
काठमाण्डौं । वनस्पति विभागका अनुसार नेपालमा सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको र यसको माग युरोपियन बजारमा बढ्दो क्रममा रहेको बताएको छ ।
औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेको र सबैभन्दा कम पश्चिमाञ्चल क्षेत्रमा हुने गरेको छ । तराईमा उत्पादन हुने मुख्य जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धा हुन् भने मध्यपहाडी भागमा चिराइतो, रिट्ठा, टिमुर, तेजपातरदालचिनी, सुगन्धवाल व्यावसायिक रुपमा खेती भएको छ ।
यस्तै, हिमाली क्षेत्रमा भने जटामसी, कुट्की, अतिस, पद्मचाललगायतका रहेका छन् । जडीबुटीमध्ये तेल निस्कने जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, टिमुर, तेजपात हुन् । यीमध्ये जटामसी, पाँचऔँले, कुट्की, निरमसी हिमाली घाँसे मैदानमा पाइन्छ ।
नेपालमा उत्पादन हुने जडीबुटीमध्ये अधिकांश छिमेकी मुलुक भारत र चीनमा धेरै निकासी हुने गरेको छ । जडीबुटीबाट प्रशोधित सुगन्धित तेल फ्रान्स, जर्मनी, इटालीलगायतका देशमा जाने गरेको विभागले जनाएको छ ।
वन विभागले दिएको तथ्याङ्कअनुसार नेपालमा हाल वार्षिक चार हजार ८३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ ।
१९ चैत २०७२, ८।००
वि.सं.२०७२ चैत १९ शुक्रवार ११:५० मा प्रकाशित