
भक्तपुर। गएराति भक्तपुरको च्यामासिंहमा एक मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बा४७प ५८११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नाला–२ काभ्रेका २१ वर्षीय रुपेश थापाको मृत्यु भएको छ । घाइते थापाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
सोही मोटरसाइकलले अर्का पैदलयात्रीलाई ठक्कर दिँदा काभ्रेकै २३ वर्षीया विन्दु तामाङ र मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–१४ नासमना बस्ने १९ वर्षीय सविन खेताला घाइते भएका छन् । घाइते दुवैको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक भक्तपुर नगरपालिका–२ लिवाली बस्ने वर्ष १९ को निसान गाईजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइक्रो बसको ठक्करबाट दुई जनाको मृत्यु
नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना४ख ७८२४ नम्बरको माइक्रो बसले विपरित दिशातर्फ गुडिरहेको ना२९प २३८ नम्बरको मोटरसाइकलाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी मध्यबिन्दु– ७ चोरमाराका ४७ वर्षीय परशुराम ढकाल र ३५ वर्षीय वैकुष्ठ अर्यालको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका लागि जिल्लास्थित पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक १५
वि.सं.२०७३ कात्तिक १५ सोमवार १२:०५ मा प्रकाशित