
सवारी दुर्घटनामा मजदुरलाई मात्रै दोषी देख्नेहरु खबरदार !
पोखरा । विभिन्न समयमा भएका सवारी दुर्घटनामा एकोहोरो यातायात श्रमिकलाई मात्र दोषी देख्नेहरु माथि यातायात मजदुरहरुले खबरदारी गरेका छन् । पोखरामा आयोजित नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नवौं राष्ट्रिय अधिबेशन एवं प्रतिनिधि परिषद् बैठकमा उपस्थित नेता तथा यातायात क्षेत्रका मजदुरहरुले सम्पूर्ण दोष मजदुरलाई मात्र थोपर्ने परम्पराको अन्त्य हुनुपर्ने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै एमाले स्थायी समिति सदस्य नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) प्रतिनिधि परिषद प्रमुख मुकुन्द न्यौपानेले सरकारले यातायात मजदुरको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने भनाई राखे । उनले यातायात मजदुरहरुलाई लाईसेन्स लगायत अन्य बाहानामा ट्राफिकले दिने गरेको झमेलालाई अन्त्य गराईनुपर्ने बताए । कच्चि बाटोका कारण देशैभर यातायात मजदुरले ज्यान जोखिम पारेर सेवा दिनुपरिरहेको तितो यथार्थ कोट्याउँदै उनले यस क्षेत्रको सुधारका लागि सरकारलाइ दबाब दिने भनाई राखे ।
कार्यक्रममा जिफन्टका महासचिव विष्णु लम्सालले यातायात क्षेत्रका श्रमिकहरु हरेक क्षेत्र बाट पिडित हुने गरेको भन्दै श्रमिकहरुको एकताले आफ्ना समस्यालाई सहज ढंगबाट समाधानको बाटोतर्फ लैजान सकिने धारणा राखे । महासचिव लम्सालले यातायात मजदुरको बीमा, प्रहरी, प्रशासनले दिने गरेको अनावश्यक हैरानीलाई अन्त्य गर्न मजदुरहरु इमान्दार भएर एकताका साथ आवाज बुलन्द पार्नुपर्ने बताए । जुनसुकै सवारी दुर्घटनामा एकोहोरो यातायात श्रमिकलाई दोष देखाउने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाई थियो । उनले सडकको दुरावस्था, समयमै सवारी र सडकको मर्मत नहुनु, मनलाग्दी रुट पर्मिट लगायत कमजोरीका कारण अकालमा धेरैको ज्यान गईरहेको भन्दै सरकारले पनि यस विषयमा आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने भनाई राखे । यातायात क्षेत्रको सुरक्षाका लागि देशभरका सडक, बाटो र हाईवेको मर्मत गरि दुर्घटना न्युनिकरणका उपायहरु अबलम्बन गर्न उनले राज्यको ध्यानाकर्षण गराए । त्यस्तै श्रम ऐन अनुसार यातायात क्षेत्रका श्रमिकले पाउने सेवा, सुबिधा लागु गराउन उनले व्यवस्थापकहरुको ध्यानाकर्षण गराए ।
कार्यक्रममा साँसद रबिन्द्र अधिकारी, साँसद चुडामणि जगंली, साँसद बिनोद श्रेष्ठ, जिफन्ट उपाध्यक्ष हरिदत जोशी, राष्ट्रिय यातायात व्यवसायी महासंघ क्षेत्रीय अध्यक्ष धर्म अधिकारीले यातायात क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा आ–आफ्नो भनाई राखेका थिए ।
इश्वर आचार्यको सभापतीत्वमा भएको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजिब घिमिरेले यातायात क्षेत्रका मजदुरले दिनानुदिन एकै प्रकृतिको समस्या भोग्नुपरेको र यसको समाधानका लागि सरोकार निकायले चासो नदेखाउनु कष्ट झेल्नुभपरेको बताएका थिए ।
उद्घाटन हुनुअघि हजारौंको संख्यामा उपस्थित रहेका यातायात मजदुरहरुले पोखराको परिक्रमा गरेका थिए ।
प्रकाशित मितिः २०७३ भदौ ११
वि.सं.२०७३ भदौ ११ शनिवार १५:२७ मा प्रकाशित