
नवलपरासी । होमस्टे एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुलाई नेपाल पर्यटन पत्रकार मञ्चले आज कावासोतीमा बधाई तथा सम्मान ब्यक्त गरेको छ ।
एशोसिएसनका नव निर्वाचित अध्यक्ष भीम केसी, महासचिव प्रेमशंकर मर्दनिया लगाएतका पदाधिकारी र सदस्यहरुलाई नेपाल पर्यटन पत्रकार मञ्चका अध्यक्ष विद्रोही गिरीले ढाकाको टोपी र दोसल्ला ओढाएर सम्मान गरेका थिए भने कावासोती नगरपालिका कार्यकारी अधिकृत मानबहादुर खड्काले अविर लगाएर कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालन गरी संस्कृति ,जैविक बिबिधता संरक्षण संरक्षण मार्फत दीगो जीविकोपार्जनको माध्यम बनाउन होमस्टे सफल देखिएको छ । देशभरका ३८ जिल्लामा रहेका एक सय ५० होमस्टेहरु वि।स। २०६७ देखि संगठित हुन थालेका थिए । मौलिक संस्कृतिको जर्गेना संगै कृषि क्षेत्रको उत्पादकत्व समेत बृद्धि गर्ने कामहोमस्टे सञ्चालन गरेकाले ग्रामीण भेगका बासिन्दाको जीवनस्तरमा सुधार आएको छ ।
थारु होमस्टे अमलटारी गाउँमा फागुन ८ र ९ सम्म भएको सम्मेलनले भीम केसीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । सम्मान कार्यक्रममा होमस्टे एशोसिएसन नेपालका अध्यक्ष भीम केसीले सरकारले संस्कृति र प्रकृतिको संरक्षणमा लागेका होमस्टेहरुका लागि पूर्वाधार विकासमा सहयोग गर्नुपर्ने बताए । मौलिक संस्कृतिको अध्यायन गर्ने थलो होमस्टेहरु भएकाले सरकारले ध्यान दिएर सहयोग गर्नुपर्छ उहाँले भन्नुभयो–‘ संस्कृतिको संरक्षण गर्दै पर्यटन क्षेत्रमा लाग्नेहरुलाई पर्यटन पत्रकारले साथ दिनु पर्छ’ ।
कावासोती नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्काले होमस्टेमा बजारिया सामानको बिगबिगी भित्रिन नदिन आचार संहिता बनाएर एशोसिएसनले काम अगाडि बढाउनु पर्ने बताउनु भयो । नेपाल पर्यटन पत्रकार मञ्चका उपाध्यक्ष बिष्णु लम्सालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
११ फागुन २०७२, ८.००
वि.सं.२०७२ फागुन ११ मंगलवार ११:४० मा प्रकाशित