
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट एक सय रुपैंया अंकित दरमा ९ लाख ९० हजार कित्ता हकप्रद निष्काशनका लागि कञ्चन डेभलपमेण्ट बैंकले स्वीकृति पाएकोछ । कञ्चनपुरमा मुख्य कार्यालय रहेको तीन जिल्ले यो बैंकले ५० प्रतिशत हकप्रद निष्काशनका लागि शुक्रबार नै स्वीकृति पाएको हो ।
कञ्चनले हकप्रद निष्काशनबाट अहिलेको चुक्ता पूजी १९ करोड ८० लाख रुपैंयालाई २९ करोड ७० लाख रुपैंया पुर्याउन लागेको हो । गत आर्थिक वर्षको कमाईबाट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस र १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि नेपाल राष्ट्र बैंकमा पठाएको छ । राष्ट्र बैंकबाट उक्त प्रस्ताव स्वीकृत भए पछि बैंकले साधारण सभा आह्वान गर्नेछ ।
छिटै नै बुक क्लोज गर्न लागेको यस बैंकको बोनस बितरण तथा हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैंया पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको बैंकको जगेडा कोषमा ९ करोड ४६ लाख रुपैयाँ राखेको छ ।
६ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर ६ सोमवार १०:३५ मा प्रकाशित