back
NMB Ad

प्रहरीले घेरा हाल्दा शिशै शिशा फालिएको इनारमा हाम फालेको भए …

हरिशरण न्यौपाने ।

वि.स. २०१७ सालमा धादिङको चैनपुर गाविस ३ मा मध्यम किसान परिवारमा खेमप्रसाद लोहनीको जन्म भएको हो । उनको बाल्यकाल विद्यालय पढ्न जाने, बिहान बेलुका घरको काम गर्ने, बिदाको दिन घाँस काट्ने, गोठालो जाने, भारी बोक्ने, खेताला जाने, पौडी खेल्ने लगायत काम गरेर बित्यो । उनी १० वर्षको छँदा आफ्नी आमाको न्यानो काख खोसियो ।

धादिङ, चैनपुरको श्री ज्वाला प्राथमिक विद्यालयमा ५ कक्षासम्म अध्ययन गरेका लोहनीले ज्वाला सालबास मिडिल स्कूलमा कक्षा ८ सम्म पढे । ९ र १० गोरखा जिल्लाको आरुघाटमा अवस्थित भिमोदय माध्यमिक विद्यालयमा अध्ययन गरेर २०३४ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । २०३५÷३६ मा महेन्द्ररत्न क्याम्पसबाट आई एड गरेका उनले बि एड र एम एड भने त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट गरेका हुन् ।

कलेज पढ्दा पढ्दै उनी पार्टीको जनपक्षिय राजनीतितर्फ लागेका थिए । २०३६ सालमा रेड गार्ड अर्गनाईजेसन, युथलीग, क्याम्पस कमिटी हुँदै राजनीतिमा सक्रिय उनी २०४२ सालमा पार्टीको काम गर्न धादिङ जिल्लातर्फ फर्किए । २०४३ सालमा गाउँ कमिटीको सदस्य, त्यसपछि उपसचिव, सचिव, इलाका कमिटीको सदस्य हुँदै जिल्ला कमिटीमा उपसचिव, अध्यक्ष हुँदै अहिले नेकपा एमाले केन्द्रिय कमिटीको वैकल्पिक सदस्य छन् ।

राजनीति गरेको रहरले …

राजनीति गर्दा त्यसलाई अप्ठेरोको रुपमा नहेर्ने लोहनीलाई द्वन्दको समयमा माओवादीहरुले आफ्नै साथीहरुको अपहरणपछि हत्या श्रृङ्खलाले निस्सासिंदो बनाएको थियो । पंचायती काल (२०४२–२०४६) सालसम्म अर्धभूमिगत भएर राजनीति गर्दा भन्दा लोहनीलाई माओवादी द्वन्दमा साह्रै गाह्रो भएको थियो । त्यस्तै बिद्यार्थी राजनीतिमा सक्रिय छँदा प्रहरीले निलडाम हुने गरी पिटेर थुन्ने, अमानवीय ढंगले यातना दिने गरेको क्षण सम्झँदा आज पनि उनी पिडाबोध गर्छन् ।
एकचोटी त्रिचन्द्र क्याम्पसमा प्रहरीले जीउ निलडाम हुनेगरि पिटेर हनुमानढोका थुन्न लैजाँदा उनलाई साह्रै पिडाबोध भएको थियो । अर्काे त्यस्तै त्रिचन्द्रबाट भागेर असनको एक घरमा पुग्दा प्रहरीले चारै तिर घेरा हालेको देखेर घरको दोस्रो तल्लाबाट फाल हानेर भाग्नुपर्ने अवस्थामा पुगीसकेका थिए । तर त्यस घरकी बुढीआमाले उनी सहित साथीहरुलाई सुरक्षित गराईदिएर खान, बस्न दिएपछि भने उनी जोगिएका थिए । दिनभर त्यहि घरमा लुकेर साँझ त्यहाँबाट भाग्नुपरेको थियो । यदि त्यो घरबाट हाम फालेको भए शिशै शिशा फालिएको इनारमा खस्ने डरलाग्दो अवस्था थियो । त्यो दिन सम्झँदा आज पनि लोहनीको मन सिरिङग हुने गर्दछ ।

अनेरास्ववियुमा रहँदा पोष्टर टाँस्ने, प्रचार गर्न निस्कँदा प्रहरीबाट भागेरै आफुलाई जोगाउने काम गर्दथे । त्यतिबेला तत्कालिन नेकपा माले हालको एमालेको प्रचारमा वाल पेन्ट गर्ने काम साह्रै चुनौतिपूर्ण थियो । त्यति बेला नै इलामका रत्नकुमार वान्तवाको हत्या भएको थियो । रत्न कुमार वान्तवाको हत्याको बदला लिन्छौं लिन्छौं भनेर तत्कालिन माले पार्टीले धेरै ठाउँमा वाल पेन्ट गरेको थियो । ती वाल पेन्ट गर्नेहरुलाई प्रहरीले भेट्यो भने धेरै यातना र पछि मार्ने सम्मको स्थिति रहन्थ्यो । ती सबै चुनौतिलाई अप्ठेरो नमानि उनले सहज पुरा गरे । कामलाई अप्ठेरो माने अप्ठेरो, सजिलो माने सजिलो ठान्ने उनी नडराउँदा सबै काम बन्न सक्छ भन्ने निडर स्वभावका व्यक्ति हुन् ।

पार्टीको बैठक बस्न जाँदा भैसी किन्न हिड्या भनि झुक्याउँथ्यौं ….

