
काठमाण्डौं । आजबाट सेयर बजारमा दुई बैंकहरुको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । हिमालयन बैंक र कुमारी बैंकले किन्ने सम्झौता गरेको काष्ठमाण्डप बैंकको हकप्रद खुलेको हो ।
हिमालयन बैंकले ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १४.२८ प्रतिशत अर्थात सात सेयर बराबर एक (७ः१)को अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
हिमालयन बैंकले एक सय रुपैया अंकित दरका ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र बैंकको हकप्रदमा आवेदन दिन पाउनेछन् । बैंकले हकप्रद प्रयोजनका लागि कात्तिक १० गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल तथा हिमालयन बैंकको कमलादी शाखा बाहेक सबै शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन गर्न सकिने बैंकले जनाएको छ ।
त्यस्तै, कुमारी बैंकले किन्ने सम्झौता गरेको काष्ठमण्डप डेभलपमेन्ट बैंकले पनि आजैबाट २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । प्रतिकित्ता एक सय रुपैंयाका दरले बैंकले १६ लाख ९९ हजार कित्ता सेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा असोज १६ गतेसम्म कायम सेयरधनीले मंसिर ३० गतेसम्म आवेदन दिन पाउनेछन् ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिङ्ग रहेको छ । शेयरधनीले बैंकको हकप्रद एनसिएम मर्चेण्ट बैंकिङ्ग तथा काष्ठमण्डप डेभलपमेण्ट बैंकका सबै शाखाहरुबाट भर्न सक्नेछन् ।
दुवै कम्पनीको हकप्रदमा मंसिर ३० गतेसम्म आवेदन गर्न पाइनेछ ।
२६ कार्तिक २०७३, ११।००
वि.सं.२०७३ कात्तिक २६ शुक्रवार ११:५४ मा प्रकाशित