
काठमाण्डौं । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्रीहरुले छिमेकी मुलुक भारतले आफ्नो ५०० र १००० का नोटमा लगाएको प्रतिवन्धपछि नेपालमा पर्ने असरबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्वअर्थमन्त्री डाक्टर रामशरण महत र सुरेन्द्र पाण्डेले नेपालीहरुको हितका लागि सरकारले काम गर्नु पर्ने बताएका छन् । साथै कालोधनलाई सेतो बनाउन सक्ने भन्दै सरकार सचेत हुनु पर्नेमा समेत पूर्वअर्थमन्त्रीको जोड छ ।
कांग्रेस नेतासमेत रहेका पूर्वअर्थमन्त्री डा। महतले भारत सरकारको निर्णयले सीमा क्षेत्रका साना व्यवसायी र भारतमा काम गर्ने नेपालीहरु मारमा पर्ने र यसले भारतबाट कालो धन नेपाल भित्रिने सम्भावना रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराको ध्यानाकर्षण गराए ।
एमाले नेता एवं पूर्वअर्थमन्त्री पाण्डेले नेपालीहरुको हितका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । भारतले आफ्नो नोटमा प्रतिबन्ध लगाएको घटनाबाट नेपालले सिक्नुपर्ने बताउँदै पाण्डेले पैसा बैंकमा राख्ने बानी बसाल्नुपर्ने र विदेशी नोटको प्रयोगमा समेच हुनुपर्ने पाठ यो घटनाले सिकाएको बताए ।
डाक्टर महतले राष्ट्र बैंकलाई उधृत गर्दै नेपालमा करिब ३ करोड भारतीय रुपैयाँ रहेको बताएका थिए भने पूर्वअर्थमन्त्री पाण्डेले चाँहि नेपालको बैंकमा साढे ३ करोड भारतीय रुपैयाँ रहेको बताएका थिए ।
२६ कार्तिक २०७३, १।००
वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १३:०८ मा प्रकाशित