
म इस्लाम धर्मावलम्बी हुँ, उनी हिन्दु हुन् ।
विश्वका कतिपय देशमा फरक धार्मिक आस्था राख्नेहरुबीचको झगडा र हिंसाबारे समाचार लेख्नु र पढ्नु मेरो दैनिकी हो ।
तर आजभन्दा धेरै कम शिक्षित र रुढिवादी समाज हुँदा झण्डै २४ वर्षअघि म गनी अन्सारी र रामनारायण गुप्ताबीच हाम्री हजुरआमाहरुले मीत लगाइदिएका थिए ।
त्यतिबेला हाम्रा धार्मिक मान्यताबीचको अन्तर न रामनारायणलाई थाहा थियो न मलाई नै ।
फरक अनुभूति
कुन देश र कुन धर्मको दायराभित्र जन्मिने भन्ने हाम्रो चाहनाभन्दा बाहिरको विषय हो ।
जन्मिंदा हामी सबै मान्छे भएर नै जन्मिए पनि समयले हामीबीच रेखाहरु कोर्दै जाँदोरहेछ ।
मैले यहाँ यति भूमिका बाँध्नुको कारण के हो भने आज म संसारमा फरक आस्था राख्नेहरुबारे जे पढ्छु र जे सुन्छु त्यो मैले र रामनारायणले अनुभूत गर्दै आएको सम्बन्धभन्दा नितान्त फरक छ ।
हामी बेलाबेलामा मन्थन गर्छौँ, संसारभरि फरक धार्मिक आस्था राख्नेहरुको सम्बन्ध हाम्रो जस्तो किन हुन नसकेको होला ?
सहिष्णुताको साइनो
मीत हजुरआमा भन्थिन्, सानो छँदा म र मेरा मीत उस्तै देखिन्थ्यौँ ।
हामीलाई मितेरी साइनोमा गाँसिदिनुको कारण सायद त्यही थियो ।
जातपात र धर्म केही नभन्ने यो साइनोको विशिष्टता नै त्यही लाग्छ ।
त्यसैले त एकजना ३३ कोटी देवी देउतालाई मान्ने र अर्को अल्लाह एकमात्र ईश्वर भएको विश्वास गर्नेबीच यस्तो फरक खालको आत्मीय सम्बन्ध गाँसिएको छ ।
अचम्म लाग्छ, गाउँका कतिपयलाई मुसलमानले छोएको पानी नचल्ने बेला पढ्दै नपढेका हाम्री हजुरआमाहरुको सोच त्यति फराकिलो कसरी भयो होला? सम्झिंदा पनि मन श्रद्धाले भरिपूर्ण हुन्छ ।
हाम्री हजुरआमाहरु पक्कै पनि धार्मिक सहिष्णुता र सहअस्तित्वमा विश्वास गर्दथे ।
ईद र होली
क्याम्पस पढ्नका लागि राजधानी छिरे पनि वर्षमा कम्तीमा छठ र होली पर्वमा म मीतघर जान्छु ।
अनि ईद-उल-फित्र र ईद-उल-अज्हामा मेरा मीत मेरो घर आउने गर्छन् ।
फरक धार्मिक आस्था छँदै छ, झन् कतिपयका बीच पानी नै नचल्दा पनि हामी भने सँगै बसेर बाँडीचुँडी खाना खान्छौँ ।
मीत बिना मेरो ईद रौनकविहीन र म बिना मीतको होली फिक्का नहोस् भनेर हामी सकेसम्म यी चाडमा भेट्ने गर्छौं ।
मेरो आस्था बुझेरै मीतको घरमा होलीमा हलाल मासु मात्र ल्याइन्छ ।
करिब दुई दशक लामो हाम्रो सम्बन्धलाई अझै नजिक ल्यायो मीतको बिहेले ।
केही समयअघि आफ्नो व्यस्त दैनिकीबाट थोरै समय निकालेर म पर्साको विश्रामपुर पुगेँ, मीतको बिहेमा सहभागी हुन ।
मेहन्दी र साली

म घर पुगेको थाहा पाउने बितिक्कै मेरा मीत मलाई लिन आइपुगेका थिए ।
५ मिनेटको पैदल दूरीमा रहेको उनको घर म पनि झोला बिसाएर पुगिहालेँ ।
मीतले मेरो लागि शेरवानी किनिदिएका रहेछन् ।
त्यही लगाएर भोलिपल्ट जन्ती जानुपर्ने भएपछि मैले नाप जाँचे ।
त्यही दिन मीत दाइकी जेठानीले मेहन्दी लगाइदिने सुर कसिन् ।
“बिहे मेरो हो र?” भन्दै म लजाएँ ।
तर उनले दुलहा मात्रै होइन मीत पनि सजिनुपर्छ भनिन् ।
अनि म जीवनमा पहिलोपटक पूरै हात रंगिने गरी मेहन्दी लगाउन तयार भएँ ।
सम्बन्धले जुराएका कतिपय विषयलाई टार्न सकिन्न ।
मेहन्दी लागिरहँदा ख्याल ठट्टा पनि भयो ।
मीतले जिस्काउँदै भने, “मीतज्यू ! मेरी साली छन् मन परे भन्नुहोला है, एउटै जग्गेबाट दुवैजनाको काम सकूँला !”
