काठमाण्डौं । वरिष्ठ चिकित्सक गोविन्द केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच शनिबार राति भएको १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज आइतबार बिहान ११ बजे डा केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै वरिष्ठ चिकित्सक केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन् ।
त्रिवि शिक्षण अस्पतालको गणेशमानसिंह भवन प्राङ्गणमा निस्किएर जुस पिउने योजना भए पनि स्वास्थ्यअवस्था कमजोर रहेका केसी निस्किन सकेनन् । डाक्टर केसीलाई सिन्धुपाल्चोकका बालक मार्सङ तामाङले जुस पिलाएका थिए । महाभूकम्पमा परी आमाबाबु गुमाएका तामाङको हातबाट केसीले जुस पिएका हुन् । उनी काठमाडौं बौद्धमा बस्दै आएका थिए।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न दसौंपटक अनसनमा बसेका डा केसी र सरकारी प्रतिनिधिबीच शनिबार पटक–पटक भएको वार्तापछि राति ११ बजेतिर बाह्रबुँदे सहमति भएको हो।
१९ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर १९ आइतवार १८:१४ मा प्रकाशित