उनले तत्कालिन अवस्थामा अधिकाँश पार्टीको काम संधै राति नै सक्काउँथे । त्यसमा नै उनी रमाउने गर्दथे । तर कहिल्यै दुःख मानेनन् । राजनीति गर्ने दौरान २/३ दिन भोकभोकै हिंड्ने काम समेत गरे पनि उनी कहिल्यै दुःखीत भएनन् । साँझ उनको घर चैनपुर बेसीबाट सालबासमा पुगेपछि गुरु बुर्लाकोटीलाई लिएर नलाङको अर्चलेमा रहेको जगन्नाथ तिमल्सिनाको घरमा राति नौ÷दश बजे बैठक बस्न पुग्ने गर्दथे । राति बैठक सकेर बिहान हुनासाथ घरतिर फर्कने गर्दथे । बाटोमा कोही मानिसले भेटे भने भैंसी, गोरु किन्न जान लाग्या भनेर ढाँट्दै उनीहरु बैठकमा सहभागी हुने गर्दथे । तल्लो घरको भन्दा माथिल्लो घरको भैसीले बढि दुध दिन्छ भन्दै बाटो काट्ने गर्दथे । यदि कसैको आँखा छक्याउन सक्यो भने दिसा पिसाब आएको बाहाना पारेर बाटो छोडिदिने गर्दथे । ती दिनहरुलाई पनि उनी मज्जाको रुपमा हेर्दछन् ।

एकचोटी राजेन्द्र पाण्डे र उनी गुम्दीको इदु भन्ने ठाउँमा इन्द्र सिंखडाको घरमा खाना खाएर सुत्न ठिक्क परे । पछि सल्लाह गरेर हैन यहाँ नसुतौं, तल्लो गाउँ जाउँ भनेर हिंडे । तल्लो गाउँ, तल्लो गाउँ भन्दै कटुञ्जेको टोड्के भन्ने ठाउँ आइपुगे । तर राति गाउँ सुनसान थियो । त्यसपछि अब कसलाई बोलाउने भनेर राति साँढे ११ बजे धादिङबेसी पुगेर बास बसेका छन् ।

एकचोटी कार्तिक महिनामा उनी टुथ ब्रस, मञ्जन, टर्चलाइट, कलम र डायरी बोकेर साथीहरुसँग लापा गएछन् । साह्रै जाडो थियो । त्यहाँका तामाङ र गुरुङ जातीका मानिसहरु जाडोले गर्दा रातभर अगेना छेउमै जम्मा भएर रात कटाउने रहेछन् । लोहनी र उनका साथीहरु पाहुना भएका हुनाले त्यहाँका स्थानीयले ओढ्न र ओछ्याउन राडीपाखी दिए । तरपनि जाडोले लोहनी र उनका साथीहरु सुत्न सकेनन् । चिसोका कारण भोक लाग्ने, जति पनि खानेकुरा खान सक्थे । तर एकै दिनमा हजारौं पटक वायु विकार भएको सम्झेर उनी आजपनि मज्जाले हाँस्दछन् । तर यी सबै परिस्थितिलाई उनी रमाइलो नै मान्दछन् ।

धादिङ जिल्लाको सभापति रहँदा गरेका विकास…

२०५४ सालमा लोहनी जिल्ला विकास समिति धादिङको सभापतिमा निर्वाचित भए । त्यतिबेला केन्द्रमा काँग्रेसको सरकार हुँदा धम्की दिने र सकेसम्मको काम अड्काउने गर्दथ्यो । तापनि जिल्लामा पार्टीको बहुमत भएको हुनाले उनलाई काम गर्न सहजै थियो । त्यस्तै माओवादी द्वन्दले पनि सबैलाई त्रसित बनाएको थियो । माओवादीहरुले उनीसँग पनि बेला बेला चन्दा माग्ने गर्दथे ।
उनको कार्यकालमा धादिङमा विकासको निम्ति पूर्वाधार तय गर्यो । ठूलो संख्यामा सडक संजाल विस्तार भयो । सडक संजालले जिल्लाको समग्र विकासलाई सहज बनाएपनि अझै सबै स्थानमा १२ महिना चल्ने सडक बनाउन बाँकी नै छ । बिजुलीको व्यवस्था, खानेपानी, सिंचाई, गैरसरकारी संस्थाहरुलाई जिल्लामा प्रवेश गराएर विकासमा लगाउने काम पनि उनकै पालामा भयो । धादिङबेसी मलेखु सडक (कालुपाँडे राजमार्ग) मा पिच गर्ने, त्रिशूली नदीमा पक्की पुलको व्यवस्था गर्ने कामले धादिङको सबै क्षेत्रलाई जोड्ने काम गरेको थियो । त्यसअघि भने धादिङ क्षेत्र नं ३ र २–१ का साथै सदरमुकाम छुट्टै थियो । सदरमुकाम जानलाई झोलुङ्गे पुल तरेर जानुपर्ने अवस्था थियो ।

