
काठमाण्डौ। यो शुक्रबार तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन्, प्रेमगीत, क्लासिक र चलेछ बतास सुस्तरी। प्रेमदिवसमा प्रेम बाँड्न आतुर फिल्म नै यतिबेला भिडन्तमा जोडतोडले लागिपरेका छन्।
तर धेरै कमलाई थाहा छ, कुनैबेला प्रेमगीतका निर्देशक सुदर्शन थापा, क्लासिकका निर्देशक दिनेश राउत र चलेछ बतास सुस्तरीका लेखक, निर्माता प्रदीप भारद्वाज मित्र मात्रै नभई सँगै काम पनि गरेका थिए। सुदर्शनले निर्देशन गरेको फिल्म ‘मेरो एउटा साथी छ’ मा सहायक निर्देशक दिनेश थिए भने सुवाससिंह बस्न्यातको पटकथालाई माझ्ने काम गरेका थिए, प्रदीपले।
‘सुरुमा स्क्रिप्ट आउँदा कोरियन फिल्मकै हुबहुजस्तै थियो। मैले यसमा आफ्नो चीज पनि मिसाउनुपर्छ नत्र गाली गर्छन् भनेपछि सुदर्शनजीले प्रदीपलाई भेटाएका थिए,’ दिनेशले त्यहींबाट तीनबीच दोस्ती भएको सुनाउँदै थपे, ‘नढाँटी भन्नुपर्छ, फिल्मको हाइलाइट्स चीजमा प्रदीपजीको योगदान छ।’
‘मेरो एउटा साथी छ’ ले निर्देशक सुदर्शनलाई मात्र नभई, यसका मुख्य कलाकारहरू आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई पनि राम्रा कलाकारका रूपमा स्थापित गर्न मद्दत गरेको थियो। तर छ वर्षपछि आएर खोलाको भंगालो छुट्टिएको छ। यतिबेला यी तीनजना तीन फरक फिल्म लिएर एक–आपसमा जुधिरहेका छन्। अझै रोचक त के छ भने ‘क्लासिक’ मा आर्यन र नम्रता नै मुख्य भूमिकामा छन्।
‘मेरो एउटा साथी छ’ बाट सुदर्शनले निर्देशनमा राम्रो संकेत दिए। तर त्यसपछिका उनका फिल्मले खासै अब्बल नतिजा दिन सकेनन्। अर्पण थापालाई लिएर बनाएको ‘धन्दा’ ले चर्चा पाएको थियो। बुधबार गरिएको ‘प्रेमगीत’ प्रिमियरपछि भने धेरैले उनी पुरानै लयमा फर्केको अनुभव गरे। ठूलो क्यानभास, कलरफुल दृश्य, चम्किला पात्र र खर्चालु प्रोडक्सनकै विशेषतामा सुदर्शन दोहोरिएका छन्।
प्रेमदिवसमा ‘प्रेमगीत’ कोसेली दिने उनको इच्छामा तगारो बनेको छ, ‘क्लासिक’। दिनेश राउत सुदर्शनको सहायक भएर काम सुरु गर्नुअघि नै जिग्री थिए। तर यतिबेला प्रतिस्पर्धा व्यावसायिक बनेको छ। गत वर्ष ‘नोभेम्बर रेन’ बाट उनले सफल निर्देशकीय पारी खेलिसकेका छन्। ‘मेरो एउटा साथी छ’ का कलाकार आर्यन र नम्रता यतिबेला दिनेशको फिल्ममा छन्, सुदर्शन एक्ला देखिएका छन्। तर सुदर्शन आफूलाई एक्लो ठान्दैनन्। भन्छन्, ‘मैले कहिल्यै स्टारसँग काम गरिनँ। बरु राइजिङ स्टारलाई स्टार बनाएँ होला।’
उनले लक्षित गरेको आर्यन र नम्रताको जोडी ‘मेरो एउटा साथी छ’ बाटै राइजमा आएको थियो भने यतिबेला ‘प्रेमगीत’ को प्रदीप खड्का र पूजा शर्माको जोडीलाई पनि राइजिङ स्टार भन्दै त्यसैगरी तुलना गर्न रुचाउँछन्। आफू कमजोर नभएको जिकिर गर्नमा सुदर्शन र दिनेशभन्दा अघि छन्, प्रदीप। उनले प्रचार गरेर फिल्म राम्रो नहुने भन्दै यसका लागि रिलिजसम्म कुर्न सबैलाई आग्रह गरेका छन्।
‘रिलिजपछि कसको फिल्म राम्रोरु को कति पानीका रहेछ भन्ने भन्नुहोला। अहिले मूल्यांकन गर्नु हतार र गलत हुनेछ’ प्रचारप्रसारमा केही तल देखिएका प्रदीपले आफ्नो फिल्ममा ‘जायन्ट किलर’ बन्न सक्ने सम्भावना देखाएका छन्।
प्रेमकथामै बनेका तीनै फिल्मको रिलिज अघि गीतरसंगीत बलियो पक्षका रूपमा देखिए। त्यसबाहेक दर्शक रिझाउन दिनेशलाई क्लासिक जोडी आर्यन र नम्रताको स्टारडम बोनस प्वाइन्ट हो भने सुदर्शनका लागि आक्रामक प्रचार र प्रिमियरमा बटुलेको सुखद प्रतिक्रिया पनि हो। आफ्नै भाइ प्रमोद र सुष्मा कार्कीको जोडीलाई प्रेमको बतास चलाउन उतारेका प्रदीपले भने आफ्नो हिरो नै स्क्रिप्ट रहेको बताउँछन्। पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा धेरै सकारात्मक सुधार देखिएका छन्।
प्रकाशित– कान्तिपुर दैनिक, २०७२ फाल्गुन २
वि.सं.२०७२ फागुन २ आइतवार १३:२२ मा प्रकाशित