
पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमूर्त मागका लागि संविधान संशोधन हुनै नसक्ने बताएका छन् ।
शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले संविधान कार्यान्वयन र चुनाव छाडेर संशोधनको मात्र कुरा गरेको भन्दै प्रचण्ड सरकारलाई ‘चटके’ को संज्ञा दिए । उनले प्रश्न गर्दै भने, ‘के का लागि संविधान संशोधन गर्ने ?’ ‘देश र जनताको लागि संशोधन गर्ने हो, अमूर्त मागका लागि यो हुन सक्दैन ।’ उनले भने ।
मधेसी समुदायको असन्तुष्टि सम्बोधन गर्न होला नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘म पनि मधेसी नै हुँ, खै मैले संविधान संशोधन गर्न भनेको छैन, यहि संविधानमा चित्त बुझाएको छु ।’
यो सरकार संविधान कार्यान्वयन गरेर संक्रमणकाल अन्त्य गर्न बनेको भन्दै निर्वाचनमा ध्यान दिनुपर्ने ओलीको भनाई थियो ।
जनतालाई आवश्यक नपर्ने संविधान संशोधन आफूहरूलाई मान्य नहुने बताउँदै उनले देश तथा जनताका हकअधिकारका सम्बन्धमा मात्र संविधान संशोधन हुनसक्ने बताए ।
प्रकाशित मितिः २०७३ मंसिर १०
वि.सं.२०७३ मंसिर १० शुक्रवार १६:४९ मा प्रकाशित