सहरमा कुकुर पाल्ने धनाढ्यहरुबीच कसले महंगो कुकुर किनेर पाल्ने भन्ने प्रतिस्पर्धा नै हुन्छ । तर जति महंगो भनेपनि हामीकहाँ लाख रुपैयाँभन्दा बढिको कुकुर देख्न मुस्किलै होला ।
भारतका एक धनाढ्यले भने एक करोड भारु मूल्यको कुकुर किनेर घरमा भित्राएका छन् ।
भारतको बैंगलोरका सतिश एस नामका करोडपतिले एक करोड भारु हालेर कुकुर खरीद गरेका छन् । उनले गत सोमबार कोरियन डोसा मस्टिफ जातको कुकुर किनेर ल्याएका हुन् ।
यो ब्राण्डको कुकुरमा निकै तिक्ष्ण सुँघ्ने क्षमता हुन्छ । सतीशले यो नश्लका कुकुर चीनबाट मगाएका छन् ।
भारतमा यति महंगो हालेर कुकुर किनिएको यो पहिलो घटना भएको भारतीय मिडियाहरुले जनाएका छन् । यो जातको कुकुर पहिलोपटक भारत भित्रिएको छ ।
७ देखि १२ वर्षसम्म बाँच्ने यो जातको कुकुर निकै वफादार तथा शान्त स्वभावको हुन्छ । भारतमा करोड भारुको कुकुर भित्राउने सतिश भारतीय कुकुर प्रजनन संघका अध्यक्ष पनि हुन् ।
प्रकाशितः २०७२ चैत्र १८
वि.सं.२०७२ चैत १८ बिहीवार १७:१५ मा प्रकाशित