काठमाण्डौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र अरुण कावेली पावर लिमिटेड एकापसमा मर्ज हुने भएका छन् । अरुण कावेलीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले अरुण भ्यालीसँग मर्जर वा एक्वायरमा जाने निर्णय गरेको हो ।
सञ्चालक समितिको उक्त निर्णय माथि आवश्यक छलफल गरी मर्जर वा एक्वायरमा जाने अधिकार सञ्चालक समितिलाई दिने प्रस्तावसहित कम्पनीले आगामी असोज १ गते विषेश साधारणसभा बोलाएको छ । साधारणसभाले पारित गरेपछि मात्रै कम्पनीको उक्त प्रस्ताब पारित हुनेछ ।
अरुण भ्यालीले यसअघि नै साधारणसभाबाट मर्जर वा एक्वायरमा पाने निर्णय गरिसकेको छ । दुबै कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने हुन् । मर्जरपछि कम्पनीको नाम अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहने बताइएको छ ।
एक बराबर एकको स्वाप रेसियामा निर्धारण गर्ने तयारी भइरहेको छ । अरुण भ्यालीले संखुवासभामा रहेको पिलुवा खोलाबाट ३ मेगावाट विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।
त्यसैगरी, अरुण कावेलीले ताप्लेजुङमा २५ मेगावाट उत्पादन क्षमताको क्षमताको कावेली बी-१ आयोजना निर्माण गर्न लागेको छ । अरुण भ्यालीको चुक्ता पुँजी ७७ करोड रहेको छ भने अरुण कावेलीको चुक्ता पुँजी १५० करोड रहेको छ ।
अरुण भ्यालीले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्नेछ ।
९ भदौ २०७३, ११।००
वि.सं.२०७३ भदौ ९ बिहीवार १२:४२ मा प्रकाशित