
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनको मत परिणाम बाहिर आउँदैगर्दा बिगतमा राम्रै हैसियत बनेका केहि हस्ती पछि परेका छन् । खुला केन्द्रीय सदस्यको मतगणनामा शनिबारसम्म २५ भित्र पर्न नसकेका हस्तीहरूको सूची पनि लामै देखिएको छ ।
कांग्रेसभित्र एउटा छुट्टै गुट बनाएका गोविन्दराज जोशी र विनयध्वज चन्द २५ मा पर्न सक्ने सम्भावना टरेको छ । शनिबारसम्मको मतगणनाअनुसार जोशी ३२औं र चन्द ५३औं स्थानमा छन् । पूर्वसभामुख तारानाथ रानाभाट पनि २५ मा नआउने सम्भावना बढी छ । एक तिहाइभन्दा बढी मत गणना भइसक्दा उनी ३५औं स्थानमा छन् । पूर्वमन्त्री चिरञ्जीवी वाग्ले पनि २५ को ‘रिङ’ बाट बाहिरिने पक्कापक्की छ । उनी ३९औं स्थानमा छन् । यसैगरी, तरुण दलका अध्यक्ष उदयशमशेर राणा २७औं नम्बरमा छन् । यसैगरी निवर्तमान केन्द्रीय सदस्य रामकृष्ण ताम्राकार, मनमोहन भट्टराई पनि पछि परेका छन् । ताम्राकार ३६औं र भट्टराई ३१औं स्थानमा छन् ।
यसैगरी, लक्ष्मण घिमिरे पनि ३८औं स्थानमा छन् । तत्कालीन प्रजातान्त्रिक कांग्रेसका कोषाध्यक्षसमेत रहेका जिपछिरिङ लामा झिनो आशमाछन् । उनी २६औं स्थानमा छन् ।
आरक्षणको कोटामा हार्ने चर्चित अनुहारहरू
आरक्षण कोटामा उम्मेदवारी दिएका केही चर्चित अनुहार केन्द्रीय सदस्यमा पराजित भएका छन् । मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेविसंघका अध्यक्ष रञ्जित कर्ण र मधेसी कोटाबाटै उम्मेदवारी दिएका निर्वतमान केन्द्रीय सदस्य रामचन्द्र तिवारी, मधेसी महिला कोटाबाट उम्मेदवारी दिएकी निवर्तमान केन्द्रीय सदस्य कविताकुमारी सरदार पनि पराजित भएकी छन् ।
यसैगरी, महिला आरक्षण कोटाबाट उम्मेदवारी दिएकी निवर्तमान केन्द्रीय सदस्य मीना पाण्डे पराजित भएकी छन् । जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सोलु कांग्रेसका सभापति आँगगेलु शेर्पा पनि पराजित भएका छन् । राजधानी
३० फागुन २०७२
वि.सं.२०७२ फागुन ३० आइतवार ०९:५८ मा प्रकाशित