
काठमाडौँ । ढेड दशकअघि बाध्यताले मिर्गौला बेचेपछि बिरामी पर्न थालेका काभ्रेपलाञ्चोक जिल्ला होक्से गाविस जोरपिपलका श्यामकुमार बुढाथोकीको उपचारमा ट्रेकिंग एजेन्सिज एसोसिएन अफ नेपाल (टान) ले सघाउने भएको छ ।
२०७२ चैत्र १४ गते साँझ न्युज २४ टेलिभिजनमा प्रशारण भएको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको जनाउदै टानका अध्यक्ष चन्द्र रिजालद्वारा जारी बिज्ञप्तिमा बुढाथोकीको उपचारमा बढीमा ५० हजार रुपिया सम्म सघाउने उल्लेख छ ।
बुढाथोकी मिर्गौला बेचेपछि बिरामी पर्न थालेको र गत कार्तिकदेखि उनी पक्षघातबाट थला परेका थिए । ७१ वर्षीय आमाको वृद्धभत्ताबाट दुईछाक टार्दै आएका उनलाई सरकारी अस्पतालमा उपचार गर्नका लागि जानसमेत खर्च नभएको समाचारमा उल्लेख थियो ।
अध्यक्ष रिजालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ‘समाचार ले हामीलाई दुखी तुल्याएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत मानवीय संवेदनालाई समेत ख्याल गरी तत्कालका लागि पीडित बुढाथोकीलाई होक्सेबाट काठमाडौं ल्याई सरकारी अस्पतालमा उपचारका लागि पहल गर्ने र त्यसका लागि अधिकतम रु ५०,००० (अक्षेरुपी पचास हजार) सम्म सहयोग उपलब्ध गराउने जानकारी गराउन चाहन्छौ ।’ साथै निजको उपचारका लागि हरसम्भव सहयोग पुराउने समेत प्रतिवद्धता व्यक्त गरिएको छ ।
१६ चैत २०७२ / १२:२९
वि.सं.२०७२ चैत १६ मंगलवार १२:३५ मा प्रकाशित