काठमाडौँ । राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले आजदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् ।
रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको हो ।
एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् ।
इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइको अपेक्षा गरिएको छ ।
इन्टरनेटसँगै अवलोकनकर्ताले खाजा घर र व्यवस्थित किसिमको शौचालयको समेत माग गरेका छन् ।
यस पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँ शुल्क लिएर प्रवेश दिने गरिएको छ । रासस
वि.सं.२०७२ चैत ५ शुक्रवार १५:१६ मा प्रकाशित