आबधिक योजना बनाउँदा ʽदुध, फलफूल, तरकारी, गाँस, बास, कपास रोजगारीʼ भनेर त्यहि अनुकुल जिल्लाको विकास कार्यक्रमलाई अगाडि बढाएका थिए । त्यतिबेला माओवादीले भने एमालेलाई प्रतिष्पर्धि ठानेर सकेसम्म विकासका कार्यमा अबरोध पुर्याउने गर्दथ्यो । माओवादीले सबैभन्दा बढि १ नम्बर क्षेत्रमा अबरोध गर्ने गर्दथे । विकासका कार्यक्रम, पैसा, निर्माण सामाग्रीहरु पठाउँदा यो लगानी गरिस्, लागु गरिस् भने कारबाही गर्छु भनेर जनप्रतिनिधिलाई लागू गर्न नदिने र अबरोध गर्ने काम गर्दथे । कति ठाउँमा विकासका योजना सडक बनाउन पठाएको पैसा माओवादीहरुले खोसेर नै लिए । कांग्रेस र माओवादीको अबरोधको बाबजुत पनि उनले धादिङमा विकासका पूर्बाधार खडा गर्ने काम गरे ।

जब २०५९ मा जिविस छाडे त्यसपछि माओवादीले उनलाई सुराकी लगायत विभिन्न आरोप लगाउँदै आरोप पत्र घरमा टाँसेर भौतिक आक्रमण गर्ने धम्की दिन थाल्यो । त्यतिबेला त्यस्तै किसिमको धम्की दिंदै उनका साथीहरु धादिङ १ नम्बर क्षेत्रका जयराम श्रेष्ठ सहित नवराज सुवेदी, बच्चु अर्याल, खिनबहादुर थापा लगायतलाई माओवादीले अमानवीय ढंगले हत्या गरेको थियो । यसले उनलाई साह्रै दुःखीत बनाएको थियो ।

राजनीति समाजसेवा गर्ने मौका…

राजनीतिमा मज्जा मान्ने भएकाले जिविस सभापति छाडेपछि पनि उनी राजनीतिमै सक्रिय रहे । समाजसेवा गर्ने, सबैका अगाडि चिनिने, यो व्यक्तिले पनि समाजमा केहि काम गर्छ भनेर देखाउने स्वभाव भएरै उनी निरन्तर राजनीतिमा सक्रिय छन् ।

अबको राजनीतिक योजना…
केन्द्रिय कमिटिमा भर्खरै पुगेका उनी राजनीतिक आन्दोलन समाप्त भईसकेको र अब आर्थिक विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँछन् । समग्र विकासलाई अगाडि बढाउन धेरै मेहनत गर्नुपर्ने र राजनीतिक मानिसहरु सँग व्यवसाय गर्ने, आर्थिक विकास गर्ने विचार नभएको भन्दै उनीहरुलाई व्यवसायीक विचार दिनुपर्ने तर्क गर्छन् । सबै राजनीतिक पंक्तिलाई व्यवसायीक बनाउने र राजनीतिक नेतृत्वले आर्थिक विकास गर्नुपर्ने उनको धारणा छ । दश÷दश मीनेटमा फरक हावापानी पाईने प्राकृतिक र जैविक बिबिधताले भरिपूर्ण देश नेपालमा दश मीनेट तल गर्मी, दश मीनेट माथि मध्यम हावापानी र एक घण्टा माथि गयो हिमाल पुग्न सकिने भएकाले यही नेपालको बरदान रहेको उनी बताउँछन् । ठूला सडकका परियोजना, र केहि ठूला जलबिद्युत् आयोजना अगाडि बढाएर बाँकी सबै साना–साना कामले नै नेपाललाई सुन्दर देश बनाउन सकिने उनको ठम्याई छ ।

कुराकानीमा आधारित 

२५ असर २०७३ / १ : ३५ : २९

वि.सं.२०७३ असार २५ शनिवार १३:३७ मा प्रकाशित

You can share this post!

सहकारीको रकम अपचलनको कसुरमा कांग्रेस सांसद राई पक्राउ   

सहकारीको रकम अपचलनको कसुरमा कांग्रेस सांसद राई पक्राउ   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:५३

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद...

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित   

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:४७

दोधारा चाँदनी (कञ्चनपुर)  : महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:४२

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:२७

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै   

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:२३

काठमाडौँ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई...

कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् राशिफल

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...