
काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मुखर्जीलाई पुष्पगुच्छाले स्वागत गरेकी हुन् । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित भएका थिए ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गरेका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।
सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरु उपस्थित थिए ।
भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो ।
विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीय राष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ प्रस्थान गरे ।
राष्ट्रपतिको सवारी मार्ग विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्मको मार्गमा सर्वसाधारण नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर अतिथिको स्वागतार्थ उभिएका छन् ।
मुखर्जीको भ्रमण दलमा ६० सदस्य
भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना सम्मिलित छन् ।
प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव अमिपा पललगायत छन् ।
पराराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन् ।
रासस १७ कात्तिक २०७३
वि.सं.२०७३ कात्तिक १७ बुधवार १३:५७ मा प्रकाशित