
काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्ने निजी गाडीका लागि जरिवानास्वरुप शुल्कबाट हालसम्म रु आठ लाख सङ्कलन गरिसकेको छ ।
महानगरपालिकाको २७औँ नगर परिषद्को निर्णयअनुसार गत फागुन १ देखि निजीस्तरबाट उक्त स्थानमा फोहोर लैजाने सबै गाडीबाट शुल्क लिन थालेको थियो ।
कामपाको मात्रै दैनिक २० वटा ठूला गाडी उक्त स्थानमा अन्तिम फोहोर व्यवस्थापनका लागि जाने गरेका छन्, त्यसमा निजीतर्फका गाडीले पनि फोहोर लाँदा व्यवस्थापनमा समस्या उत्पन्न भएकाले शुल्क लिन थालेको हो ।
कामपाको भन्दा धेरै निजीस्तरबाट साना–ठूला गरी दैनिक ५० देखि ६० वटासम्म गाडी फोहोर लिएर ओखरपौवास्थित सिसडोलमा जाने गरेका छन् । आठ टनभन्दा कम फोहोर लिएर जाने गाडीका लागि प्रतिटन रु १५० र त्यसभन्दा माथिका लागि रु २५० लिने गरेको छ ।
६ जेठ २०७३, १०।००
वि.सं.२०७३ जेठ ६ बिहीवार ११:३७ मा प्रकाशित