कुनैबेला रामनारायणभन्दा लज्जानारायण बढी रहेका मेरा मीतको कुरा सुनेर म अचम्ममा परेँ ।
भोलिपल्ट मीतले किनिदिएको शेरवानीमा सजिएर हामी दुलही लिन विश्रामपुरबाट जीतपुर पुग्यौं ।
प्रायः सबै वैवाहिक विधिमा म मीतसँगै बसेँ ।
स्वयंवरदेखि जग्गेसम्मै म मीतको नजिक थिएँ ।
यतिसम्मकी मध्यरातमा भएको कन्यादानको साक्षी समेत म भएँ ।
संस्कार र चालचलन
तर मितिनी मेरो सामुन्ने देखिन नहुने परम्पराले अब पहिलाजस्तो निर्वाधरुपमा म मीतको घरमा ओहोरदोहोर गरिरहन सक्दिनँ।
मान्छे मर्दा मेरा मीततर्फ लाश पोल्ने र मेरोमा गाड्ने परम्परा छ।
मेरोमा नुहाएर चोखो भएर मात्रै अन्त्येष्टिमा सहभागी हुनुपर्छ भने उता दाहसंस्कारपछि चोखो भइन्छ ।
मीतकोतर्फ घण्टौं मन्त्रोच्चारणपछि विवाह सम्पन्न हुन्छ ।
मेरोमा मौलानाले निकाह कबुल गराई केही मिनेटमै बिहे हुन्छ ।
यी र यस्ता अनेकौँ फरक चालचलनबीच पनि हामीबीचको सम्बन्ध वर्षौंदेखि समान हुँदै आएको छ ।
सायद अझै गाढा ।
इस्लामिक प्रार्थनाअघि बज्ने अजानको स्वर न मेरा मीतलाई कहिल्यै कर्कश लाग्यो न हाम्रो गाउँमा राम मन्दिरको घण्टको आवाजले मलाई कहिल्यै दिक्क बनायो ।
यसमा हाम्री हजुरआमाहरुको ठूलो योगदान छ ।
अहिले पनि गाँउमा हिन्दुहरुको महायज्ञमा मुसलमानहरुले श्रमदान गर्छन अनि मुसलमानले मस्जिद बनाउँदा हिन्दुहरु सहयोग गर्छन् ।
हराउँदो संस्कार
मीतको बिहेमा हाम्रो सम्बन्ध अझै आत्मीय बन्यो ।
समयको परिवर्तनसँगै मीत संस्कार पनि बिस्तारै हराउँदै जान थालेको छ ।
त्यसमाथि अन्तरधार्मिक मीत साइनो झन् दुर्लभ नै हुने भयो ।
तर मेरो मितेरी साइनोको अव्यक्त प्रभाव पनि हुनसक्छ, कक्षा ३ मा अध्ययनरत मेरी भतिजीकी मितिनी ब्राह्मण हुन् ।
अन्तरधार्मिक मीत संस्कारलाई मेरी भतिजीले दिएको निरन्तरमा म मेरो र रामनारायणको मितेरीको झझल्को पाउँछु ।
नेपाली समाज बढ्दोरुपमा आत्मकेन्द्रित, धर्म केन्द्रित, जात केन्द्रित हुँदैजाँदा धार्मिक सहिष्णुता र सहअस्तित्वको भावना निस्सासिंदै गएको आभास हुन्छ ।
त्यसलाई बदल्ने उपायहरु खोज्न सकिएन भने बहुधार्मिक, बहुसांस्कृतिक एवम् बहुभाषिक हाम्रो समाजमा हामीले कुनैबेला यतिमात्र भन्न बाँकी रहला- कहाँ गए ती दिनहरु ?
स्रोत : गनी अन्सारी संवाददाता बीबीसी नेपाली सेवा
२९ चैत २०७२
वि.सं.२०७२ चैत ३० मंगलवार १२:२२ मा प्रकाशित