
काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाग्मती अञ्चल युवा कमिटिले गोकर्ण फरेस्ट रिसोर्ट र गोकर्ण गल्फ क्याडिमा कार्यरत ३५ बर्ष भन्दाकम उमेरका युवा श्रमिकहरुको भेला गरि कार्यथलोमा श्रमिकहरुले भोग्नुपरेको समस्याबारे अन्तक्रियामार्फत टिपोट गरेको छ । काठमाडौको दक्षिण ढोका स्थित रहेको रिसोर्टमा कार्यरत युवा श्रमिकहरुले उचित पारिश्रमिक र सेवा सुबिधाबिना आफ्नो शिपको भरपुर उपयोग गर्ने वातवरण बन्न नसक्ने गुनासो गरेका छन् ।
कामदार श्रमिकहरुलाई नियमित रोजगारी नहुने भएकाले मासिकरुपमा पारिश्रमिक नपाएको, जंगलभित्र काम गर्दा कार्यथलोमा हुने दुर्घटनाको बीमा नगराईएको, औपचारिक क्षेत्रमा काम गर्दा पनि श्रमिकलाई अनौपचारिक क्षेत्रका सरह व्यवहार गरिएको, कामको वर्गीकरण नभएको, न्युनतम बेतन र कार्य घन्टाको समेत ग्यारेन्टी नभएको गुनासो गरेका छन् ।
अन्तक्रियामा जिफन्टका सचिव दिपक पौडेलले मालिकहरु डलरले मालामाल हुने तर श्रमिकको हातमुख जोर्न कठिन हुने अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले मर्यादित काम र बाँच्नपुग्ने ज्याला प्राप्तिको लागि श्रमिकहरु संगठित भएर अगाडि बढ्नुपर्ने सुझाव दिए । श्रमिकहरुको दक्षता अभिबृद्वी गराउने उदेश्यले जिफन्टले संचालनमा ल्याएको नियमीत ट्रेड यूनियन स्कुलमा सहभागी हुन पनि उनले श्रमिकहरुलाई आग्रह गरे ।
कार्यक्रममा जिफन्ट बाग्मती अञ्चल अध्यक्ष रामहरि नेपालले अहिले हाम्रो ट्रेड यूनियन आन्दोलनमा तीन पुस्ताको समिश्रण रहेकाले यो आन्दोलन मजबुत रहेको बताए । उनले भने, ʽहजुरबा पुस्ताको अनुभव, काका वा बा पुस्ताको जिम्मेवारीबोध र तपाईं हाम्रो पुस्ताको गतिशीलता र कृयाशिलताले नै यो आन्दोलनको भबिष्य निर्धारण गर्ने भएकाले युवाहरु जागरुक बन्नुपर्छ ।ʼ
उनले श्रमिकको सामाजिक सुरक्षा र सबै श्रमिकलाइ अधिकार सप्पन्न बनाउन श्रम ऐन संशोधनको आवश्यकता औंल्याए ।
कार्यक्रममा जिफन्ट युवा कमिटीका अध्यक्ष दामोदर साप्कोटा, सचिब मेजन कोइराला, सदस्य केसव सापकोटा, बाग्मती अंचल अन्तर्गतका अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।
पर्यटकहरूको लागि गल्फक्याडी खेल खेल्ने महत्वपूर्ण स्थानको रुपमा परिचित क्याडिमा स्वदेशी तथा बिदेशी खेलाडीहरुलाई सहयोग पु¥याउने कार्यका लागि १०५ जना श्रमिकहरु कार्यरत छन् । गोकर्ण जंगलभित्र क्याडी संगै रहेको रिसोर्टमा भने करिब २०० श्रमिकहरु कार्यरत छन् ।
वि.सं.२०७२ चैत २७ शनिवार १५:४९ मा प्रकाशित