
काठमाडौ। हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ ।
पुरानो शक्ति अभियान नेपालले राजधानीमा गरेको एक कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो अझ बढेर जाने बताए ।
भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि महाअभियोग लगाउँदा त्यसले भ्रष्टाचार गर्ने प्रवृत्तिलाई बल पुग्ने भएकाले त्यसो नगर्न उनीहरुले आग्रह समेत गरे ।
सो प्रस्ताव फिर्ता नभए कात्तिक २९ देखि सो अभियानले सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
उक्त शक्तिका संयोजक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भ्रष्ट नेताले विदेशमा राखेको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने, भ्रष्टाचारमा कारबाही रोक्ने उद्देश्यले दर्ता गरेको महाभियोग प्रस्ताव खारेज गर्नुपर्ने माग गरे । पत्रकार प्रेम कैदीले राजनीतिक अस्थिरताले मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै यसलाई राजनीतिक नेतृत्वले नै संरक्षण दिएको आरोप लगाएका थिए ।
प्रकाशित मितिः २०७३ कार्तिक २१
वि.सं.२०७३ कात्तिक २१ आइतवार २०:१७ मा प्रकाशित