गएराति देखि भारतको धारचुला खोतिलमा गएको थप सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् ।
उक्त क्षेत्रमा खसेको पहिरोले महाकाली थुन्न थालेको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार “महाकाली नदी पहिरोले गर्दा साघुरिँदै गएको छ” जोशीले भने , “माथिबाट ठूलो पहाड खसिराखेको छ पन्छाउन समेत भ्याएको छैन।”
सुरुमा असोज १८ गते खसेको पहिरोले नदीको केही भाग अवरुद्ध भएको भएपनि गएराति थप पहिरो खस्दा नदी थुनिने सम्भावना बढेको जोशीले बताए ।
“तत्काललाई खतरा छैन, खतरामुक्त भइसकेको पनि छैन।” उनले भने । “पहिरोले नदीको पानीलाई नेपालतिर धकेल्दै आएको छ ।”
प्रजिअ जोशीले पहिरोले नदीको पानी पूर्ण अवरुद्ध भयो भने खतरा उत्पन्न हुनसक्ने र त्यसका लागि सीमावर्ती बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
प्रकाशित मितिः २०७३ असोज ३०
वि.सं.२०७३ असोज ३० आइतवार ०७:१९ मा प्रकाशित