
काठमाण्डौं । कांग्रेसको १३औं महाधिवेशनको हिजो सम्पन्न पहिलो चरणको सभापति निर्वाचनमा सबैभन्दा कम मत प्राप्त गर्दै प्रतिस्पर्धाबाट बाहिरिएका सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौलाले दोस्रो चरणको मतदान नगर्न प्रस्ताव गर्दै एक प्रेस विज्ञप्ति जारी गरेका छन्।
पार्टीलाई गुटबन्दीरहित बनाउन सबै मिलेर जानुपर्ने उनको भनाई छ । विज्ञप्तिमा उनले भनेका छन्, ‘आज दोस्रो चरणको मतदान गर्ने प्रक्रियामा प्रवेश गर्दैछौ। यो अवस्थामा यदि दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै हिजो व्यक्त मतको समेत सम्मान गर्दै पार्टिभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने मेरो विश्वास छ।’
हिजो भएको पहिलो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले सर्वाधिक १५६४ मत प्राप्त गरेका थिए। उनी ११ भोटले मात्रै सभापतिमा विजयी हुनबाट पछि परेका छन् । उनका निकटतम प्रतिस्पर्धी रामचन्द्र पौडेलले ११६० मत ल्याए। ३२४ मत ल्याएका सिटौला प्रतिस्पर्धाबाट बाहिरिएका छन्। दोस्रो चरणको चुनाव भएमा देउवा र पौडेलबीच २ बजे पुनः मतदान मार्फत् प्रतिस्पर्धा हुनेछ।
२४ फागुन २०७२, १२.००
वि.सं.२०७२ फागुन २४ सोमवार १२:०२ मा प्रकाशित