनमा व्यावसायिक रुपमा खेती हुँदै आएको छ। रासस
२६ माघ, २०७२, १०.००
वि.सं.२०७२ माघ २६ मंगलवार १०:२५ मा प्रकाशित