
काठमाडौ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका बेला सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अन्य सवारीसाधनको आवागमन ठप्प हुनसक्ने भय जनमानसमा देखिएको भन्दै त्यो गलत भएको बताए ।
उनले भने, ‘भारतीय राष्ट्रपतिको सवारी हुने बेलामा मात्रै त्यस रुटमा केही समयका लागि अन्य सवारी रोकिन्छ । सवारी सकिएपछि तत्कालै उक्त रुटमा सवारी खुला हुन्छ । ’
सवारी नभएको अन्य रुटमा भ्रमणको क्रममा सवारी आवागमन नरोकिने उनले प्रष्ट पारे ।
सवारी भएको रुटमा वैकल्पिक रुटको प्रयोग गर्न समेत प्रहरीले जनसाधारणसँग आग्रह गरेको छ ।
भ्रमण अवधिभर ट्राफिक प्रहरीले सञ्चालन गरेको ९५ दशमलव ६ मेगाहर्जको एफएमबाट १५/१५ मिनेटमा सवारी ‘अपडेट’ दिइने र सोही अनुरुप यात्रा तय गर्न सबैसँग उनले आग्रह गरे । त्यस्तै, १०३ मा डायल गरेर सवारी चापको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था पनि गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक १६
वि.सं.२०७३ कात्तिक १५ सोमवार २३:५६ मा प्रकाशित