
चितवन । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताएका छन् ।
स्कुल अफ हेल्थ साइन्स भरतपुरले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री पौडेलले रोजगारमूलक शिक्षा भएकाले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउन लागेको बताए ।
प्राविधिक शिक्षा पढाइका लागि कहाँ कसरी लगानी बढाउन सकिन्छ भन्ने विषयमा गुरुयोजना निर्माणको काम भइरहेको उनले उल्लेख गरे ।
प्रतिस्पर्धी शिक्षाको आवश्यकता रहेको भन्दै उनले परिस्थितिअनुसार पाठ्यक्रम स्तरीय बनाउँदै लगेर अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्नुपर्ने विचार व्यक्त गरे ।
आवश्यक मात्रामा शिक्षक, प्राध्यापकको दरबन्दी र भौतिक संरचना अभाव रहेको भन्दै मन्त्री पौडेलले यसको व्यवस्थापनका लागि मन्त्रालयले गम्भीर रूपमा गृहकार्य गरिरहेको बताए ।
प्रकाशित मितिः २०७३ मंसिर ५
वि.सं.२०७३ मंसिर ५ आइतवार १३:५२ मा प्रकाशित