
काठमाण्डौं। सेयरको डिम्याट मात्रै कारोबार हुन थालेपछि लगानीकर्ताले नयाँ केही समस्या भोग्नु परेको छ । कागजी प्रमाणपत्रको कारोबार हुने समयमा भन्दा यी समस्या फरक छन् ।
समस्या १ः केही कारण लगानीकर्ताको सबै सेयर प्रमाण पत्र डिम्याट नभएको हुनसक्छ । केही टुक्रिएर रहेको सेयर सबै लगानीकर्ताको खातामा नभएको भेटिन थालेको छ ।
समस्या २ः लगानीकर्ताले हकप्रद तथा बोनस सेयरको सबै प्रमाणपत्र संकलन नगर्दा मर्चेन्ट बैंकरसँगै रहेको हुनसक्छ । १, २ कित्ताका यस्ता प्रमाणपत्रमा लगानीकर्ताको ध्यान नपुगेको पनि हुनसक्छ । यस्ता प्रमाणपत्र छुट्दा लगानीकर्ताले आफ्नो सम्पूर्ण सेयर प्रयोग गर्नबाट बञ्चित हुन्छन् ।
समस्या ३ः डिम्याट गर्दा सेयर छुटेको धेरै घट्ना सार्वजनिक भइसकेका छन् । साना कित्ता सेयर छुटेको लगानीकर्ताले याद नगरि बिक्री गर्दा गुमाउनु पर्ने अवस्था आउँछ । निकै धेरै प्रमाणपत्र छन भने सेयर छुट्ने संभावना बढी देखिएको छ ।
समस्या ४ः कम्पनीले सिधै डिम्याट खातामा सेयर जम्मा गरिदिने व्यवस्था लागु भएको छ । तर, कुनै कम्पनीले बोनस सेयरको कर लगानीकर्ताले तिर्नुपर्ने प्रावधान राखेका हुनसक्छन् । लाभांस वापतको कर नबुझाउँदासम्म डिम्याट खातामा सेयर जम्मा हुँदैन । यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो खातामा सेयर जम्मा भयो भनेर ढुक्क हुन सक्दैनन् ।
समस्या ५ः कुनै कारणबस सेयर दुई भाग लागेको हुनसक्छ । सेयर टुक्रिएको रहेछ भन्ने थाहा नभए लगानीकर्ताले एउटा अंश सँधै छाड्न सक्छ । यसरी छाडेको सेयरको लाभांस लगानीकर्ताले गुमाउँछन् ।
समस्या ६ः कम्पनीहरुले दसमलव पछिको सेयर लगानीकर्तालाई दिँदैनन् । यस्तोमा अर्को पटकको बोनस थपेर एक कित्ता पुर्याउने प्रचलन छ । लगानीकर्ताले दसमलव पछिको अंकको याद गर्दैनन र सेयर विक्री गर्छन् । तर कम्पनीमा उसको नामको सेयर रहिरहन्छ र सँधै लगानीकर्ताको सूचीमा रहन्छ ।
बिजमाण्डु, ३१ बैशाख २०७३, ११।००
वि.सं.२०७३ वैशाख ३१ शुक्रवार १३:४८ मा प्रकाशित